आत्मनिर्भर लघुवित्तको आइपीओमा ८० गुणा बढीको आवेदन

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा १ अर्ब रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आइतबार साँझ ५ बजेसम्ममा १२ लाख २४ हजार १६ जना आवेदकबाट १ अर्ब ३६ करोड ८० लाख ३३ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख ८० हजार ३३० कित्ता शेयरको लागि आवेदन दिएका हुन । जुन माग भन्दा ८०.५८ गुणा बढी हो ।
कम्पनीले फागुन ११ गतेदेखि आइपीओ बिक्री खुला गरेको छ । आत्मनिर्भरले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२।६२५ प्रतिशत ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गरेको हो ।
जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन भएको छ । यसमध्ये १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ । यस्तै, जारी पुँजीको ०।५५ अर्थात् ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशतअर्थात् १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने फागुन २५ गतेसम्म पनि भर्न पाइनेछ ।
यो आईपीओ खरीदका लागि दुबै समूह अन्तर्गतका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।