कार्तिकमा कालिका भगवती मन्दिरको ३५ लाख आम्दानी, खर्च र बचत कति ? « Arthapath.com
३ मंसिर २०८१, सोमबार

कार्तिकमा कालिका भगवती मन्दिरको ३५ लाख आम्दानी, खर्च र बचत कति ?



बागलुङ । कालिका भगवती मन्दिरले एक महिनामा ३५ लाख बढी आम्दानी गरेको छ । धार्मिक पर्यटक भक्तजन बढ्दै गएसंगै आम्दानी पनि बढेको हो ।

कालीका गुठी ब्यवस्थापन समितिका अनुसार कात्तिक महिनामा मात्रै ३५ लाख ३ हजार ३३२ रुपैयाँ आम्दानी भएको हो । समितिले नियमित रुपमा आफ्नो आम्दानी र खर्च मासिक रुपमा सार्वजनिक गर्दै आएको छ ।

मन्दिरमा भक्तजनहरूले समर्पण गरेको भेटीबाट २२ लाख ३५ हजार ५८५, चामल बिक्री बाट ८० हजार ५०० रुपैयाँ आम्दानी भएको छ । यस्तै, बोका मार्फत ६१ हजार ७५० रूपैयाँ, कुखुराबाट ४ हजार ८००, राँगोबाट १ हजार ८००, सटर भाडा ३ लाख १४ हजार ५४०, विवाह बाट १ हजार रुपैयाँ संकलन भएको छ ।

समितिका अध्यक्ष कुमार खड्काका अनुसार आर्थिक सहयोग १ लाख २० हजार ७०७ रूपैयाँ प्राप्त भएको जानकारी दिए । उनका अनुसार परेवा बिक्रीबाट ६ लाख ७० हजार ७५०, ब्रतबन्धबाट ६००, पण्डितबाट ११ हजार ४०० आम्दानी भएको छ ।

तर, कात्तिक महिनामा भने १६ लाख १५ हजार रुपैयाँ खर्च भएको समितिले जनाएको छ । कर्मचारीहरूको तलवमा ४ लाख ८ हजार ५०० रुपैयाँ खर्च भएको छ । पूर्वाधार विकासमा ६ लाख १० हजार ९०० खर्च भएको अध्यक्ष खड्काले जानकारी दिए ।

यस्तै, विद्युतमा ५० हजार, अतिथि सत्कारमा १ लाख ५५ हजार, उपहारमा १ लाख, पोशाकमा २६ हजार, खाद्यान्न तथा आवासमा ८५ हजार ५००, बिज्ञापनतर्फ १८ हजार ५००, सांस्कृतिक कार्यक्रममा १ लाख ६० हजार ६०० रूपैयाँ खर्च भएको छ ।
सो महिनामा खर्च कटाएर १८ लाख ८८ हजार ३ सय ३२ रूपैयाँ बचत भएको गुठीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्