उपकार लघुवित्तको ओपनिङ्ग रेञ्ज अधिकतम प्रतिकित्ता १ हजार २११.७३ रुपैयाँ, कतिमा होला कारोबार ? « Arthapath.com
१६ बैशाख २०७९, शुक्रबार

उपकार लघुवित्तको ओपनिङ्ग रेञ्ज अधिकतम प्रतिकित्ता १ हजार २११.७३ रुपैयाँ, कतिमा होला कारोबार ?



काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भईसकेको छ । लघुवित्तको आईपीओ बैशाख ९ गते शुक्रबार बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय, हात्तिसार, काठमाडौंमा बाँडफाँट सम्पन्न भएको थियो ।

लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको थियो । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा २२ हजार ११५ जनाले मात्रै पाएका थिए । १० कित्ताका दरले बाँडफाँट गर्दा ६ कित्ता बाँकी रहेका थिए । बाँकी रहेका ६ कित्ता थप गरेर ६ जना आवेदकलाई ११ कित्ताका दरले दिईएको थियो ।

लघुवित्तले चैत २५ गते, शुक्रबारदेखि चैत्र ३० गते बुधबारसम्म सर्वसाधारण लगानीकर्ताका लागि चुक्ता पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशत अर्थात् २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्य दरका २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्काशन गरेको थियो । जसमध्ये ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता शेयर लघुवित्तका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र बाँकी २ लाख २१ हजार १५६ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको थियो ।

लघुवित्तको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रियामा रहेको छ । लघुवित्तको आईपीओ सम्भवतः शुक्रबार नै नेप्सेमा सूचीकृत हुन सक्ने सम्भावना छ । यदि शक्रबार सूचीकृत भएन भने अर्काे साता सूचीकृत हुने छ ।

लघुवित्तको आईपीओले पहिलो कारोबारको लागि ओपनिङ्ग रेञ्ज कति पाउला भन्ने लगानीकर्ताको चासोको विषय बनेको छ । नेप्सेले लघुवित्तको आईपीओलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्युनतम ४०३ रूपैयाँ ९१ पैसादेखि अधिकतम १ हजार २११ रुपैयाँ ७३ पैसासम्म ओपनिङ्ग रेञ्ज तोक्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

लघुवित्तको आर्थिक वर्ष २०७७–७८ को प्रतिशेयर नेटवर्थ ४०३ रूपैयाँ ९१ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा १ हजार २११ रुपैयाँ ७३ पैसा हुन्छ । यदि लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत भएर ओपनिङ्ग रेञ्ज सोही बमोजिम पाउने हो र अधिकतम मूल्यबाट शेयर कारोबार हुने हो भने शेयरधेनी पहिला दिन नै मालमाल बन्ने देखिन्छ । तर त्यसको परिणाम के होला भनेर कारोबारको दिन नै पर्खिनु पर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस्