हरेक हप्ता १०० अंक बढिरहेको सेयर बजारमा अव के होला ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार गत बुधबारसम्म बैंक तथा वित्तीय संस्थामा ५५ खर्ब ४७ अर्ब निक्षेप जम्मा भएको थियो । त्यसै दिन बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात ८४ प्रतिशतको नजिक झरेको छ । यसको मतलव बैंक तथा वित्तीय संस्थाहरुसँग ३ खर्ब २२ अर्बभन्दा धेरै लगानीयोग्य रकम थुप्रिएको छ । विगतका वर्षमा पूँजीकोषको न्यूनतम सीमा पनि कायम नगरी कर्जा लगानी गरेका बैंकहरु यस पल्ट सवा ३ खर्ब तरल सम्पत्ती बोकेर बसेका छन् ।
बैंकमा बढ्दो तरलता र कर्जाको न्यून मागका कारण ऋणको ब्याजदर ओरालो लाग्ने आधारहरु तयार भइरहेका छन् । यसबारे मिहिन नजर राखिरहेका सबैजसो ठूला सेयर लगानीकर्ताले असारबाट कर्जाको ब्याजदर झनै घट्ने भेउ पहिले नै पाइसकेका थिए । त्यसैले बजेटमा प्रस्ताव गरिएको आयकरको व्यवस्थालाई देखाएर केही दिन बजार घटाए पछि सस्तो भाउमा सेयर किन्न हानथाप सुरु भयो । यही कारण गत साता सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ ।
बैंकमा बढ्दो तरलता र घट्दो ब्याजदरले सेयर बजारलाई मात्रै होइन, समग्र आर्थिक गतिविधी नै सुध्रने आशा पलाएको छ । यही उत्साहका कारण यो साता सेयर बजार लगातार उकालो यात्रामा देखियो । यही कारण राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अझै पनि खुकुलो रुझानको मौद्रिक नीति नआउने संकेत गरिसकेका छन् । त्यति हुँदा हुँदै पनि सेयर बजारमा लगानीकर्ताको आकर्षण ह्वात्तै बढेको छ ।
अन्य आर्थिक गतिविधी विस्तार भइहाल्ने अवस्था तुरुन्तै नदेखिएका कारण पनि सेयर बजारले राम्रै लाभ पाउने अपेक्षा धेरैको देखिन्छ । विश्व अर्थतन्त्रका बाह्य परिवेशहरु खासै उल्लेख्य सुधार नदेखिए पनि छिमेकी भारतको बलियो हैसियतको लाभ नेपाली अर्थतन्त्रले पनि पाउने अपेक्षा कतिपय लगानीकर्ताको देखिन्छ । यही कारण आगामी दिनमा कर्जाको ब्याजदर क्रमशः घट्दै जाने संकेत देखिएको छ । असार लागेसँगै कर्जाको ब्याजदर घट्दै छ भन्ने सूचना साताको सुरुबाटै अधिकतर लगानीकर्तामाझ पुगिसकेको कारण पनि दुई सातायता बजार उकालो लागिरहेको छ ।
नयाँ बजेटले घरजग्गाको कित्ताकाट यथास्थितिमै खोल्ने घोषणा गरेसँगै घरजग्गा कारोबारमा पनि विस्तारै सुधार देखिन थालेको छ । सरकारले आगामी आर्थिक वर्षदेखि सडक निर्माणमा कालोपत्रेको साटो ढलान गर्ने भनेपछि यसले छड, सिमेण्ट लगायतको बजार बढ्ने देखिएको छ ।
आर्थिक गतिविधीमा देखिएको क्रमिक सुधारको असर सेयर बजारमा पर्ने पक्का छ । यी सकारात्मक संकेतहरुले नेप्सेलाई १८ सय अंकभन्दा तल झर्न नदेलान् भन्ने विस्वास धेरैजसो लगानीकर्तामा देखिन्छ । यही विस्वासले अहिले लगानीकर्ताहरु त्यूनतम विन्दुको सेयर उठाइरहेका छन् ।
गत साताको अनवरण बृद्धि र चार महिनाभन्दा लामो समयपछि देखिएको उच्च कारोबारको चापले सेयर बजार उकालो लाग्ने अवस्था झनै बलियो बन्दै गएको देखिन्छ । भलै यो बृद्धिले पूर्णतः बुलिश प्रबृत्ती समात्ला भन्ने निश्चय गर्न सकिन्न । नेप्सेको रेखाचित्र विश्लेषणले परिसूचक २३ सय ७० अंकभन्दा माथि गयो भने बजार पूर्णतया उकालो रफ्तारमा जाने देखिन्छ । त्यसरी दीर्घकालिन बृद्धिको बाटोमा अघि बढ्नुअघि सेयर बजारमा एक पल्ट फराकिलो ‘करेक्सन’ आउन सक्ने संभावना बाँकी नै छ ।
गत साता नेप्से परिसूचक अघिल्लो हप्ताको तुलनामा १ सय २ अंक बढेर बन्द भएको छ । गत विहीबार नेप्से परिसूचक २ हजार ४२ अंकमा बन्द भएको छ, यो गएको फागुन १० यताकै उच्च विन्दु हो । नेप्सेको दैनिक ब्यापारमा त झनै १ सय २६ अंकको फराकिलो उतारचढाव देखिन पुगेको थियो ।
गत साता नेप्से १९ सय ४१ देखि २ हजार ६७ अंकको बीचमा रह्यो । कारोबार रकममा पनि गत साता उल्लेख्य सुधार भएको छ । गत बुधबार त नेप्सेमा ४ अर्ब ९६ करोडभन्दा धेरैको कारोबार भयो, यो भनेको गएको पुस २८ यताकै उच्च रकम हो ।
साताका पाँच दिन कारोबार हुँदा पाँचै दिन बढेको सेयर बजारमा दैनिक औसत ३ अर्ब ६७ करोडभन्दा धेरैको कारोबार भएको छ । नेप्से बढेसँगै सेयर बजारको आकार अर्थात् बजार पुँजीकरण पनि गत साताको तुलनामा १ खर्ब ५२ अर्ब हाराहारी बढेर २९ खर्ब ८६ अर्ब नाघेको छ । १७ जेठमा १८ सय ५० भन्दा तल झरिसकेको बजार अहिलेसम्म झण्डै २ सय अंक लगातार बढेको छ ।
यद्यपि, यो बृद्धि धेरै लामो समयसम्म निरन्तर चल्छ भन्ने छैन । एक स्तरसम्म बजार बढेपछि लगानीकर्ताहरु नाफा सुरक्षित गर्न थाल्छन् । यसले पुनः बजार घट्छ र फेरि तिनै सेयरका खेलाडीले खरीद बढाएपछि बजार उकालो लाग्छ ।
गत विहीबारको कारोबार रकम अघिल्लो दिनको तुलनामा कम देखिएको र मैनबत्ती चित्रमा पनि बजारले ह्यामर आकृति तयार पारेका कारण यो साताको सुरुआतमा नेप्से केही घट्नसक्ने संकेत देखिएको छ । साताको अन्तिमसम्म पुग्दा बजार बढोत्तरीकै बाटोमा रहने संभावना अधिक देखिन्छ ।



















