अर्थमन्त्रीको ‘मित्रवत् आग्रह’पछि १२ करोडको सीमा हटाउन गभर्नर तयार, आगामी साता नियम फेरिने हल्लाले सेयर बजारमा उछाल

काठमाडौं । आगामी साता राष्ट्र बैङ्कले शेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने वा संशोधन गर्ने सङ्केत पाएपछि बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सूचकाङ्कमा भारी वृद्धि भएको छ । राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले उक्त सीमा हटाउन लचक हुने सङ्केत गरेको खबर अर्थ मन्त्रालय र केन्द्रीय बैङ्कबाटै बाहिरिएको थियो ।
गत सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले गभर्नर अधिकारीलाई बोलाएर राष्ट्रिय अर्थतन्त्रको उत्थानका निम्ति हातेमालो गर्न आग्रह हरेका थिए । दुई जनाबीचको ‘वान टु वान’ वार्तामा अर्थमन्त्रीले ‘राष्ट्रिय समस्यालाई समाधान गर्न कुनै पनि वाद वा पक्षपात गरेर होइन, राज्यका निकायहरुबीच बलियो सहकार्य स्थापित गर्नुपर्ने’ बताएको महतको सचिवालयले जनाएको छ ।
अर्थमन्त्री महतको एजेण्डामा प्रतिपक्ष एमालेका पूर्व अर्थमन्त्रीहरू समेत सहमत छन् । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले लामो समयदेखि सेयर बजार सम्बन्धी नीतिहरूको तर्जुमा र कार्यान्वयन गर्ने जिम्मा धितोपत्र बोर्डलाई नै दिनुपर्ने भन्दै आएका थिए । उनले राष्ट्र बैङ्कको क्षेत्राधिकार केवल बैङ्कहरूलाई प्राथमिक पुँजीको निश्चित प्रतिशतभन्दा धेरै रकम कुनै एक क्षेत्रमा केन्द्रित गर्न नदिनेमै सीमित हुनुपर्ने बताउँदै आएका छन् ।
एमालेकै पूर्व अर्थमन्त्री डा. सुरेन्द्र पाण्डेले पनि सेयर बजारलाई अङ्कुश लगाउने नीति कायम राख्नुपर्ने आवश्यकता नभएको औँल्याएका छन् । अहिले गभर्नरमाथि उनकै पार्टीका पूर्व अर्थमन्त्रीहरूको दबाब छ । त्यसमाथि अर्थमन्त्री महतको ‘मित्रवत् आग्रह’ले अहिले उनी नैतिक सङ्कटमा परेका छन् ।
सेयर बजारमा १२ करोडको सीमा लगाउने विषयलाई गभर्नर अधिकारीले पछिल्लो समय आफ्नो व्यक्तिगत ‘इगो’को रूपमा अघि बढाएको भन्दै आलोचना पनि भएको थियो । तर गभर्नर अधिकारी भने वित्तीय क्षेत्रको फैलावटको लाभ राष्ट्रिय पुँजी निर्माण र आर्थिक वृद्धिमा नदेखिएको भन्दै सेयर तथा घरजग्गा कारोबारजस्ता सट्टेबाजीलाई नियन्त्रणमा राख्नुपर्ने तर्क गर्दै आएका छन् ।
राष्ट्र बैङ्कले गत साल लिखित रूपमै सरकारलाई अर्थतन्त्रको संरचना बदल्न आग्रह गरेको थियो । रेमिटेन्सबाट कमाउने र आयात गरेर बाँच्ने दुर्बल आर्थिक संरचनालाई बदल्न केन्द्रीय बैङ्कले सुझाव दिँदै आएको छ । राष्ट्र बैङ्कले बैङ्किङ कर्जाको वितरणमा निर्देशित कर्जाको आकार बढाउँदै लगेको छ । विश्वमै अधिकतम निर्देशित कर्जा प्रवाह भएका देशहरूमध्ये नेपाल शीर्ष सूचीमै पर्छ । तै पनि यसले आर्थिक वृद्धिमा टेवा पुग्न सकिरहेको छैन ।
यस्तो बेला राष्ट्र बैङ्कले मौद्रिक नीतिमा कडाइ गर्दै आएको छ । तर पछिल्लो समय बाह्य क्षेत्रमा पर्याप्त सुधार भएको र अब आन्तरिक अर्थतन्त्रको विकासमा भूमिका खेल्नुपर्ने आवाज पनि केही महिनायता उठ्दै आएको थियो । राष्ट्र बैङ्कको सञ्चालक समितिमा पनि सेयर बजारलाई लगानी खुला गर्न लामो समयदेखि आवाज उठ्दै आएको थियो ।
केन्द्रीय बैङ्कका अधिकारीहरू पनि अहिलेको अवस्थामा १२ करोडको सीमा कायम राख्नुपर्ने औचित्य नभएको बताउँदै आएका छन् । ‘विगतमा सेयर बजार बढी अस्थिर भएको र मूल्य उच्च भएका बेला नीतिगत करेक्सन गर्नु ठिकै थियो’ राष्ट्र बैङ्कका एक कार्यकारी निर्देशकले भने, ‘तर अहिलेको अवस्थामा १२ करोडको सीमा राख्नु र नराख्नुको कुनै अन्तर छैन ।’
अहिले बैङ्क तथा वित्तीय संस्थासँग यसै पनि लगानीयोग्य पुँजी छैन । तर सेयर बजार उकासिने हो भने त्यसले कृत्रिम रूपमै भए पनि मूल्य अभिवृद्धि गराउँछ । सेयरको कारोबारले वित्तीय प्रणालीमा सम्पत्तिको मूल्याङ्कन बढेर निक्षेप सिर्जना हुन्छ । यसले कर्जायोग्य रकम पनि विस्तार गर्न सघाउ पुग्छ । यही कारण आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन एउटा हतियारको रूपमा सरकारले सेयर बजारलाई उकास्ने रणनीति लिएको छ ।
यसमा साथ दिन गभर्नर अधिकारी तयार भएका छन् । चौतर्फी दबाब र अर्थ मन्त्रालयको लामो प्रयासपछि गभर्नर अधिकारी लचक देखिएका हुन् । उनले नजिकका व्यक्तिहरूलाई सरकार, प्रतिपक्ष र निजी क्षेत्रसहित सबैको दबाब आइरहेकाले ‘मैँले मात्रै कतिञ्जेल रोक्न सकौँला र ?’ भन्न थालेका छन् । यो साता सकिएकाले आगामी साता १२ करोडको सीमा हटाएर निर्देशन आउन सक्ने सम्भावना बढेको छ ।
सुरुमा गभर्नर अधिकारीले १२ करोडको सीमालाई १८ वा २० करोडमा पुर्याउन सहमत हुने सङ्केत गरे पनि अहिले आएर यो व्यवस्था नै खारेज गर्न लचक देखिएको राष्ट्र बैङ्क सम्बद्ध स्रोतले बताएको छ । यसो गर्दा बैङ्कहरूलाई प्राथमिक पुँजीको २५ प्रतिशतभन्दा धेरै एउटै क्षेत्रमा लगानी गर्न नपाउने व्यवस्थामार्फत नियमन गर्ने रणनीतिमा गभर्नर अधिकारी देखिएका छन् । यसो भयो भने केही ठुला लगानीकर्ताले थप ऋण लिएर सेयर बजारमा लगानी गर्न सक्छन् । जसले सेयर बजारलाई नयाँ वृद्धिको बाटोमा धकेल्ने सम्भावना बलियो बन्न थालेको छ ।