जलविद्युत् कम्पनीको आईपीओमा पहिले टाउको दुखाई, अहिले मालामाल अन्डरराइटर « Arthapath.com
२५ माघ २०७७, आईतवार

जलविद्युत् कम्पनीको आईपीओमा पहिले टाउको दुखाई, अहिले मालामाल अन्डरराइटर



काठमाडौं । २ वर्ष पहिलेसम्म जलविद्युत् कम्पनीको सेयर भनेपछि सर्वसाधारण लगानीकर्तामात्रै होइन, स्थानीय प्रभावितले समेत आवेदन दिन हिच्किचाउँथे । आईपीओमा निष्काशन भएकामध्ये २० प्रतिशत सेयर पनि बिक्री नभएपछि अण्डर–राइटरको जिम्मामा पुग्थ्यो । अनि अण्डरराइटरहरू पनि त्यो सेयर जिम्मा लिन नपरे हुन्थ्यो भन्दै अनेक बहाना झिक्थे । कतिपयले त मुद्दा–मामिलामा समेत लामो समय र पैसा वर्बाद गरे ।

त्यसअघि जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको राम्रै आकर्षण थियो । चिलिमेलगायतका जलविद्युत् कम्पनीका कारण सेयर लगानीकर्ता लगानीका लागि प्रोत्साहित भएका थिए । तर, धमाधम जलविद्युत्का आईपीओ आउने र पतिफल दिने अवस्था नहुँदा लगानीकताहरूले बाटो मोडे ।

अर्थमन्त्रीका रुपमा डा. युवराज खतिवडा आएपछि सेयर बजार ओरालो लाग्न थाल्यो । बजार ओरालोलाग्दा जलविद्युत् उपसमूह पनि नराम्ररी प्रभावित भयो । सोही कारण जलविद्युत् कम्पनीको सेयर बिक्री हुन छाड्यो । सर्वसाधारणले त रुचाएन नै स्थानीयसमेत अनिच्छुक देखिए । आयोजना प्रभावितले नकिनेको सेयर सर्वसाधारण लगानीकर्तालाई थपेर आईपीओ निष्काशन गर्ने प्रचलन नै हो । त्यसो गर्दा केही जलविद्युत् कम्पनीको सेयर जेनतेन बिक्री हुने गरेको थियो । तर, धेरै कम्पनीको सेयरमा मागअनुसार आवेदन नपरेर अन्डरराइटरहरूले सेयर सकार्नु परेको थियो ।

हिमाल दोलखा हाइड्रोपावर, शिवश्री हाइड्रो पावर कम्पनी, युनिभर्सल पावर कम्पनीलगायतका कम्पनीको आईपीओ बिक्री गराउन ठूलै सकस भयो । यी कम्पनीले जारी गरेको आईपीओमा सर्वसाधारणमात्रै नभएर स्थानीय आयोजना प्रभावितले पनि जारी गरे अनुरुपको आवेदन दिएनन् । स्थानीयले नकिनी बाँकी रहेको सेयर सर्वसाधारणलाई थपेर निष्काशन गर्दा सेयर मागअनुसार आवेदन नपरेर अन्डरराइटरले बाध्यताले उठाउने गरेका थिए । त्यो बेला बाध्यताले अन्डरराइटरले सेयर उठाए पनि अहिले भने मालामाल बनेका छन् ।

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले ७६ लाख ७२ हजार २१० कित्ता सेयर निष्काशन गरेको थियो । वि.स. २०७६ असार २५ गतेदेखि साउन २५ गतेसम्म सो कम्पनीले सेयर बिक्री गरेको थियो । उक्त सेयरमा १ लाख ५३ हजार ४४४ कित्ता कम्पनीका कर्मचारीलाई २५ हजार कित्ता म्युचुअल फन्डलाई र बाँकी रहेको ७४ लाख ९३ हजार ७६६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने थिए । कम्पनीले आयोजना प्रभावितले नकिनेको सेयर पनि थप गरी सर्वसाधारणलाई जारी गर्न लागेको हो । त्यसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल थियो । सो कम्पनीको
सेयरमा मागअनुसार आवेदन परेन । सबै सेयर बिकेन । सेयर नबिकेपछि कम्पनीका सञ्चालक तथा प्रबन्धकहरूलाई समेत आवेदन दिन लगाइयो ।

हिमाल दोलखा हाइड्रोपावरले संस्थापक सेयरधनी, सञ्चालक वा निजका एकाघर परिवार, कम्पनीका कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव, कम्पनी व्यवस्थापन तथा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष संलग्न व्यक्तिहरूलाई पनि आइपीओ भर्ने अवसर दिइयो । त्यो बेला आवेदन दिने समय पनि थप्नु परेको थियो । उनीहरूले पनि सबै सेयर नकिनेपछि बाँकी सेयर अन्डरराइटरले सकारे ।

हिमाल दोलखाले इलाम जिल्लामा दुईवटा आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । जसमा माई खोला साना जलविद्युत् ४.५ मेगावाट र माई खोला क्यास्केड जलविद्युत् आयोजना ८ मेगावाट क्षमताको छ । यो कम्पनीको पनि आधाभन्दा बढी सेयर बिक्री प्रबन्धकले स्वीकार्नुपरेको थियो । अहिले हिमाल दोलखाको सेयर मूल्य प्रतिकित्ता १४४ रुपैयाँ छ ।

त्यस्तै, शिवश्री हाइड्रो पावर कम्पनीले पनि निष्काशन गरेको सेयरमा मागअनुसार आवेदन परेन । आईपीओ नै बिक्री नभएपछि आइपीओको प्रत्याभूति लिन प्रत्याभूतिकर्ता (अन्डरराइटर) ले आनाकानी गरेपछि विवाद निकै बढेको थियो । कम्पनीको सेयर सर्वसाधारणले मात्रै नभएर आयोजना प्रभावितले पनि किनेनन् । सो कम्पनीले २०७६ असोज १९ देखि कात्तिक १५ गतेसम्म सेयर बिक्रीको समय तोकेको थियो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको ११ लाख ३६ हजार ५४० कित्ता र सर्वसाधारणलाई छुट्याइएको २२ लाख १४ हजार ६ सय कित्तासहित ३३ लाख ५१ हजार १४० कित्ता आईपीओ खुला गरेको थियो । उक्त सेयरमा माग अनुसार आवेदन परेन । त्यसपछि संस्थापक तथा सञ्चालक वा निजका एकाघरका परिवार, कम्पनीका कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव, कम्पनी व्यवस्थापन तथा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष संलग्न व्यक्तिहरूलाई पनि आईपीओ भर्ने अवसर दिइयो । तर पनि मागअनुसार आवेदन परेन । बाँकी रहेमा सबै सेयर अन्डरराइटरले सकार्नुप¥यो । यसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल थियो । उक्त कम्पनीको २४ लाख हाराहारी कित्ता सेयरमा आवेदन परेको थिएन । उक्त सेयर प्रत्याभूतिकर्ताले सकार्नुपरेको थियो । त्यो समयमा अन्डरराइटरले पनि सेयर सकार्न नमानेपछि धितोपत्र बोर्डलाई पनि केही समय टाउको दुखाइको विषय बनेको थियो ।

शिवश्रीले सिन्धुपाल्चोक जिल्लामा २२.२ मेगावटको माथिल्लो चाकु ‘ए’ जालविद्युत् आयोजना निर्माण गरिरहेको छ । यसको प्रत्याभूतिकर्तामा सीबीआइएल क्यापिटल र मुक्तिनाथ क्यापिटल थिए । यी दुई संस्थाले ५० प्रतिशतका दरले सेयर प्रत्याभूति गर्ने सम्झौता गरेका थिए । सो कम्पनीको सेयरमा प्रत्याभुतिकर्ताले नसकार्नुको कारण कम्पनीले दिने सूचनालाई आधार मानेको थियो । सेयर निष्काशन गरेको दुई महिनापछि आयोजनामा बाढीले क्षति पु¥याएको थियो । तर, क्षतिका बारेमा कम्पनीले समयमै जानकारी नदिएको अन्डरराइटरको गुनासो थियो ।

लामो समयको विवाद र मुद्दा–मामिलापछि उक्त सेयर अन्डरराइटरले सकारे । उक्त सेयर बाँडफाँट भएको सेयर १ वर्षपछिमात्रै सूचीकृत भयो । बजारमा जलविद्युत् कम्पनीको सेयर मुल्य बढ्न थालेपछिमात्रै अण्डरराइटरले सेयर सकारेका हुन् । तर, सकारेको केही हप्तामै उनीहरूले ३० प्रतिशतभन्दा बढी मुनाफा गर्न सफल भएका छन् । शिवश्रीको सेयर मूल्य अहिले प्रति कित्ता १६६ रुपैयाँ रहेको छ ।

यतिमात्रै नभएर सेयर नबिकेको बुटवल पावर कम्पनीको पनि हो । त्यो बेला आईपीओमा लगानीकर्ताको ध्यान नगएको समयमा बुटवल पावर कम्पनीले एफपीओ ल्याएको थियो । त्यो पनि बिक्न सकेन । सेयर नबिकेका कारण अन्डरराइटरले सकार्नुपरेको अर्को कम्पनी हो, युनिभर्सल पावर । यूनिभर्सल पावरले स्थानीयलाई निष्काशन गरेको सेयरमा मागअुनसार आवेदन नपरेर तीन पटकसम्म समय थपेर निष्काशन गर्नुपरेको थियो । कम्पनीले २०७५ माघ २५ गतेदेखि फागुन २५ गतेसम्म सेयर बिक्रीको समयसीमा तोको थियो । सो कम्पनीको सेयर निष्काशनमा पनि मागअनुसार आवेदन परेन । स्थानीयले नकिनेको सेयर सर्वसाधारणलाई त धेरै कम्पनीले बिक्री गरेका छन् ।

आईपीओमात्रै होइन, जलविद्युत् कम्पनीको एफपीओ पनि नबिकेर कम्पनीहरू हैरान परेका थिए । बुटवल पावर कम्पनीले जारी गरेको २ अर्ब ४ करोड ४५ लाख ८१ हजार रुपैयाँको ४० लाख ८१ हजार कित्ता एफपीओ मागअनुसार बिक्री भएन । बिक्री नभएपछि एक महिनासम्म समय थपियो, तैपनि बिकेन । पटक–पटक समय थप्दा पनि नबिकेपछि संस्थागतलाई पनि खुला गरियो ।

संस्थागत लगानीकर्ताले पनि मागअनुसार आवेदन दिन नसकेपछि ११ लाख ६१ हजार कित्ता सेयर प्रत्याभूतिकर्ता कम्पनीहरू किन्न बाध्य भएका थिए । एफपीओको मूल्य प्रतिकित्ता ५०१ रुपैयाँ थियो । ५०१ रुपैयाँ एफपीओ किनेको लगानीकर्ता तथा प्रत्याभूतिकर्ताले उक्त सेयर अहिले प्रतिकित्ता ३९८ रुपैयाँ छ ।

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले पहिला सेयर बजार वियरिस ट्रेन्डमा रहेको जलविद्युत् क्षेत्रलाई नियमन गर्ने नियमका नभएको कारण बजारमा सुधार आउन नसकेको टिप्पणी गरे । उनकाअनुसार जुन बेला बजार वियरिस टे«न्डमा थियो त्यो बेला जलविद्युत् क्षेत्रलाई लगानीकर्ताले रुचाएका थिएनन् ।

कतिपय जलविद्युत् कम्पनी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका थिएनन्, आईपीओ आएपनि लाभांश खानको लागि तीन चार वर्ष लाग्नेजस्ता कारण लगानीकर्ताको ध्यान जान नसकेको अध्यक्ष रौनियारको तर्क छ । त्यो बेलामा झण्डै १८ वटा कम्पनीको सेयर मूल्य १०० रुपैयाँ भन्दा कम थियो । त्यसले गर्दा पनि लगानीकर्ताले जलविद्युत् कम्पनीको आईपीओमा आवेदन नदिँदा अन्डरराइटरले सकार्नुपरेको उनको भनाइ छ । त्यो बेला सय रुपैयाँभन्दा कम मूल्य रहेको कम्पनीको सेयर अहिले डेढ सयभन्दा माथि पुगेको र कतिपय कम्पनी राष्ट्रिय प्रसारण लाइनमा जोडिएकाले पनि लगानीकर्ताको ध्यान बढी गएको उनको भनाइ छ ।सेयर बजार


प्रतिक्रिया दिनुहोस्