इस्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँडका लागि मिति तय, कतिको हुँदैछ हातखाली ?
काठमाडौं । इस्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँडका लागि मिति तय भएको छ । कम्पनीको आईपीओ भोलि अर्थात कात्तिक १७ गते बिहीबार बाँडफाँड हुने भएको हो ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलको आफ्नै कार्यालयमा बिहीबार बिहान ९ बजे आईपीओ बाँडफाँड हुनेछ । कम्पनीको आईपीओमा मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट वितरण हुने कम्पनीले जनाएको छ ।
कम्पनीको आईपीओमा २५.२१ गुणा बढी आवेदन परेको छ । कम्पनीको आइपीओमा १३ लाख ९४ हजार ३२६ जनाले १ करोड ५७ लाख १८ हजार ४७० कित्ताका लागि आवेदन दिएका छन् । यीमध्ये ६२ हजार ३२८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ३१ हजार जनाको भने हात खाली हुनेछ ।
कम्पनीले गत असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म ६ लाख ७० हजार ३१० कित्ता आइपीओ निष्काशन गरेको थियो ।
जसमध्ये ३३ हजार ५१५ कित्ता सामुहिक लगानी कोष र १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ६ लाख २३ हजार २८९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरेको थियो ।















