शुक्रबारको सेयर कारोबार हटाउन धितोपत्र बोर्डको दबाब, नेप्सेको सञ्चालक समितिमा पुनर्विचार गर्न छलफल « Arthapath.com
२५ श्रावण २०७९, बुधबार

शुक्रबारको सेयर कारोबार हटाउन धितोपत्र बोर्डको दबाब, नेप्सेको सञ्चालक समितिमा पुनर्विचार गर्न छलफल



काठमाडौं । शुक्रबारको सेयर कारोबार हटाउन धितोपत्र बोर्डले नेप्सेमाथि दवाब दिन थालेपछि नेप्सेका अधिकारीहरु यसबारे विचार गर्न राजी भएका छन् । नेप्सेको सञ्चालक समितिले शुक्रबारको शेयर कारोबार हटाउने बारे छलफल गर्न आफूहरु तयार रहेको बताउन थालेको नेप्सेका अधिकारी बताउँछन् ।

सुरुमा सरकारले आइतबार सार्वजनिक बिदा दिने भएपछि नेप्सेले आइतबार हुँदै आएको कारोबार बन्द गरेर शुक्रबार बजार सञ्चालन गर्ने नीति लिएको थियो । तर सरकारले आइतबारको बिदा फिर्ता गरेपछि नेप्सेले पुर्ववत् रुपमा आइतबारको कारोबारलाई सुचारु गर्यो । तर शुक्रबारको कारोबारलाई आधा दिन अर्थात् दिउँसो १ बजेसम्म चलाउने निर्णय भयो ।

‘पहिले कुन तर्क र कारणले शुक्रबार आधा दिन बजार सञ्चालन गर्ने निर्णय भयो र अहिले कुन तर्कले हटाउने भन्ने जवाफ सञ्चालक समितिसँग छैन,’ नेप्सेका ती अधिकारी भन्छन्, ‘तर कारोबार हटाउन भने उनीहरु राजी देखिएका छन् ।’ नेप्सेलाई यस्तो फन्दा आइलाग्नुको कारण हो, धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको भाषण ।

हमालले १९ साउनमा नेपाल आर्थिक पत्रकार संघको कार्यक्रममा शुक्रबारको कारोबार हटाउन आफूले नेप्सेलाई मौखिक निर्देशन दिइसकेको बताएका थिए । उनले नेप्सेले चाँडै शुक्रबारको कारोबार बन्द गर्ने बताएका थिए । नीतिनिर्माताले आफ्नो लोकरिझ्याईँका लागि मनमा जे लाग्छ, त्यही कुरा बोलिदिने परिपाटी विकास हुँदा समस्या विगतमा पनि यस्ता थुप्रै समस्या भोग्नु परेको ब्रोकरहरु बताउँछन् ।

यसअघि अध्यक्ष हमालले नै नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगतको पूँजीबजार मञ्चले गरेको एउटा कार्यक्रममा संसारमै नभएको ६ दिन शेयर बजार सञ्चालन गर्ने अध्यास नेपालमा गर्नुपर्छ भनेपछि शुक्रबारको कारोबारले निरन्तरता पाएको थियो ।

तर कुनकुन दिन कारोबार खुला राख्ने भन्ने निक्र्योल गर्ने अधिकार नेप्सेकै सञ्चालक समितिमा हुन्छ । ‘सञ्चालक समितिले तत्कालै शुक्रबारे कारोबार बन्द गर्ने निर्णय गरिसकेको छैन, केही समय हेरौं भन्ने छलफल चलेको छ’, स्रोतले भन्यो । तर दवाब बढ्दै गयो भने सञ्चालक समितिले शुक्रबारे कारोबार रोक्न सक्ने नेप्सेकै अधिकारी पनि स्वीकार गर्छन् ।

सामान्य तया सातामा ५ दिन कारोबार गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । यसो गर्दा लगानीकर्तालाई सोचविचार गरेर निर्णय लिन समय मिल्छ । कुनै कम्पनीका बारेमा आउने तात्तातो सूचनाले त्यसको शेयरको भाउमा ठूलो परिवतृन गर्नबाट बचाउँछ भन्ने पनि मान्यता छ । यसले बजारलाई स्थिरता दिन मद्दत मिल्छ । नेप्सेकै अधिकारीहरु पनि ५ दिनमात्रै कारोबार सञ्चालन गर्ने परिपाटी उचित रहेको बताउँछन् ।

चौबीसै घण्टा बजार सञ्चालन गर्नसक्ने प्राविधिक सामथ्र्य भएका पश्चिमा विकसित मुलुकहरुले समेत सातामा केवल ५ दिन कारोबार सञ्चालन गर्नुको कारण यही हो । तर नेपालमा बजार बढ्न सक्ने आशामा बोर्डका अधिकारीले कारोबार अवधि बढाउन दवाब दिएका थिए । अहिले बजार सूचक लगातार खस्किन थालेपछि कारोबार अवधि घटाएरै भए पनि बजारको घट्दो गतिलाई कम गर्ने रणनीतिमा नीतिनिर्माता देखिएको नेप्सेका अधिकारी बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्