ब्याजदर र ब्रोकर कमिसन प्रभाव, सेयर बजारमा देखियो रौनक « Arthapath.com
४ असार २०८२, बुधबार

ब्याजदर र ब्रोकर कमिसन प्रभाव, सेयर बजारमा देखियो रौनक



काठमाडौं । सेयर बजारमा रौनकता छाएको छ । बुधवार पनि बजार ४३.२७ अंकले बढेको छ । आज बजार परिसुचक पनि १९०७.८९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै सब इन्डेक्स हरियाली बनेका छन् ।

बैंकहरुको ब्याजदर घटेर मंगलबार पनि बजार दोहोरो अंकले वृद्धि भएको थियो । बैंकहरुको ब्याजदर र ब्रोकर कमिसन घट्ने भएपछि नै त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको हो ।

विशेषगरि नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेको छ । बोर्डको सोही निर्णयपछि बजारमा उत्साह देखिएको हो । बोर्डको बुधवार बसेको संचालक समितिको बैठकले ब्रोकर कमिसन १० प्रतिशत घटाउने निर्णय गरेको छ । सो निर्णय अनुमोदनका लागि अर्थमन्त्रालयमा पठाएको छ । अर्थमन्त्रालयबाट स्वीकृति भएपछि घटेको ब्रोकर कमिसन कार्यान्वयन हुनेछ । लगानीकर्ताहरुले पनि निकै लामो समयदेखि कमिसन घटाउन माग राख्दै आएका थिए । ब्रोकर कमिसन घटेपछि लगानीकर्ताको कारोबार लागत घट्ने छ, यसले लगानीकर्ताको मनोबल बढाउन टेवा पुग्ने छ । सेयर बजारमा लगानीकर्ताको मनोबलको ठुलो भुमिका हुन्छ ।

बुधवार कारोबार रकममा भने गिरावट आएको छ । बजार बढेपनि कारोबार रकम भने खुम्चिएको हो । बुधवार ९३ करोड ४८ लाख ९४ हजार रुपैयाँ बराबरको ३७ लाख ७२ हजार २३ कित्ता सेयर किनबेच भएको छ ।

बुधवार सर्वाधिक सेयर कारोबार हुनेमा सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी अगाडी छ । कम्पनीको ४ करोड ४६ लाख ४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

कारोबार रकमका आधारमा दोस्रो स्थान रहेको कुमारी बैंकको प्रोमोटर सेयर रहेको छ । आज बैंकको ३ करोड १३ लाख ९९ हजार रुपैयाँ बराबरको प्रोमोटर सेयर किनबेच भएको छ ।
यस्तै, आज आइएमई लाइफको २ करोड ४२ लाख र शिवम सिमेन्टको २ करोड २७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्