पूँजी बजारको सुधारमा सिएनआई र धितोपत्र बोर्डले सहकार्य गर्ने « Arthapath.com
३ चैत्र २०७६, सोमबार

पूँजी बजारको सुधारमा सिएनआई र धितोपत्र बोर्डले सहकार्य गर्ने



काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा उत्पादनमूलक क्षेत्रको हिस्सा बढाउने तथा बजार सुधार प्रक्रियालाई गति दिन सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।
धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई परिसंघमा स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा उत्पादनमूलक तथा सेवा उद्योगको प्रतिनिधित्व गर्ने संगठन भएकाले पूँजी बजारको विकास तथा सुधारका लागि परिसंघ तत्पर रहेको बताउनु भयो । अध्यक्ष मोरले बोर्डमा नयाँ नेतृत्व आएपछि पूँजी बजारमा देखिएको सुधारको गतिलाई निजी क्षेत्रले स्वागत गरेको पनि उल्लेख गरे ।
सेयर कारोवारको समय बढाइएको तथा लगानीकर्ताको हित अनुकूलका व्यवस्थाहरु अघि बढाएकोमा पनि अध्यक्ष मोरले निजी क्षेत्र उत्साहित भएको बताए । यसैगरी परिसंघले नेपाल सरकारका दुई दर्जनभन्दा बढि निकायमा आधिकारिक प्रतिनिधित्व गर्दै नीति निर्माण तथा प्रभावकारी कार्यान्वयनमा सघाउँदै आएको उल्लेख गर्दै अध्यक्ष मोरले नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा परिसंघको प्रतिनिधित्वको व्यवस्था गरी थप सहकार्यका लागि समेत आग्रह गर्नुभयो ।
बोर्डका अध्यक्ष ढुंगानाले पूँजी बजारको विकास र सुधारका लागि थप पहलहरु लिइरहेको र हालै बोर्डले कार्यान्वयनमा ल्याएको विशिष्टिकृत लगानी कोष नियमावलीले स्वदेशी तथा गैर–आवासीय नेपाली लगायत वैदेशिक पूँजी समेत परिचालनलाई सहज बनाएकाले यसमा सहभागिता बढाउन आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्