२५ सय नजिक नेप्से परिसूचक, ४ अर्बको कारोबार

काठमाडौँ । साताको पहिलो दिन आज आइतबार नेप्से परिसूचक २५ सय नजिक आइपुगेको छ । यस दिन २५८६ विन्दुमा कारोबार खुलेको नेप्से परिसूचक ७२ अङ्कले घटेर २५१३.८८ मा आइपुगेर बजार बन्द भएको छ ।
आज बजार भारी अङ्कले घटेर राताम्मे भएको छ । आज बजार ७२.३० अङ्कले बजार घटेर बन्द भएको छ । आज दिनभर २ सय २६ कम्पनीको ८ करोड ९ लाख २० हजार ड सय ९४ कित्ता शेयर ६० हजार ८८ पटक किनबेच हुँदा ४ अर्ब ९ करोड ७ लाख ६५ हजार ३ सय २५ रुपैयाँको कारोबार भएको छ ।
यस दिन सबै समूह घटेर राताम्मे भएको छ । यस दिन सबैभन्दा बढी जीवन बिमा समूहका लगानीकर्ताले गुमाएका छन् । जीवन बिमा समूह ३७२ अङ्कले ओरालो लागेको छ । त्यस्तै विकास बैङ्क २०३, निर्जीवन बिमा समूह २५१, व्यापार ११८, उत्पादन १२४, फाइनान्स १०८ अङ्कले ओरालो लागेको छ ।
अघिल्लो शुक्रवार नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको समीक्षामा शेयर धितो कर्जामा ४.१२ को सीमा कायमै राखेपछि बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ ।
