बजेट र मौद्रिक समीक्षा एकै सातामा, के अब सेयर बजारले नयाँ दिशा समाउनेछ ? « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

बजेट र मौद्रिक समीक्षा एकै सातामा, के अब सेयर बजारले नयाँ दिशा समाउनेछ ?



काठमाडौं । नेपाली सेयर बजारमा यो साताको कारोबारले सकारात्मक संकेत गरेको छ । नेप्से परिसूचक करिब ३ प्रतिशत उकालो लागेको छ ।

अघिल्लो साता २ हजार ६११ दशमलव ८५ अंकको विन्दुमा पुगेर बन्द भएको सूचक पाँच दिनको कारोबारपछि २.९४ प्रतिशत प्रतिशत बढेको हो । यो साता बजार ७६.७० अंक बढेर २ हजार ६८८ दशमलव ५५ अंकको विन्दुमा अडिएको छ ।

साताभरि खुला भएका पाँच कारोबारी दिनमध्ये तीन दिन बजार हरियो नै रहयो । यस्तै, एक दिन रातो देखिएको थियो भने बाँकी एक दिन स्थिर जस्तो देखियो ।

सूचकका अन्य सूचाङ्कहरू पनि वृद्धि उन्मुख नै रहे । सेन्सेटिभ इन्डेक्स १७.९३ अंक माथि चढ्दा, फ्लोट इन्डेक्स ६.७४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ६.६२ अंक उकालो लागेको छ ।

यद्यपि परिसूचक उकालो लागे पनि कारोबार रकम भने अघिल्लो साता भन्दा घटेको देखिएको छ । अघिल्लो साताको तुलनामा यस साता दैनिक औसत कारोबार १.९५ प्रतिशत घटेर ८ अर्ब ७४ करोड रुपैयाँमा सीमित भएको छ । गत साता दैनिक ८ अर्ब ९१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

यस साता दैनिक औसत कारोबार संख्या १६.५३ प्रतिशत घटेको छ । कारोबार भएका सेयरको औसत संख्या पनि ६.६३ प्रतिशत घटेको देखिन्छ । नाफा सुरक्षित गर्ने प्रवित्तिले पनि कारोबार रकममा गिरावट आएको हो । सूचक बढेपछि अधिकांश लगानीकर्ताले आफ्नो नाफा सुरक्षित गर्न बिक्रीको रणनीति अपनाउने गर्छन्, जसले खरिदकर्ता पक्षलाई कमजोर बनाउँछ । अर्कोत तर्फ बजेट घोषणा र मौद्रिक नीितको र ब्याजदर लगायतमा केही नयाँ संकेतहरु पर्खेर बस्ने मनोविज्ञान पनि देखिन्छ ।

यस्तै, कुल बजार पूँजीकरणमा भने उल्लेखनीय वृद्धि भएको देखिएको छ । साताको अन्त्यसम्म कुल बजार मूल्य ४४ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो साता अन्त्यको तुलनामा करिब १ खर्ब २९ अर्ब रुपैयाँ बढी हो । यो वृद्धिदर प्रतिशतमा भने २.९७ हुन आउँछ ।

उपसमूहको विश्लेषण गर्दा १३ मध्ये ११ वटा उपसमूह वृद्धि भएको छ । दुई उपसमूहमा गिरावट देखिएको छ ।

बैंकिङ्ग उपसमूहमा सबैभन्दा उल्लेखनीय ७.१८ प्रतिशतको वृद्धि भएको छ । सबैभन्दा राम्रो प्रदर्शन गर्दै लगानीकर्ताको प्राथमिकता फेरी सशक्त वित्तीय संस्थाहरूमा रहेको देखाएको छ । अघिल्लो साता १ हजार ३०१ दशमलव ८२ अंकको विन्दुमा बन्द भएको बैंकिङ उपसमूह, यो साता ९३.४२ अंक बढेको छ । यो वृद्धिसहित १ हजार ३९५ दशमलव २४ अंकको विन्दुमा पुगेको हो ।

त्यस्तै, अन्य र लघुवित्त उपसमूह पनि साढे चार प्रतिशत हाराहामीमा बढेको देखिन्छ । लघुवित्त ४.६२ प्रतिशत र अन्य उपसमूह ४.४३ प्रतिशत बढेको छ । योसँगै लघुवित्त ४ हजार ८६१ दशमलव ४२ अंक र अन्य उपसमूह २ हजार ३७१ दशमलव २६ अंकमा पुगेर बन्द भएको छ ।

अंकको हिसाबले सबैभन्दा बढी वृद्धिदर निर्जीवन बीमा उपसमूहमा देखिएको छ । अघिल्लो साता १२ हजार ३२६ दशमलव ४१ अंकको विन्दुमा रहेको निर्जीवन बीमा उपसमूह २४१.८ अंकको वृद्धिसहित १२ हजार ५६८ दशमलव ३९ अंको विन्दुमा पुगेको हो ।

यस्तै, यो साता निर्जीवन बीमा समूह र उत्पादन तथा प्रशोधन समूह बराबरी अर्थात् ०.७५ प्रतिशत वृद्धि भएको छ । म्युचुअल फन्ड ०.६१ प्रतिशत र होटेल तथा पर्यटन उपसमूह ०.४६ प्रतिशत वृद्धि भएको छ ।

तर, व्यापार उपसमूहमा भने सबैभन्दा ठूलो गिरावट देखिएको छ । १.९७ प्रतिशतको गिरावटसँगै यो उपसमूह ८६.४९ अंक घटेर ४ हजार ३०२.८६ अंकको विन्दुमा झरेको छ । यता, जलविद्युत उपसमूह पनि ०.१३ प्रतिशत अर्थात् ४.३६ अंक घटेर ३ हजार ४५० अंकमा झरेको देखिन्छ ।

अबको साताले सेयर बजार कुन मोडतर्फ लैजाला ?

नेपाली सेयर बजार लामो समयदेखि साइडवेज ट्रेन्डमा अड्किएको छ । तर, अबको साता त्यसलाई तोड्ने निर्णायक मोड बन्ने सम्भावनाको आँकलन पनि गरिएको छ ।

एकातर्फ नयाँ आर्थिक वर्षको बजेट आउनेछ । जसमा कर प्रणाली र पूँजीबजारप्रति सरकारको दृष्टिकोण प्रस्टिने अपेक्षा छ । अर्कोतर्फ नयाँ गभर्नर आगमनसँगै नीति लचकता र मौद्रिक समीक्षाबाट आउने संकेतले बजारलाई गति दिन सक्ने विश्वास बनिरहेको छ ।

लगानीकर्ताको नजर खासगरी सेयर कर्जाको सीमा, जोखिमभार र बैंकहरूलाई लगाइएको अल्पकालीन कारोबार रोकजस्ता नीतिहरूमा सम्भावित सहजता तर्फ छ । यदि यी क्षेत्रमा गभर्नरबाट सकारात्मक सन्देश आयो भने बजारमा ‘ब्रेकआउट’ सम्भव देखिन्छ ।

गत साता बैंकिङ समूहमा देखिएको चमकले लार्ज क्याप कम्पनीहरूको गति पुनः फर्कन सक्ने संकेत दिएको छ । यद्यपि त्यो उकालो ट्रेन्डको सुरुवात हो वा क्षणिक ट्रेन्ड, यसको मूल्यांकन अबको साताले गर्नेछ ।

मौद्रिक नीति समीक्षा सामान्यतः नियमति प्रक्रिया मात्र हुने भए पनि नयाँ गभर्नरको पहिलो निर्णय भएकाले यसमा केही ‘सन्देशमूलक लचकता’को अपेक्षा गरिएको छ । तरलता प्रशस्त छ, ब्याजदर घट्दो छ । अब चाहिएको भनेको लगानीकर्ताको मनोबल पुनः जागाउने स्पष्ट संकेत हो ।

अहिले बजार २ हजार ६८० अंकको हाराहारीमा टेक्ने आधार बनाइरहेको छ । अब माग–आपूर्ति, मनोविज्ञान र नीतिगत इङ्गितको मेल मिल्यो भने नेप्सेले नयाँ गति लिन सक्नेछ । बजारले अहिले त्यो ‘ट्रिगर’को प्रतीक्षा गरिरहेको छ, जुन सम्भवतः अबको साताले दिनसक्छ ।


प्रतिक्रिया दिनुहोस्