किन निरन्तर निराश बनाउँदै छ सेयर बजारले लगानीकर्तालाई ? « Arthapath.com
३ असार २०८२, मंगलबार

किन निरन्तर निराश बनाउँदै छ सेयर बजारले लगानीकर्तालाई ?



काठमाडौँ । साताको पहिलो कारोबारको दिन सेयर बजारमा उच्च सुधार देखिएको थियो । उक्त सुधारसँगै लगानीकर्ताको आशा समेत जागेको थियो । अब बजारले लय लिने र लगानी योग्य वातावरण बन्ने आश आम लगानीकर्तामा रहेको थियो । तर, लगानीकर्ताको आशा माथि निरन्तर तेस्रो दिन समेत बजारले प्रहार गरेको छ । त्यस यताको ३ वटै कारोबारको दिन बजारमा ओरालो लागेको हो ।

सेयर बजारमा प्रभाव पार्ने प्रमुख कारण भनेको नै बैङ्कहरूको ब्याजदर हो । वाणिज्य बैङ्कहरूले नयाँ ब्याजदर लागू गरेका छन् । मङ्सिर महिनाका लागि अधिकांश बैङ्कहरूले ब्याजदर घटाएका छन् । यसको प्रभाव समेत सेयर बजारमा पर्ने सकेको छैन ।

सरकारले लगानी वृद्धिका लागि निरन्तर पहल गरी रहेको छ । सरकारले लगानी सम्मेलन गर्ने निर्णय गरेकै बेला निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट प्रबद्र्धक आजियाटा बाहिरिने भएको छ । मलेसियामा मुख्यालय रहेको आजियाट समूहले क्वालालम्पुरबाट एक विज्ञप्ती जारी गर्दै नेपालबाट बाहिरिने घोषणा गरेको हो । यसले गर्दा विदेशी राष्ट्रहरुमा नकारात्मक सन्देश समेत गएको देखिन्छ । यसको प्रभाव समेत बजारमा पर्ने देखिन्छ ।

लगानीकर्ताको मनोबल निकै कमजोर भइरहेको छ । नियामक निकाय समेत बजार सुधारका लागि मुकदर्शक भएका छन् । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा कस्तो आउने भन्ने कुराले पनि लगानीकर्ता दुई मत भएको देखिन्छ । बजारमा फैलिएका समाचारले समेत लगानीकर्ताको मनोबल कमजोर बनाएको देखिन्छ ।

यो साता सेयर बजारलाई दुर्गा प्रसाईं नेतृत्व समूहको बैंक–वित्तीय संस्थाहरु विरुद्ध उठाएको मुद्धाले समेत सेयर बजारलाई प्रभाव पारेको देखिन्छ । उक्त आन्दोलनमा लघुवित्त तथा सहकारीको ऋण नतिर्नसमेत सार्वजनिक रुपमै आव्हान गरिएको अवस्था छ । यस्ता होहल्लाले समेत आम लगानीकर्ताको मनोविज्ञान कमजोर भएको हो ।

बजार आज १७.९३ अकंले घटेको छ । परिसूचक समेत १८७६.६० बिन्दुमा कायम भएको छ । कारोबार समेत केहि खुम्चिन पुगेकोछ । बुधबार कारोबार १ अर्ब १ करोड ४१ लाख रुपैयाँ भएको हो ।

बुधबार अन्य समूहको सेयर मूल्य बाहेक १२ कम्पनीको समूह राताम्य भएको छ । आज ५६ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २१० कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।


प्रतिक्रिया दिनुहोस्