अपि पावरको हकप्रद शेयर किन्न इच्छा छ ? सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
१३ चैत्र २०७८, आईतवार

अपि पावरको हकप्रद शेयर किन्न इच्छा छ ? सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले चैत १४ गते शेयर दाखिला खारेजी गर्ने निर्णय गरेको छ । त्यसैले, आज चैत १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रदमा शेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले चैत २५ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.३९३६ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले १ सय रुपैयाँ अंकित दरका १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद निष्काशन तथा बिक्री गर्ने भएको हो ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार ५४५ रुपैयाँ ७५ पैसा रहेको छ । हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार ५४५ रुपैयाँ ७५ पैसा पुग्नेछ ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको हकप्रद शेयरमा २०७९ बैशाख १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

हकप्रदमा मुक्तिनाथ क्यापिटल तथा मुक्तिनाथ विकास बैंकका इटहरी, पोखरा–नागढुङ्गा, नारायणगढ, सुर्खेट, नेपालगंज, धनगढी, विराटनगर र जनकपुर शाखा कार्यालय आवेदन दिन सकिनेछ। यसका साथै ग्लोबल आइएमई बैंकका बैतडी, गोकुलेश्वर, दार्चुला, डडेलधुरा, महेन्द्रनगर, धनगढी र अत्तरीय शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन् ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी बीप्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्