दशकौंको व्यवसायबाट किन उम्कन खोज्दै छन् उद्योगी ? सेयर बजार बन्दैछ ‘हतियार’ « Arthapath.com
१६ माघ २०८१, बुधबार

दशकौंको व्यवसायबाट किन उम्कन खोज्दै छन् उद्योगी ? सेयर बजार बन्दैछ ‘हतियार’



५१ अर्बभन्दा धेरैको आइपीओ ल्याएर सेयर बेच्ने तयारी, प्रिमियममात्रै १६ अर्ब!

काठमाडौँ । विगतका वर्षमा सरकार र नियामकले कयौँ तरिकाले पहल गर्दा समेत उत्पादन मुलक र कतिपय सेवा क्षेत्रका कम्पनीहरु पूँजीबजारमा सूचीकृत हुन चाहन्न थिए । गुरुप्रसाद न्यौपानेले हिम्मत नगरेको भए निजी जलविद्युत् कम्पनीहरु पनि नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कारोबार गर्ने यो माहोल बन्ने थिएन ।

तर अहिले एकाएक ‘वास्तविक क्षेत्र’ (वित्तीय मध्येस्थताभन्दा बाहेक)का कम्पनीहरु पूँजी बजारमा समाविष्ट हुने व्यग्र प्रतीक्षामा देखिएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार अहिलेसम्म ८२ कम्पनीले ५१ अर्ब ११ करोड २४ लाख रुपैयाँभन्दा बढी मूल्यको प्राथमिक सेयर निष्काशन (आईपीओ)का लागि आवेदन दिएका छन् ।

यस बाहेक गत पुस २५ यतामात्रै ३ वटा नयाँ कम्पनीले आईपीओ अनुमति पाइसकेका छन् । तिनीहरुले बजार (सर्वसाधारण लगानीकर्ता)बाट ६३ करोड रुपैयाँ पूँजी जुटाउने अनुमति पाएका छन् । त्यस्तै, थप सेयर निष्काशन (एफपीओ)को अनुमति कुरेर बसेका अरु ६ कम्पनीले २ अर्ब ३६ करोड ८० लाख रुपैयाँ बराबरको सेयर बेच्न खोजेका छन् ।

यी सबै आँकडा जोड्ने हो भने अहिलेसम्म निवेदन परेका कम्पनीहरुको मात्रै आईपीओ आउँदा पनि ५४ अर्ब ११ करोडभन्दा बढी रकमको हुने छ ।

जलविद्युत् र उत्पादनमुलक क्षेत्रको दबदबा

नयाँ आईपीओ ल्याउन तम्तयार भएका कम्पनीहरुको सूची हेर्ने हो भने जलविद्युत् कम्पनीहरु सबैभन्दा धेरै छन् । कुल ८२ मध्ये ४२ कम्पनी जलविद्युत् क्षेत्रबाट प्रतिनिधित्व गर्छन् । त्यसपछि १५ कम्पनीहरु उत्पादन तथा प्रशोधनसँग जोडिएका छन् भने ११ कम्पनी ‘अन्य’ समूहमा छ ।

७ ओटा होटेल तथा पर्यटन क्षेत्रका कम्पनी छन् । लगानी र लघुबीमा समूहबाट ३–३ वटा र लघुवित्त संस्था एक ओटाले पनि आईपीओका लागि आवेदन दिएका छन् ।

तर क्षेत्रगत रकमको हिसाब हेर्ने हो भने सर्वसाधारणलाई सेयर बेचेर सबैभन्दा धेरै पैसा उठाउन खोज्नेमा उत्पादन तथा प्रशोधन समूह अगाडी देखिन्छ । ठूला सिमेन्ट र स्टिल उद्योगले आफ्नो महत्वपूर्ण हिस्सेदारी बेच्न लागेका कारण यस्तो भएको हो ।

उक्त समूहबाट २२ अर्ब ५४ करोड र जलविद्युतबाट १८ अर्ब ३१ करोडभन्दा बढी रकमको आइपीओ ‘पाइपलाइन’मा देखिएको छ ।

प्रिमियमबाटै १६ अर्ब नाफा

कम्पनीहरुले सेयर निष्काशन गर्दा प्रिमियम मूल्यबाटै ठूलो नाफा आर्जन गर्ने गरी प्रस्ताव अघि बढाएका छन् । हालसम्म ११ वटा कम्पनीले प्रिमियम मूल्यमा सेयर निष्काशन गर्न लागेका हुन् । उनीहरुले चुक्ता मूल्यबाहेकको प्रिमियमबाट मात्रै १५ अर्ब ९२ करोड २७ लाख रुपैयाँ आर्जन गर्ने प्रस्ताव अघि बढाएका छन् ।

यसरी प्रिमियम मूल्यमा सेयर बेच्न चाहनेमध्ये सबैभन्दा महँगो प्रिमियम काठमाडौँको ठमेलस्थित छायाँदेवी कम्प्लेक्सले प्रस्ताव गरेको छ । उक्त कम्पनीले चुक्ता हुने मूल्य १०० रुपैयाँमा अर्को ३०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४०० रुपैयाँका दरले सेयर बेच्ने प्रस्ताव गरेको छ ।

दोस्रो नम्बरमा मारूती सिमेन्टले २७७ रुपैयाँ प्रिमियमका साथ प्रतिकित्ता ३७७ रुपैयाँ मूल्य तोकेको छ । कैलाश हेलिकप्टरले पनि आफ्नो सेयर पूँजी बजारमा बेच्न खोजेको छ । उसले चुक्ता मूल्य १०० मा अर्को २२७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३२७ रुपैयाँमा सेयर बेच्न लागेको हो ।

अम्बे स्टिलले प्रतिकित्ता ३०३ मा सेयर बेच्न खोजेको छ, जसमा २०३ रुपैयाँ प्रिमियम हो । देशकै सबैभन्दा ठूलो फलाम उद्योग जगदम्बा स्टिलले ब्यापक मात्रामा सेयर बेच्न लागेको छ । उसले २ करोड कित्ताभन्दा धेरै सेयर ३०० रुपैयाँको भाउमा बेच्ने प्रयास गरेको छ, जसमध्ये २०० रुपैयाँ प्रिमियम हो ।

यस पल्ट हेलिकप्टरसँगै अस्पताल पनि पूँजी बजारको दायरामा आउन लागेको छ । हस्पिटल फर एड्भान्स मेडिसिन एण्ड सर्जरी (हेम्स अस्पताल) ले ११ लाख २५ हजार कित्ता सेयर १८८ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता २८८ रुपैयाँमा बेच्ने प्रस्ताव गरेको छ ।

त्यस्तै सेञ्चुरी इनर्जी लिमिटेडले प्रिमियमसहित २७५ रुपैयाँ ११ पैसा र सौर्य सिमेन्टले २६४ रुपैयाँ ५१ पैसामा सेयर बेच्ने प्रस्ताव गरेर धितोपत्र बोर्डमा आवेदन दिएका छन् । नुम्बुर हिमालयन हाइड्रोपावरले २१८ रुपैयाँ, रिद्धिसिद्धि सिमेन्टले २१४ रुपैयाँ १० पैसा र शिवम् सिमेन्टको नेपाली साझेदार शिवम् होल्डिङले २१० रुपैयाँमा सेयर बेच्ने प्रयास गरेको छ ।

यी ११ कम्पनीले पाइपलाइनमा भएको कुल सेयर संख्या ३५ करोड ५० लाख ३७ हजार कित्ताको २५ प्रतिशत ओगट्छन् । तर आईपीओको मूल्यलाई हेर्ने हो भने पाइपलाइनमा भएका सबै कम्पनीको कुल मूल्यको ४८.५३ प्रतिशत यी कम्पनीको भागमा पर्छ ।

यसको मतलव पुरा ८२ कम्पनीमध्ये झण्डै आधा पैसा यी ११ कम्पनीले उठाउने गरी आवेदन दिएका छन् । अब नियामक धितोपत्र बोर्डले उक्त प्रस्तावित मूल्यहरुलाई पुनः जाँच गरेर संशोधन गर्न वा त्यही मूल्यमा धितोपत्र निष्काशन गर्ने अनुमति दिन सक्छ ।

अर्थतन्त्र विग्रियो कि सप्रियो ?

ठूला र उत्पादन तथा सेवामा राम्रो पकड जमाएका कम्पनीहरु पूँजी बजारमा आउनुलाई सामान्यतया सकारात्मक संकेतका रुपमा हेरिनु पर्ने थियो । तर अहिले अधिकांश कम्पनीहरु आफ्नो बैंक ऋण र अन्य बक्यौता दायित्वहरुको भुक्तानीका निम्ति जनतासँग पैसा उठाउने ध्याउन्नमा देखिएको भनेर कतिपय व्यवसायीले संस्थागत र व्यक्तिगत रुपमा पनि आवाज उठाउन थालेका छन् ।

तीन वर्षयता नेपालमा समष्टिगत माग नै घटेर गएका कारण ठूला ‘कर्पोरेट’हरुले नै ऋण तिर्न नसकेको र कतिपय ठूला कम्पनीहरु घाटामा देखिएका कारण यी उद्योग तथा व्यवसायको प्रतिफल दर निकै कमजोर छ । यही कारण बैंकको ऋण तिर्ने, अरु बाँकी वित्तीय दायित्वबाट पनि मुक्त हुने र बचेको पैसा बजारबाट निकाल्ने कोसिस स्वरुप अहिले पूँजी बजारमा आउन थालिएको भनेर कतिपयले आलोचना गर्ने गरेका छन् ।

स्टक मार्केटमा सेयर सूचीकृत भएर कारोबार थालिएको तीन वर्ष पछि संस्थापकहरुले पुरै सेयर विक्री गर्न पाइने सुविधाका कारण पनि अहिले वास्तविक क्षेत्रका कम्पनीहरु धमाधम सेयर निष्काशन गर्ने रफ्तारमा अघि बढेका छन् ।

त्यही तर्कका आधारमा नेपाली व्यवसायीहरुले अब यहाँ ‘थप कमाइको संभावना नदेखेको’ भाष्य स्थापित गर्ने समूह पनि छन् । उनीहरुको बुझाइमा यहाँको सम्पत्ती बेचेर उम्कने कोसिसमा लागेका त्यस्ता व्यवसायीले पूँजी बजारलाई ‘हतियार’को रुपमा प्रयोग गर्न खोजेको हुनसक्छन् ।

त्यसैले अहिले आईपीओमा आएको ‘बाढी’लाई उनीहरु हाम्रो अर्थतन्त्र विग्रिएको र थप विग्रने संकेतका रुपमा ब्याख्या गर्ने गर्छन् ।

निकास कि नयाँ संभावनाको द्वार ?

सँगसँगै उद्यमीहरुलाई नवीन क्षेत्रतर्फ संभावनाको खोजि गर्ने अवसर प्रदान गरिरहनु पर्छ भन्ने मान्यता राख्नेहरु पनि धेरै छन् । उनीहरुको विचारमा अहिले नेपालमा कोही एक उद्यमीले कुनै उद्योग वा व्यवसाय खडा गर्यो भने वर्षौं होइन, दशकौंसम्म पनि त्यसमै अल्झिरहनुपर्ने बाध्यता सिर्जना गरिएको छ ।

उद्यमीहरुलाई ‘बाँधेर राख्ने’ यस्तो व्यवस्थाले नवप्रवर्तन र नवीन संभावनाको खोजि हुन सक्दैन । कालान्तरसम्म एउटै व्यवसाय चलाइरहनु पर्ने बाध्यता अहिलेको कानूनले गरेकै कारण यो देशमा उद्यमशीलता विकास नभएको भन्ने तर्क उनीहरुको छ ।

हामीले अपनाएको ‘खुला बजार’ नीतिलाई पूर्ण रुपमा सक्रीय पार्न पनि ‘जोखिम लिने आँट भएका’ उद्यमीलाई नयाँ नयाँ प्रयोग गर्ने छुट दिनु पर्ने उनीहरु ठान्छन् । त्यसका लागि संसारभर नै पूँजी बजार एक औजार हो, जहाँबाट उद्यमीहरु आफ्नो लगानी फिर्ता झिकेर पुनः नयाँ क्षेत्रमा संभावना खोज्छन् ।

उदाहरणका लागि अहिले विश्वको सबैभन्दा धेरै पूँजिकृत भएको कम्वनी एप्पल इन्कले सन् १९८० को डिसेम्बरमा आईपीओ ल्याउँदा यसका प्रवर्तक स्टिभ जब्ससँग १४ प्रतिशत हिस्सेदारी थियो । तर त्यसको ५ वर्ष पनि नबित्दै उनी सबै सेयर बेचेर कम्पनीबाट निस्किएका थिए ।

पूँजीकरणको हिसाबले दोस्रो ठूलो कम्पनी माइक्रोसफ्टले सन् १९८६ मा आईपीओ निष्काशन गर्दा बिल गेट्ससँग ४५ प्रतिशत र पल एलेनसँग २८ प्रतिशत स्वामित्व थियो । सन् १९९५ देखि २०१७ को बीचमा १७ वर्षसम्म विश्वकै सबैभन्दा धनि व्यक्तिको सम्मान पाएका तिनै बिल गेट्ससँग अहिले माइक्रोसफ्टको १ प्रतिशत हाराहारी मात्रै स्वामित्व छ ।

यी दुबै (एप्पल र माइक्रोसफ्ट) कम्पनीमा सर्वाधिक स्वामित्व धारण गरिरहेको कम्पनी भानगार्ड ग्रुपसँग पनि एप्पलको कुल सेयरमध्ये ८.४७ प्रतिशत र माइक्रोसफ्टको ८.९५ प्रतिशतमात्रै हिस्सेदारी छ ।

यस्ता विशालकाय कम्पनीहरुमा पछि लगानी कम्पनीहरु, म्युचुअल फण्डहरु र दीर्घकालिक कोषहरुले स्वामित्व किनेका छन् । नेपालमा पनि हालैका वर्षमा यस्ता लगानी कम्पनीहरुको विकास हुन थालेको छ भने कतिपय अवस्थामा बीमा कम्पनीहरु र कर्मचारी सञ्चयकोष जस्तो वित्तीय संस्थाले पनि बजारमा आफ्नो उपस्थितिलाई बलियो पार्दै गएका छन् ।

यस अघि पनि कतिपय सिमेन्ट उद्योगहरुदेखि जलविद्युत् र होटेलहरुले पूँजीबजारको राम्रै सहयोग लिएका थिए । यो रफ्तारलाई अझ तीव्र पार्न सके लगानी कम्पनीहरुको नयाँ संभावना पनि खुल्ने र नवप्रवर्तनमा पनि उपलब्धी हासिल हुने कतिपयको बुझाई छ ।

वर्तमान विश्वको माग र आवस्यकताका आधारमा उद्यमशील मानिसहरुलाई प्रयत्न गर्ने मौका दिनु नै उत्थानशील अर्थतन्त्रको पहिचान भएको तर्क उनीहरु गर्छन् । हुन पनि खुला र उत्थानशील अर्थतन्त्र नेपालले अंगिकार गरेको नीति हो । यस नीतिलाई निमोठ्ने होइन, फुल्न र फल्न दिनुपर्ने राज्यका नीति निर्माताहरु पनि बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्