सेयर बजारमा दोहोरो अकंको सुधार, १२ उपसूचक हरियाली, अबको लय कता ? « Arthapath.com
२३ पुष २०८०, सोमबार

सेयर बजारमा दोहोरो अकंको सुधार, १२ उपसूचक हरियाली, अबको लय कता ?



काठमाडौँ । सेयर बजारमा आज उच्च सुधार आएको छ । लगातार दुई दिन राताम्य भएको बजार आज दोहोरो अकंको सुधार आउँदा लगानीकर्ता खुसी भएका छन् । बजार अब माथि बढ्नु बाहेकको विकल्प नरहेको लगानीकर्ताहरुका तर्क रहेका छन् ।

अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक र नियामक समेत लचक बनि रहेको अवस्थामा सेयर बजार उचाईमा नै पुग्ने एक जानकारले बताए । कहिले काहि करेक्सन भइरहेको छ । बजार घट्दै फेरी बढेर उचाईमा पुग्ने प्रक्रिया हो । यो बेला बजारमा प्रवेश गर्ने नपाएका लगानीकर्ताले मौका छोपेका छन् । अब बजारको लय नै उच्च बिन्दुमा हुनेछ, उनले भने ।

पुस मसान्तमा व्यक्तिगत तथा संस्थागत लगानीकर्ता पनि आय कर तथा बैंक ब्याजको साँवा र ब्याज तिर्ने दबाबमा रहेका हुन्छन् । यसले पनि बजारमा केही न केही दबाब पैदा गर्ने गर्दछ ।

सेयर बजार घट्नु बढ्नु एक प्रक्रिया नै हो । बजार घटबढ हुदै अघि बढ्ने हो । बैंक ब्याजदर, तरलता अवस्था, नीतिगत प्रावधान अनि आम लगानीकर्ताको मनोविज्ञानमा ख्याल गर्नुपर्ने जानकारहरु बताउछन् । यी तथ्यहरुले बजारको दीर्घकालीन यात्रा अनुमान गरी सोही अनुसार रणनीतिहरु बनाउन सहयोग पुग्नेछ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.५७ अकंले बढेर २०५९.४९ बिन्दुमा बन्द भएको हो । सोमबार ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ ।

आज १२ उपसूचकमा हरियाली आएको छ । सोमबार बैंकिङ समूहको ०.५९ प्रतिशत, विकास बैंक समूहको २.२८ प्रतिशत, फाइनान्स समूहको २.५६ प्रतिशत, होटल तथा पर्यटन समूहको १.६० प्रतिशतले सेयर मूल्य बढेको हो ।

सोमबार सोनापुर मिनरल्सको २१ करोड ८४ लाख रुपैयाँ, माउन्टेन इनर्जीको १९ करोड ३६ लाख रुपैयाँ र हाथवे इन्भेष्टमेन्टको १६ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्