अधिवक्ता सुशील पन्तको ढोँग, सबैभन्दा महँगो प्रिमियममा आफ्नो कम्पनीको आईपीओ बेचेपछि किन गर्दै छन् नियामकको विरोध ?

काठमाडौं । पछिल्लो समय सेयर बजारमा नयाँ आईपीओ आउन नदिन र बुकबिल्डिङ तथा प्रिमियममा सेयर निष्काशनलाई निरुत्साहित गर्न ‘सेयर खेलाडी’हरुको एउटा समूहले निकै आवाज उठाइरहेको छ । त्यही पङ्क्तिमा खरो उत्रिएको एक नाम हो, अधिवक्ता सुशीलकुमार पन्त ।
मारबाडी समुदायका व्यवसायीको खरो विरोध गर्दै राजतन्त्रको आह्वान गरिरहेका दुर्गा प्रसाईँको भिडियो साझ गर्दै पन्तले ६ दिनअघि सामाजिक सञ्जाल फेसबूकमा लामो वक्तव्य लेखेका छन् । उनले बैंक तथा वित्तीय संस्थासम्बन्धि ऐनको मस्यौदा बनाउने बेलामा आफूहरुले संस्थापक लगानीकर्तालाई सञ्चालक बस्न नदिने राय दिएको भनेका छन् ।
अघिवक्ता शुशील पन्तका पोस्टहरु यहाँ हेर्न सकिन्छ ।
अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले बैंकर र ब्यवसायी अलग्याउनु पर्ने तर्क अघि सारेपछि राष्ट्र बैंकले निर्देशनहरुमार्फत् केही नियामकीय सुधार गरिसकेको थियो । त्यसलाई अझ कडा गरेर ऐनमै बैंकमा लगानी गर्ने र ब्यापार व्यवसाय गर्ने लगानीकर्ता अलग्याउने बहस भएको थियो ।
बैंकमा जागिरे करियर सकेर अवकाश पाएका कतिपय मानिसहरु भने ‘व्यावसायिक सञ्चालक’को नाममा आफूहरुले जागिर पाउनुपर्ने तर्क गर्न थालेका थिए । केही देशमा यस प्रकारको व्यवसथा भएको भन्दै उनीहरुले यस्तो मत राखेका थिए । सामान्यतया नबिल बैंकमा अहिले नै विनोद चौधरीले पूर्व बैंकर उपेन्द्र पौड्याललाई अध्यक्ष बनाएर यस्तो अभ्यास गरिरहेका छन् ।
तर ऐनमा यो विषय समेटिएन । बरु अर्बैं रुपैयाँ लगानी गरेका लगानीकर्तालाई सञ्चालकबाटै हटाउने हो भने बैंकको संस्थापक सेयरमा कसैले लगानी नै नगर्ने अवस्था आउन सक्छ भनेर सरकार र राष्ट्र बैंकले यस्तो व्यवस्था अघि सारेन ।
उनले उठाएको अर्को कुरा, नेपालमा बैंक, बीमा, सामुहिक लगानी कोष लगायत अधिकांश वित्तीय क्षेत्रमा एकै परिवारको संलग्नता बढ्दै गएको पनि सत्य हो । व्यापार व्यवसाय, उद्योगधन्दा, पर्यटन तथा स्वास्थ्यजस्ता सेवा क्षेत्र र वित्तीय क्षेत्रमा पनि एकै परिवारको लगानी बढ्न थाल्नु राज्यका निकायहरुका निम्ति पनि चुनौती बनेको छ ।
तर उनी यतिमै रोकिएनन् । ‘अव त्यो समूह आईपीओमार्फत् जनता लुट्न अघि बढेको छ’, उनले लेखेका छन् । उनले सबै किसिमका व्यवसाय एउटै सम्प्रदायलाई सुम्पिएको र उनीहरुलाई महँगोमा आईपीओ ल्याउन बाटो खोलेर देशको आर्थिक भविष्य नै संकटमा धकेलेको भनेका छन् ।

यी आरोपहरुको लहरो तानेर संसदको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई आह्वान गर्दै उनले लेखेका छन्, ‘मिसन ०८४ वालाहरु पनि बुझ, ०८४ सम्म (देश) रहे न मिसन ! नरहे के मिसन ?’ उनले आफ्नो पोस्ट साझा गर्न आह्वान पनि गरेका छन् ।
त्यो पोस्ट हालसम्म एक पटकमात्रै शेयर भएको छ । आफ्नो खुराक नबिकेपछि उनले पटक पटक त्यही कुरा पोस्ट गरेका छन् र दिनदिनै आफैंले शेयर पनि गरिरहेका छन् । सेयर बजारलाई ‘कमाउ धन्दा’ बनाउने केही लगानीकर्ताले उनका पोस्टहरु प्रबद्र्धन गरिरहेका छन् ।
पन्त यतिमै रोकिएका छैनन् । उनले हरेक दिन थुप्रै पोस्टहरु गरेर सरकार, नेपाल धितोपत्र बोर्ड लगायतका नियामकलाई गालिगलौज गरिरहेका छन् । प्रिमियममा सेयर निष्काशन गर्ने होस् वा अन्तरराष्ट्रिय समुदायमा प्रचलित बुक बिल्डिङ प्रणालीको कार्यान्वयनमा पनि उनले खरो विरोध गरिरहेका छन् । त्योभन्दा अघि बढेर पूँजी निर्माणका निम्ति आवस्यक भनिँदै आएको सेयर बजारमा थप प्राथमिक सेयर निष्काशन (आईपीओ) रोक्न जोडदार पहल गरिरहेका छन् ।
यसरी सरकार र नियामक निकायहरुको विरोध गरिरहेका पन्त चोखा छन् त ?
पन्तको ढोँग
निःसन्देह उनी एक सक्षम वकिल हुन् । कोलम्बिया विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । उनै पन्त रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा ठूलो सेयरधनि हुन् । कम्पनीको वेवसाइटमा उपलब्ध सबैभन्दा पछिल्लो वार्षिक प्रतिवेदन अनुसार उनी यो कम्पनीको सबैभन्दा ठूलो सेयर धनि हुन् ।
आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन अनुसार पुरै कम्पनीमा उनकोमात्रै ४.१४ प्रतिशत स्वामित्व छ । हाल ग्लोबल आईएमई बैंक (तत्कालिन रिलायबल डेभेलपमेण्ट बैंक)को १४.२९ प्रतिशत स्वामित्वलाई छाड्ने हो भने पन्त नै सबैभन्दा ठूलो व्यक्तिगत हिस्सेदार हुन् ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयर लगत :

विस्तृत वार्षिक प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुहोस् ।
यो कम्पनीमा अहिले उनीसँगमात्रै ११ लाख कित्ता संस्थापक सेयर स्वामित्व रहेको नेप्सेका अधिकारीहरुले जनाएका छन् ।
त्यही कम्पनी हो, जसले यो साल सबैभन्दा धेरै प्रिमियम थपेर महँगो मूल्यमा आईपीओ बेचेको छ । त्यतिमात्रै होइन, प्रिमियममा आईपीओ ल्याउने ४ बीमा कम्पनीमध्ये रिलायबलले सबैभन्दा उच्च मूल्यमा आइपिओ बेचेको छ । उसले भन्दा निकै सस्तोमा आईपीओ बेच्ने आईएमई लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्ससँग रिलायबलको तुलनामा धेरै नेटवर्थ छ ।
चार बीमा कम्पनीले आईपीओ जारी गर्दाको शेयर मूल्य :

नेपाल स्टक एक्सचेञ्जले दिएको दोस्रो बजार कारोबार रेञ्ज र लगानीकर्ताले दोस्रो बजारमा हालेको सुरुआति मूल्यले पनि रिलायबलले औकातभन्दा निकै महँगोमा आईपीओ बेचेको देखाउँछन् । यसरी आफ्नो ठूलो सेयर रहेको कम्पनीलाई अरुभन्दा बढ्ता महँगो मूल्यमा आईपीओ बेचेर उनकै शब्दमा भन्दा ‘जनता ठगिसकेपछि’ पन्तले विरोधको ढोँग रच्न थालेका छन् ।

अहिले उनको तारो मारबाडी समुदाय हो । दशकौंदेखि नेपालमा उद्योगधन्दा खोलेर रोजगारी दिँदै आएको यो समुदायलाई लखेट्न मरिहत्ते गरेर लागेका दुर्गा प्रसाईँ नै उनको आदर्शजस्तो बनेका छन् । पहाडे राष्ट्रबादको भ्रान्ति फिँजाएर सत्ताको स्वाद चाख्न लालायित देखिएका नयाँ दलमार्फत् फाइदा उठाउन सकिने दाउमा उनी र उनको टोलि पनि देखिएको छ ।