किन्ने होइन त नेपाल इन्स्योरेन्सको २१ लाख ५७ हजार कित्ता सेयर ? आवेदन दिने भोलि अन्तिम मौका

काठमाडौं । भदौ ८ गतेदेखि बिक्रीमा ल्याएको नेपाल इन्स्योरेन्स कम्पनीको साढे २१ लाख बढी कित्ता सेयरमा आवेदन दिने भोलि अन्तिम मौका रहेको छ ।
कम्पनीको संस्थापक समूहको २१ लाख ५७ हजार ६१५ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा आएको हो । उक्त लिलामी सेयरमा भोलि अर्थात बुधवारसम्म आवेदन दिन सकिनेछ ।
लिलामी सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी वा संघ/सस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन् । लिलामीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३२५ रुपैयाँ तोकिएको छ ।
बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।
बोलपत्र धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाडौ नक्सालस्थित कार्यालय र ग्लोबल आइएमई बैंकका शाखाहरू बिर्तामोड, विराटनगर, जनकपुरधाम, वीरगन्ज, हेटौँडा, नारायणगढ, न्युरोड (पोखरा), बुटवल, बागलुङ बजार, नेपालगन्ज, वीरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ ।
बिक्री प्रबन्धक ग्लोबल आइमई क्यापिटल लिमिटेड रहेको छ ।