नम्बर १ ब्राण्ड हाँकिरहेकी ‘लेडिज टीम’की नायिका

काठमाडौँ । गत साल नेपालमा सर्वाधिक विक्री भएको कार ब्राण्ड हो, बिवाईडी । घरेलु अटो बजारमा यसको उपस्थिति निकै बाक्लिएको छ । यमुना श्रेष्ठको कम्पनी साइमेक्स इन्कले नेपालमा बीवाईडीका गाडी आयात गरेर बेच्छ ।
यही कम्पनीको मुख्य शोरुम काठमाडौँको नक्सालमा छ, जुन अधिकतर नारीहरुले नै सञ्चालन गरेका छन् । जसको नेतृत्व गर्छिन्, सन्ध्या वैद्य । उनीसँग अहिले ‘सेल्स टीम’मा ९ जनाको समूह छ, जसमध्ये ७ जना महिला छन् ।
१६ वर्षअघि अटोमोबाइल्स क्षेत्रमा ‘करियर’ खोज्न थालेकी सन्ध्याले लामो समय टोयोटाको गाडी बेच्ने कम्पनी ‘युनाइटेड ट्रेडर्स सिण्डिकेट’मा काम गरिन् ।
‘के तपाइँ सुरज वैद्य (युनाइटेड ट्रेडर्सका मालिक)को परिवार भित्रैको हुनुहुन्छ ?’, हामीले सोध्यौँ । ‘खासमा मेरो श्रीमानको थर वैद्य हो र उहाँ (सुरज)को परिवार होइन’, उनले भनिन्, ‘तर मैले ९ वर्ष टोयोटामा काम गर्दा असाध्यै धेरै कुरा सिक्न पाएँ । एकै परिवारजस्तो भएर काम गर्न पाएँ ।’
टोयोटामा रहँदा उनले लजिस्टिक र मार्केटिङ विभागमा रहेर काम गरेकी थिइन् । त्यसपछि एमजीमा एक वर्ष सेल्समै काम गरे । उनको दोस्रो लामो यात्रा निसानमा रह्यो । २३ वर्षदेखि नेपालमा निशानको गाडी बेचिरहेको एमभी दुगडबाट आधिकारिक वितरकको भूमिका खोसिएर शारदा ग्रुपको पायोनियर मोटोकर्पले लिनु र सन्ध्याले निशानमा ‘इन्ट्री’ गर्नु एकै समय परेको थियो ।
लगभग ६ वर्ष निशानको ‘सेल्स’ टीममा बिताएपछि गत सालमात्रै उनी बीवाईडीमा प्रवेश गरेकी थिइन् । त्यो त्यस्तो समय थियो, जुब बखत अर्थतन्त्रका सारा क्षेत्र समस्यामा फसेको बेला ज्यादै कम कम्पनीहरु गज्जब नाफा कमाइरहेका थिए । सोही सूचीको एक शीर्षस्थ कम्पनी थियो साइमेक्स इन्क ।
यमुनाकी सारथी

गत साल उसले नेपालको कुल विद्युतीय कार विक्रीमा २७ प्रतिशत हाराहारी हिस्सा ओगटेको थियो । वर्षभरीमा करीब ११ अर्बको ब्यापार गरेको यो कम्पनीको विक्रीमा सबैभन्दा ठूलो सफलता नक्साल शोरुमले नै पाएको छ ।
बीवाईडीको एट्टो थ्री मोडल नेपालमा असाध्यै लोकप्रिय बन्न पुग्यो । यस मोडलका विषयमा कयौँ प्रश्नहरु उठे पनि ग्राहकलाई विस्वस्त बनाउन र उनीहरुलाई कम्पनीको सेवाप्रति सन्तुष्ट पार्न सन्ध्याले असाध्यै ठूलो मिहेनत गरेकी छिन् ।
साइमेक्स इन्क प्रालीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ पनि नेपालमा बीवाईडीको ब्यापारलाई अहिलेको स्थानमा पुर्याउन सन्ध्या र उनको टीमको भूमिकाको प्रशंसा गर्छिन् । ‘कर्मचारी साथीहरुको अथक मिहेनतबाट नै अहिले हामीले सुखद परिणाम हासिल गर्न सकेका हौँ’, उनी भन्छिन्, ‘सन्ध्या र उनको टीमले पाएको सफलता केवल एक कम्पनीको ब्यापार बढाउने मात्रै होइन, नेपालमा नारी सशक्तिकरणको पनि अनुपम उदाहरण हो ।’
सन्ध्या पनि बीवाईडी र साइमेक्सले आफूलाई दिएको अवसरप्रति आभारी छिन् । ‘हाम्रो उत्पादनहरूको माग राम्रो छ । मलाई यो अवसर दिनुभएको छ’, उनले भनिन्, ‘म धेरै गर्व गर्छु । खुसी लाग्छ ।’
विक्रीको बाढी

त्यसो त, पछिल्लो साल बीवाईडी नेपालमा ‘रुचाइएको’ ब्राण्ड बन्यो । ग्राहकले रुचाउनमा पनि कम्पनीको सेवाको शैली र प्रभावकारीता एक मुख्य कारक हुन्छ । ‘दशैँको बेलामा मध्येराती गाडी दुर्घटना भएको अवस्थामा पनि मैले २–३ घण्टा खटेर समस्या सुल्झाएकी छु’, सन्ध्या सम्झिन्छिन्, ‘यस्तै सेवाबाट ग्राहकको सन्तुष्टि बढ्छ र आफ्नो ब्राण्डको प्रबद्र्धन भइरहेको छ ।’
आफ्ना ग्राहकले भोगेको समस्यालाई ‘आफ्नै हो’ भनेर हल गर्न उत्रने सन्ध्याको कार्यशैली नै उनको सफलताको मुख्य आधार हो । डेढ दशक गाडीको ‘सेल्स’मा भिडिसकेका कारण पनि ग्राहकका सवाल र चिन्ताहरु समाधान गरिदिने राम्रो कला उनमा विकास भएको छ ।
यही कलाले उनलाई गाडीको विक्रीमा बाढी ल्याउन सफल बनाएको छ । ‘हामीले महिनामा औसत १०० देखि ११५ वटासम्म गाडी बिक्री गरेका छौँ’, उनी भन्छिन्, ‘मैले यहाँ आएर एक महिनामा सबैभन्दा धेरै १४० युनिटसम्म बिक्री गरेका छौं । मलाई लाग्छ, यो धेरै राम्रो नम्बर हो ।’
बढ्दो प्रतिस्पर्धाको चुनौती
अब विस्तारै नेपाली बजारमा विद्युतीय गाडीको प्रतिस्पर्धा बढ्न थालेको देखिन्छ । गत साल बीवाईडीले एक छत्र राज गरेको थियो । तर यो साल सायद केही चुनौतीपूर्ण हुनसक्छ । हालैमात्र सकिएको नाडा अटो शोमा थुप्रै चिनियाँ गाडीबा नयाँ नयाँ ब्राण्डहरु प्रतिस्पर्धाको मैदानमा उत्रिएको देखिएका छन् ।
तर वितेको एक वर्षजस्तै बलियो ‘टिम–वर्क’ भयो भने जस्तोसुकै चुनौती पनि सहजै पार लगाउन सकिन्छ भन्ने गहिरो विश्वास सन्ध्यामा छ ।
‘सबैकुरा व्यवस्थापन गर्न, शोरुममा आएको ग्राहक ह्यान्डल गर्न चुनौतीपूर्ण त छ’, उनी भन्छिन्, ‘ तर हामी निरन्तार क्वालिटी सर्भिस दिने कोसिस गरिरहेको हुन्छौँ ।’ उनलाई सधैँ लाग्छ, ‘मुख्य कुरा भनेको ग्राहकको सन्तुष्टि हो ।’ जति सुकै प्रतिस्पर्धा भए पनि उत्पादन राम्रो भयो भने सेवाको पाटोमा आफ्नो परीश्रम खेर जाँदैन भन्नेमा उनी ढुक्क छिन् ।

बेच्ने कला
उनी कुनै पनि ग्राहकलाई ‘राम्रो’ वा ‘नराम्रो’ भनेर छुट्याउँदिनन् । ‘कसैको स्वभाव एउटा हुन्छ, कसैको अर्को । व्यक्तिपिच्छे फरक स्वभाव हुन्छ’, उनी थप्छिन्, ‘हामीले त्यो ग्राहकको प्रकृति बुझेर त्यही अनुसार ट्याकल गर्ने हो ।’
उनलाई राम्रोसँग थाहा छ की, कसैको सोचाई आधुनिक हुन्छ त कोही अलि परम्परागत ढर्राबाट विचार गर्छन् । तर ‘सेल्स पर्सन’ कहिल्यै आफ्नो ‘लय’बाट विमुख हुनु हुँदैन भन्ने उनले गज्जब राम्रोसँग बुझेकी छिन् ।
‘हामीले आफ्नो उत्पादनको ब्रिफिङको राम्रोसँग गर्नु पर्छ । ग्राहकका हरेक चासोलाई सम्बोधन गर्ने गरी उत्पादनको वर्णन गर्नु आवस्यक हुन्छ,’ उनी भन्छिन्, ‘हामीले ग्राहकलाई सुरुमा दिने सेवा नै यही हो । त्यसैले यो पक्षलाई महत्वपूर्ण रुपमा लिनुपर्छ ।’
विक्री पछिको सेवा भनेको गुनासो व्यवस्थापन हो । हरेक ग्राहकका भिन्नभिन्न गुनासा र समस्याहरुको समाधान निकाल्ने जिम्मा आफूहरुको भएको उनी बताउँछिन् । ‘शोरुम खोलेर मात्र भएन । गाडी बेचेर मात्र भएन । गुणस्तरीय सेवा महत्वपूर्ण हुन्छ’, उनी थप्छिन्, ‘कहीँ पनि कुनै पनि समस्या आउँदा त्यसलाई सम्बोधन हुने गरी तत्काल सेवा दिन सक्नुपर्यो ।’
प्रेरणाको स्रोत

अचेल धेरै युवाहरु विदेशिने लहर चलेको छ । यसलाई उनी स्वाभाविक मान्छिन् । ‘त्यो त व्यक्तिगत रोजाइको कुरा हो’ भन्छिन्, ‘तर पनि देशमा केही हुन्छ भने यहीँ गरेको राम्रो भन्छु म चाहिँ ।’ तत्कालै ठूलो उथलपुथल नभए पनि विस्तार विस्तार स्वदेशमै सुन्दर भविष्य बनाउन सकिन्छ भन्ने लागेर नै उनी यहाँ बसेकी छिन् । ‘बाहिर जानु व्याक्गत रोजाई हो । तर नेपालमा पनि अवसर छ’, उनले थपिन् ।
यसरी भेल बाढी झैँ विदेशिएको विशाल युवा जमातका निम्ति उनी एक प्रेरणाको स्रोत पनि हुन् । बजारीकरणबारे उनको सोचाइ, अनुभव र सीपबाट धेरैले स्वदेश र विदेशका लागि राम्रो अनुभव हासिल गर्न सक्छन् ।
आफ्नो उत्पादन बेच्न ‘सेल्स पर्सन’ले कत्तिको जोडबल लाउँछ र ग्राहकलाई कसरी ‘ह्यान्डल’ गर्न सक्छ भन्ने कुराले सधैँभरी महत्व राख्ने उनको बुझाइ छ । यसका लागि आफूले बेच्न चाहेको ‘प्रडक्ट’को विषयमा पर्याप्त ज्ञान हुनु जरुरी हुन्छ भने ‘कन्भिन्स’ गराउने कौशल विक्रेताको मुख्य सीप हो ।
अहिले पनि नेपालमा कयौँ मानिसलाई विद्युतीय गाडीको फाइदाहरू थाहा छैन । इन्धन गाडीहरू धेरै वर्ष अगाडिदेखि चल्दै आएका थिए । तर विद्युतीय सवारीमा लामो अनुभव समाजसँग छैन । यस्तो बेला विद्युतीय सवारी विक्रीमा लागेका युवाहरुले त झनै बढी आफ्नो प्रडक्टको बारेमा जानकारी राख्नुपर्ने आवस्यकता भएको उनी बताउँछिन् ।
कार्यदक्षता अभिबृद्धि
लामो अनुभव, ठूलो ‘नेटवर्क’ र गज्जबको सीप हुँदा हुँदै पनि उनलाई पनि सिक्ने र सिकाउने क्रम निरन्तर जारी राख्नु नै छ । ‘हाम्रो प्रडक्ट ट्रेनिङहरू भइरहेको हुन्छ । चाइनाले धेरै सपोर्ट गर्छ’, उनी भन्छिन्, ‘कस्टमर ह्याण्डलिङ, केयरदेखि सबै कुराको ट्रेनिङ दिइरहेको हुन्छ । यहाँ आएर पनि दिइरहेका हुन्छन् । अनलाइन ट्रेनिङ हुन्छ ।’
अब उनको एउटैमात्र माग छ, ‘सरकारले विद्युतीय गाडीको सन्दर्भमा अहिले लिएको लचिलो नीतिलाई आउँदा वर्षहरुमा पनि कायम राखोस् ।’ यसले नेपालमा हरित ऊर्जाबाट चल्ने सवारी साधनको उपयोग बढाउन ठूलो मद्दत मिल्ने उनी ठान्छिन् ।
सन्दर्भः तीज

तीज एक नारी सशक्तिकरण, सौन्दर्य र नारी स्वतन्त्रताको प्रतीकका रुपमा मनाइने पर्व हो । भलै, सन्ध्या नेवार परिवारकी सदस्य भएकाले उनी यो पर्वलाई धेरै महत्वसाथ मनाउँदिनन् । तर बच्चा बेलादेखि नै यो पर्वको छाप उनीमा छ ।
‘साथीहरूको तीजको तयारी नै बेग्लै हुथ्यो । मीठामीठा परिकार बनाएर खान्थे । मलाई पनि बोलाउँथे । उनीहरूसँगै सामेल हुन्थेँ’, उनी सानो बेलाको तीज सम्झिन्छिन्, ‘भोलिपल्ट व्रत हुन्थ्यो । ऋषिपञ्चमीको दिन पनि व्रत हुन्थ्यो ।’
महिलाहरुले तीजको बेला पानी पनि नखाइ व्रत बसेको उनलाई राम्रोसँग याद छ । ‘अहिले पनि धेरै मानिस त्यसरी नै व्रत बस्नुहुन्छ,’ उनी भन्छिन्, ‘तर कतिपय कुरामा समयसँगै परिवर्तनहरु पनि देखिएका छन् ।’
अचेल एक–दुई महिना अघिदेखि नै ‘दर खाने’ र नाचगान गर्ने परिपाटी सुरु भएको छ । ठाउँठाउँमा जमघट हुने र रमाइलो गर्ने गरिएको छ । पहिले परिवारमा सीमित हुने तीज अहिले विभिन्न किसिमका साथी सञ्जाल र कार्यक्षेत्रमा पनि विस्तार भएको छ ।
यस्ता घटनाले परिवार, कार्यक्षेत्र र साथीहरुबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भूमिका खेल्ने उनी ठान्छिन् । कयौँ मानिसहरु यसरी फेरिएको संस्कृतिलाई ‘विकृति’ पनि मान्छन् । तर सन्ध्या त्यसरी सोच्दिनन् ।
‘अहिले रमाइलो गर्ने माहोल नै परिवर्तन भएको छ । कसरी रमाउने भन्ने महत्वपूर्ण हो । त्यसलाई व्यक्तिगत रूपमा लिन मिल्दैन’, उनी भन्छिन्, ‘सबैको आ–आफ्नो शैली हुन्छ । व्यक्तिगत रूपमा जो जसरी रमाउँछ, उसले त्यसैगरी मनाउने हो ।’
समयको धारासँगै बहन सिक्नुपर्ने तर्क उनको छ । ‘संस्कृति, परम्परा र मान्यता बिर्सनु हुँदैन । तर त्यसको स्वरुपहरु काल समयअनुसार परिवर्तन हुँदै जानुपर्छ’ भन्ने सोच उनीमा छ । ‘हामी आजको कुरा गरिरहेका छौँ । अव १०, २०, ३० वर्षपछि आउने पुस्ताले रमाउने तौरतरिका अझ भिन्न हुनसक्छ । त्यो बेलाको तीज अहिलेभन्दा पनि फरक देखिन सक्छ’, उनले थपिन् ।
यद्यपि, भगवान शिवजी जस्तै पतिको कामना गरेर तीज मनाउनुलाई उनी एक ‘उन्नत समाजको परिकल्पना’का रुपमा हेर्छिन् । ‘मलाई पनि शिव भगवान मन पर्छ । शिवजी जस्तै पति सबैलाई मन पर्छ’ उनी भन्छिन् ।