दोस्रो बजारमा ग्रीन भेन्चर्सको आजदेखि कारोबार शुरु हुने, कतिमा होला पहिलो कारोबार ?

काठमाडौं । आज सोमबारदेखि ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ दोस्रो बजारमा कारोबार शुरु हुने भएको छ । कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार सूचीकृत भएको थियो ।
नेप्सेमा ग्रीन भेन्चर्स लिमिटेडको ३ करोड १२ लाख ५० हजार कित्ता आईपीओ सूचीकृत भएको थियो । जसमध्ये स्थानिय वासिन्दालाई बिक्री गरेको ३१ लाख २५ हजार कित्ता, सर्वसाधारण लगानीकर्तालाई बिक्री गरेको ३१ लाख २५ हजार र कम्पनीका संस्थापक शेयरधनीको २ करोड ५० लाख कित्ता गरी कूल ३ करोड १२ लाद ५० हजार कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको थियो ।
कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम ९१ रूपैयाँ ८६ पैसादेखि अधिकतम २७५ रुपैयाँ ५८ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । सोही आधारमा कम्पनीको कारोबार आजदेखि दोस्रो बजारमा शुरु हुनेछ ।
नेप्सेले कम्पनीको दोश्रो बजारमा कारोबारका लागि जीभीएल (GVL) सिम्बोल दिएको छ ।
कम्पनीले चैत्र ८ गतेदेखि चैत्र ११ गतेसम्म सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७५० कित्ता आईपीओ निष्काशन गरेको थियो ।