ऋणपत्र भनेको के हो ? कम्पनीले धेरै नाफा आर्जन गरे दाबी गर्न नपाउने ! « Arthapath.com
१३ बैशाख २०७९, मंगलवार

ऋणपत्र भनेको के हो ? कम्पनीले धेरै नाफा आर्जन गरे दाबी गर्न नपाउने !



काठमाडौं । कुल ऋण पूँजीलाई सर्वसाधारणले खरिद गर्न सक्ने गरी ससाना इकाइमा विभाजन गरिएको अंश वा इकाइलाई ऋणपत्र भनिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार ऋणपत्र एक प्रकारको वित्तीय उपकरण हो, जसमा लगानीकर्ताले उक्त ऋणपत्र जारी गर्ने संस्थाबाट निश्चित समय पश्चात् सावाँ तथा ब्याज प्राप्त गर्दछन् ।

अझै प्रस्ट रूपमा भन्नुपर्दा कम्पनीले ऋणमा लगानी गर्ने पक्षलाई ऋणको रकम, ब्याजदर र भुक्तानी विधिका सर्तहरू उल्लेख गरी आधिकारिक रूपमा गरिदिएको लिखित पत्र नै ऋणपत्र हो । 

जसमा तोकिएको दर र समयमा सावाँ र ब्याज भुक्तानी गर्ने सर्तमा जारी गरेको धितोपत्रलाई ऋणपत्र (डिबेन्चर) भनिन्छ । ऋणपत्रको अंकित मूल्य पनि निर्धारण गरिएको हुन्छ । साथै, कम्पनीले नै ब्याजदर पनि निर्धारण गरेको हुन्छ । कम्पनीले कति अवधिको भनेर समयावधि पनि तोकिएको हुन्छ । 

कम्पनीले साधारण शेयर र अग्राधिकार शेयरलाई लाभांश बाँड्नुअघि नै ऋणपत्रको लगानीकर्तालाई ब्याज भुक्तानी गर्नुपर्छ । सम्बन्धित संस्था नोक्सानीमा गए पनि लगानीकर्ताले प्राप्त गर्ने ब्याजमा कुनै असर पर्दैन । 

लगानीकर्ता र कम्पनीबीच साहु र ऋणीको जस्तै सम्बन्ध हुन्छ । कुनै कारणवश कम्पनीले सर्तअनुसार ब्याज भुक्तानी गर्न नसकेमा लगानीकर्ताहरूले कम्पनीलाई खारेजीमा पठाउनेसम्मको कारबाही गर्न सक्छ । ऋणपत्रका जोखिम उठाउन नचाहने लगानीकर्ताले लगानी गर्न रुचाउँछन् । तर ऋणपत्र खरिद गरेका शेयरधनी कम्पनीको साधारणसभामा मताधिकार नहुने भएकाले कम्पनीको व्यवस्थापन नियन्त्रणमा उनीहरूको प्रभाव हुँदैन । यदि कम्पनीले धेरै नाफा आर्जन गरेमा ऋणपत्र खरिद गरेका शेयरधनीहरुले नाफामा दाबी गर्न पाउँदैनन् । 

त्यस्तै ब्याजदर पूर्वनिर्धारित हुने भएकाले धेरै नाफा आर्जन गर्दा पनि ऋणपत्रधारीहरूले नाफामा दाबी गर्न पाउँदैनन् । ऋणपत्रको परिपक्व अवधि दीर्घकालीन हुने भएकाले कम्पनीका लागि आवश्यक पर्ने स्थिर सम्पत्ति खरिद गर्न ऋणपत्रमार्फत पुँजी उठाइन्छ । पुँजीको आवश्यकता नभएमा केही रकम प्रिमियमबापत थप गरी फिर्ता गर्न सकिने प्रावधान हुन्छ । ऋणपत्रमा दिइने ब्याजलाई अन्य खर्चजस्तै तिर्नुभन्दा अगाडि नै खर्च लेख्न पाइन्छ । जसले गर्दा करको दायित्व कम हुन्छ ।


प्रतिक्रिया दिनुहोस्