नेपालीहरुको तलब तथा ज्यालादर ३.३६ प्रतिशत बढ्यो

काठमाडौं । नेपालीहरुको तलब तथा ज्याला झन्डै साढे तीन प्रतिशत वृद्धि भएको छ ।
राष्ट्र बैंकले मंगलबार प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन-असोज) सम्मको देशको वर्तमान स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा त्रैमासमा वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्क ३.३६ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्षको सोही त्रयमासमा यस्तो सूचकाङ्क ५.६५ प्रतिशतले बढेको थियो ।
तलब तथा ज्याला सूचकाङ्कको आधार वर्ष परिवर्तन गरिएको छ । आर्थिक वर्ष २०८०-८१ लाई नयाँ आधार वर्ष कायम गरी त्रैमासिक रुपमा तलब तथा ज्याला सूचकाङ्क प्रकाशित गरिएको छ । नयाँ तलब तथा ज्याला सूचकाङ्क प्रादेशिक, नेपालस्तरीय औद्योगिक वर्गीकरण र नेपालस्तरीय पेसागत वर्गीकरण या गरी तीनवटा ढाँचामा प्रकाशित गरिएको छ ।
राष्ट्र बैंकका अनुसार प्रदेशगत रुपमा समीक्षा अवधिमा कोशी प्रदेशको वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्कको बृद्धिदर १.२४ प्रतिशत छ ।
यस्तै, मधेश प्रदेशको ४.९९ प्रतिशत, बागमती प्रदेशको २.९५ प्रतिशत, गण्डकी प्रदेशको २.२६ प्रतिशत, लुम्बिनी प्रदेशको ३.६७ प्रतिशत, कर्णाली प्रदेशको ५.०३ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.४० प्रतिशत रहेको छ ।