पौष महिनाभित्रै नेप्सेले सीईओ पाउँदै, ५ जनाको नाम सर्ट लिस्टमा « Arthapath.com
२३ पुष २०७८, शुक्रबार

पौष महिनाभित्रै नेप्सेले सीईओ पाउँदै, ५ जनाको नाम सर्ट लिस्टमा



काठमाडौं । लामो समयपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रमुख कार्यकारी अधिकृत पाउने भएको छ । गत भदौदेखि सीईओ विहीन भएको नेप्सेले यसै महिनाभित्र सीईओ पाउने निश्चित जस्तै छ ।

सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेन्च (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएपछि भदौ ८ गते राजीनामा दिएका थिए ।

सीईओ रिक्त भएको लामो समयपछि अर्थ मन्त्रालयले सीईओ छनोट समिति गठन गरेको थियो । अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले नेप्सेको सीईओका लागि ५ जनाको नाम सर्ट लिस्टमा सार्वजनिक गरेको छ । उक्त समितिले कृष्ण बहादुर कार्की, डा. केशव बहादुर श्रेष्ठ, प्रविण पन्दाक, रमेश घिमिरे र डा. रमेशकुमार भण्डारीको नाम सर्ट लिस्टमा राखेको हो ।

आवेदकहरूको शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको आधारमा प्राप्ताङ्कको प्राथमिकताका आधारमा सर्ट लिस्ट गरिएको समितिले जनाएको छ ।

अब यी ५ जना मध्येबाट नै एक जना नेप्सेको सीईओ बन्नेछन् । व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ता दिनु पर्ने छ । समितिले पौष २५ गते आइतबार अन्तवार्ताको मिति तोकेको छ । पौष २५ पछि नेप्सेले यी ५ जना मध्येबाट एक जना सीईओ पाउनेछ ।

सीईओ बन्नका लागि जम्मा ११ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमा नेप्सेका हालका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल, उपप्रबन्धक प्रविन पन्दाक, जीवन अमगाई, डा. रमेश कुमार भण्डारी, केशव कुमार श्रेष्ठ, रमेश घिमिरे, कृष्ण बहादुर कार्की, दिपक गौतम, गोविन्द प्रसाद दाहाल, बद्री प्रसाद प्याकुरेल, र छवीराज पन्त रहेका थिए ।

नेप्सेमा सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको छ । समितिमा मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल छन् । उल्लिखित ५ जनामध्येबाट समितिले तीन जनाको नाम सिफारिस गर्नेछ । तीमध्येबाट मन्त्रिपरिषद्ले १ जनालाई चार वर्षका लागि सीईओ छनोट गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्