सेयर बजारमा एकाएक उछाल, ब्याजदर घटेपछि हौसिए लगानीकर्ता

काठमाडौं । सेयर बजार हरियाली बनेको छ । बुधवार नेपाल बैंकसं संघले ब्याजदर घटाउने निर्णय गरेपछि बजारमा उछाल आएको छ ।
बैंकर्स संघको बुधवार बसेको बैठकले ब्याजदर घटाउने निर्णय गरेको छ । आगामी बैशाखमा निक्षेपको ब्याजदर ९.९९ प्रतिशत कायम गर्ने सहमति भएको छ । मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशतबाट घटेर ९.९ प्रतिशतमा झारिएको छ । संघले ब्याजदर घटाउने सहमति गरेपछि त्यसको सकरात्मक प्रभाव भने सेयर बजारमा देखिएको हो ।
साताको चौंथो कारोबार दिन बजार ९२.२२ अंकले वृद्धि भएको छ । आज बजार ४.९३ प्रतिशतले वृद्धि भएको हो । सो दिन बजार परिसूचक १९६३.५५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । मंगलबार राष्ट्र बैंकले पछिल्लो समय देशको अर्थतन्त्र सबल बन्दै भएको तथ्याङ्क समेत सार्वजनिक गर्यो । देशको वर्तमान अवस्था, विदेशी विनियम सञ्चिति, लगायतका सबैंका देशका अर्थतन्त्रका सूचकमा सकरात्मक सुधार पाइएको छ । विश्व आर्थिक संटक, ब्याजदर वृद्धि लगायतका कारण लगानीकर्ताहरु पनि अन्यौलमा थिए । तर, ब्याजटर घटाउने निर्णय र राष्ट्र बैंकको वित्तीय विवरणले लगानीकर्ता एकाएक हौसिएका छन् ।
मंगलबार नेपाल राष्ट्र बैंकले पनि देशको अर्थतन्त्र सुधार भइरहेको भने पछि पनि लगानीकर्तामा थप आत्मबल बढेको हो । जसले बुधवार कारोबार रकममा समेत बढोत्तरी देखिएको छ । बुधबार १३ उपसूचक नै हरियाली लागेको छ । आज बैंकिङ समूहको ५.४६ प्रतिशत, विकास बैंक समूहको ५.७४ प्रतिशत, फाइनान्स समूहको ६.८४ प्रतिशत, हाइड्रोपावर समूहको ४.९१ प्रतिशत र जीवन बीमा समूहको ४.७७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ११ करोड ७१ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ ।