पछिल्लो ६ महिनादेखि स्थिरताका लागि संघर्ष गर्दै नेप्से, कता जाला यो साताको बजार ? « Arthapath.com
१८ मंसिर २०७९, आईतवार

पछिल्लो ६ महिनादेखि स्थिरताका लागि संघर्ष गर्दै नेप्से, कता जाला यो साताको बजार ?



काठमाडौं । अर्थतन्त्रको ऐना मानिने सेयर बजार परिसूचक पछिल्लो ६ महिनायता साँघुरो बाटोमा थपघट भइरहेको छ । लगानीकर्ताले ‘पर्ख र हेर’को रणनीति लिँदा यस्तो अवस्था आउँछ । यद्यपि, गत साता नेपाली सेयर बजार साढे २७ अंक अर्थात् १ दशमलव ४ प्रतिशत बढेर बन्द भएको थियो । आइतबार कारोबार सुरु हुनु अघिसम्मको अवस्थामा लगानीकर्ताले नेप्से सुधारात्मक हुने आशा गर्न सकिने बताएका छन् ।

गएको २८ वैशाखमा २३ सय ६९ अंकबाट ओरालो लागेपछि नेप्सेको रेखाचित्रले ‘डबल बटम’ आकृति बनाउने छाँट ल्याएको छ । त्यसयता १८ सय ४८ र १८ सय १५ अंकमा नयाँ टेवाविन्दुहरु तयार गरेर नेप्से उकालो लाग्ने कोसिस गरेको छ । यो साढे ६ महिनाको बीचमा नेप्सेले २१ सय ९५ अंकमा प्रतिरोध बनाएको छ ।

पछिल्लो पटक न्यूनतम विन्दुमा पुगेर उकालो लागेको सेयर बजार अहिले बढ्दो बाटोमै छ । यो बृद्धिले २३ सय ७० अंकलाई छिचोलेर उक्लियो भने बजार बुशिल प्रबृत्तीमा जाने संभावना ज्यादा देखिन्छ । तर त्यहाँसम्म पुग्न सेयर बजारमा केही सुखद सन्देशहरु प्रवाहित हुनुपर्ने जरुरत छ । यसका लागि केही समय लाग्न सक्छ ।

भर्खरै जारी भएको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा धेरैले अपेक्षा गरेजस्तो खुकुलो नीति आउन सकने । यसबाट लगानीकर्ता उत्साहित हुने मौका मिलेको थिएन । तर गत साता मुलुकको आर्थिक परिसूचकहरु थोरै भए पनि बलियो बन्न थालेको प्रतिवेदनहरु आएका छन् । झण्डै दुई वर्षपछि देशबाट बाहिरिनेभन्दा भित्रिने विदेशी मुद्रा बढी देखिएको छ । भुक्तानी सन्तुलन भनिने यस्तो आँकडामा सुधार भएपछि आउँदा दिनमा बैंकिङ तरलता बढ्ने र ब्याजदर घट्ने आशा पलाएको छ ।

हालै सम्पन्न प्रदेश र प्रतिनिधि सभाको नयाँ निर्वाचनले अर्थतन्त्रलाई धेरथोर चलायमान बनाएको छ । चार्डपर्व सकिएको र हिउँद लागेका कारण अव सरकारी खर्च पनि बढ्ने धेरैको आशा छ । सरकारले निर्माण आयोजनामा खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ । यसले देशभित्रका उद्योगधन्दा चल्ने र रोजगारी सिर्जना हुने संभावन बढेको छ । यही कारण पनि लगानीकर्तामा सुस्तसुस्त आशा जाग्न थालेको देखिएको छ । नेप्से सूचकांक १८ सय अंकभन्दा तल ओर्लन नचाहनुको कारण यही हो ।

पछिल्लो ६ महिनाको नेप्से परिसूचकले ‘साइडवेज मुभमेण्ट’ समातेको देख्न सकिन्छ । यो अवस्थामा परिसूचक १८ सय देखि २२ सय अंकको बीचमा स्थायित्वका निम्ति संघर्ष गरिरहेको छ । साइडवेज मुभमेण्टमा देखिएकाले अझै केही समय ह्वात्तै परिसूचक बढ्ने वा घट्ने संभावना देखिन्न । बरु यसरी नै थोरै थोरै घटबढ भएर बजार चालायमान रहन सक्छ ।

अहिले ठूलो लगानी गरिहाल्न लगानीकर्तासँग न पैसा छ, न आँट नै छ । त्यस विपरित बेच्नेको ओइरो लागेको पनि छैन । ३२ सय अंकमा पुगेर ओरालो लागेको नेप्से १८ सय अंकमा झरिसकेपछि लगभग घट्दो प्रबृत्ती टुंगिएको हुन सक्ने अनुमान लगाउन थालिएको थियो । हालका महिनाको कारोबार अवस्थाले त्यो अनुमानलाई बल पुर्याइरहेको छ । यो हप्ता पनि नेप्से केही बढेको त देखियो, तर यस्तै साँघुरो उतारचढावमै रुमल्लिन छाडेको छैन ।

यो एक सातामा नेप्सेको बजार पूँजीकरण ३९ अर्ब ५७ करोड ५१ लाख घटेको छ । गत हप्ता नेप्से १९ सय ३३ देखि १९ सय ८० अंकको बीचको करिडोरमा रहन पुगेको थियो । साता भरीमा नेप्सेमा १ करोड ४२ लाख ७२ हजार कित्ता सेयर ६ अर्ब ३७ करोड रुपैयाँमा किनबेच भएको छ । सातामा दुई दिन बजार ओरालो लागे पनि ३ दिन बढेका कारण बजार सूचक १९ सय ६१ अंकमा बन्द भएको छ ।

गत साताको अन्तिम दिन पनि सबैभन्दा न्यून विन्दुसम्म झरेकाले अवको दिनमा पनि बजार उतारचढावमै रहने देखिन्छ । अवको केही मिनेटमै नेप्सेले कुन बाटो समात्छ भन्ने कुराले यो साताको नेप्सेको प्रबृत्तीलाई मोटामोटी अनुमान लगाउन सकिने छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्