नेपाल टेलिकमको खुद नाफा १ अर्ब ६८ करोड ११ लाख रुपैयाँले गिरावट, अन्य सूचक यस्ता छन्

काठमाडौं । नेपाल टेलिकमको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २२.२१ प्रतिशत अर्था १ अर्ब ६८ करोड ११ लाख रुपैयाँले घटेर ५ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद नाफा ७ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीका सेवा व्यापारबाट २७ अर्ब ४५ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले सेवा व्यापारबाट २६ अर्ब ८३ करोड रुपैयाँ आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी भने ५ अर्ब ४३ करोड रुपैयाँबाट घटेर ४ अर्ब २२ करोड रुपैयाँमा सीमित भएको छ ।
यस अवधिमा कम्पनीको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ र रिजर्भ कोषमा ८२ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी गत वर्ष ६७ रुपैयाँ २५ पैसा रहेकोमा यस बर्ष घटेर ५२ रुपैयाँ ३१ पैसा मा सिमित भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ६५३ रुपैयाँ १० पैसा छ ।
सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकम सामाजिक सञ्जालको प्रयोग बढ्न थालेपछि चुनौती थपिएको छ । ग्राहक बढाउने प्रतिस्पर्धा पनि खुम्चिंदै गएको छ । किनभने धेरैको हातमा मोबाइल फोन पुगिसकेको छ । जसको प्रभावस्वरुपः नाफा केही संकुचन हुनु स्वभाविक हो ।