के चिनियाँ कम्पनी कोम्याकले एयरबस र बोइङको बजार खोस्न सक्ला ? « Arthapath.com
२ असार २०७८, बुधबार

के चिनियाँ कम्पनी कोम्याकले एयरबस र बोइङको बजार खोस्न सक्ला ?



काठमाडौं । १३ वर्षअघि स्थापना भएको चिनियाँ कम्पनी ‘द कमर्शियल एयरक्राफ्ट कर्पोरेशन अफ चाइना (कोम्याक)’ ले रुसी हवाइजहाज निर्मातासँग मिलेर ठूला विमानको उत्पादन थालेपछि संसारभर यसले चर्चा पाएको छ ।

नेपाल एयरलाइन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत सुगतरत्न कंसाकारले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उड्डयनको दुनियामा ठूला जेट विमान उत्पादन गर्ने दुईवटा मात्र कम्पनी भइरहेकोमा ८-९ वर्षपछि तेस्रो प्रतिस्पर्धीका रुपमा चीनको कोम्याक देखापर्ने अनुमान गरिएको छ ।’

कंसाकारको यो भनाइको आधार थियो, गएको माघमा एयरबसका सीईओ गिलौम फौरीले दिएको अभिव्यक्ति । उनले त्यसबखत प्रमाणिकरणको प्रक्रियामा रहेको ‘सी९१९’ जहाजलाई आफूहरुको ‘न्यारोबडी’ परिवारमा प्रतिस्पर्धा थपिएको बताएका थिए ।

फौरीले भनेका थिए, ‘कोम्याकका सामु अझै कयौं चूनौति छन् । यसकारण अहिले नै उसले एयरबस र बोइङको ब्यापारमा कुन हदसम्म प्रतिस्पर्धा गर्न सक्छ भन्ने अनुमान लगाउन शीघ्रता हुनसक्छ । तर हामी यस घटनालाई गम्भिरतासाथ हेरिरहेका छौं ।’ त्यसयता कोम्याकलाई संसारका ठूला विमान उत्पादकको प्रतिस्पर्धीका रुपमा हेर्न थालिएको छ ।

तथापि, उड्डयन बजारका धेरैजसो जानकारहरु अहिले पनि कोम्याकलाई ठूला विमान उत्पादकको प्रतिस्पर्धीका रुपमा देखिहाल्न चाहेका छैनन् । विमान बजारमा दुनियाँको विस्वास जित्न निकै कठीन पर्ने धेरैको बुझाइ छ । यसअघि पनि थुप्रै कम्पनीले उड्डयन बजारमा प्रतिस्पर्धा गर्ने कोसिस गरेका थिए । तर तिनीहरु आम विश्वास जित्नमा सफल हुन सकेका छैनन् ।

तर पछिल्लो चिनियाँ प्रयासलाई भने ठूला कम्पनीहरुले पनि महत्वका साथ हेरिरहको बताएका छन् । चीन र रुसको संयुक्त यो प्रयासले भने हवाइजहाजको बजारलाई प्रभावित पार्नसक्ने आँकलन हुन थालेको छ । खासगरी चीनले गरिब मुलुकहरुमा विस्तार गरेको ऋण कूटनीतिको साम्राज्यमा उसका विमानहरु बेच्न सक्ने आँकलन हुन थालेको छ । यसबाट परम्परागत ठूला कम्पनीहरु दबाबमा आएको अन्तरराष्ट्रिय समाचार माध्ययमले उल्लेख गरेका छन् ।

अहिले बनाएको ‘सी९१९’ ले एयरबसको ‘ए३२० नियो’ र बोइङको ‘७३७ म्याक्स’सँग खासै प्रतिस्पर्धा गरिहाल्ने अवस्था छैन । तर विस्तारै कोम्याकले चीन बाहिरको बजारमा प्रवेश पाउन सक्छ । हवाइ उद्योगमा विस्वसनीयता सबैभन्दा ज्यादा महत्वपूणर् हुन्छ । पछिल्लो समय सूचना प्रविधिमा विश्व बजारको हिस्सेदारी खोसिरहेको चीनले उड्डयन क्षेत्रमा आप्mनो राज स्थापित गर्न सक्छ की सक्दैन भन्ने हेर्न अझै केही वर्ष कुर्नु पर्ने छ ।

यी हुन् विमान बजारका प्रतिस्पर्धी

हाललाई संसारमा व्यवसायिक हवाइजहाजको बजार बोइङ र एयरबसकै हातमा छ । बोइङको ‘सेभेन’ सिरिज र एयरबसको ‘ए’ सिरिजका जहाजहरु संसारभर उडिरहेका छन् । न्यारोबडी, वाइड बडी र जम्बो जेटको विश्व बजार हिस्सामा उनीहरुको एकाधिकारजस्तै छ । जबकी, चीनमात्र होइन क्यानडा, ब्राजिल, रुस, जापान र नेदरल्याण्ड्सजस्ता मुलुकले पनि निकै स्तरीय उड्डयन प्रविधी विकास गरेका छन् ।

एयरबस र बोइङलाई छाड्ने हो भने क्यानडाको बोम्बार्डियर एयरोस्पेस कम्पनी र ब्राजिलको एम्ब्राएर कम्पनी पनि संसारका प्रमुख हवाइजहाज उत्पादकमा पर्छन् । यी कम्पनीहरु क्षेत्रीय बजारमा उदीयमान छन् । उनीहरुले अहिलसम्म तुलनात्मक रुपमा साना र सस्ता जहाजहरु उत्पादन गरिरहेका छन् ।

विश्व बजारमा तत्काल नयाँ कम्पनीलाई प्रतिस्पर्धा गर्न कठीन पर्ने भए पनि क्षेत्रीय स्तरमा भने अन्यत्र पनि उड्डयन उद्योगको विकासमा थुप्रै काम भएका छन् । हाललाई चिनिया कोम्याक, जापानको मित्सुविशी र रुसको युनाइडेड एयरक्राफ्ट कर्पोरेशन (यूएसी) ‘ठूला चार’भन्दा पछाडि छन् ।

सैन्य विमानको बजार पनि धेरै हदसम्म यिनै दुई ठूला कम्पनीको हातमा छ । तर लकहीड मार्टिन र युनाइटेड टेक्नोलोजिजजस्ता अमेरिकी कम्पनीले मूलतः अमेरिकामा लडाकु विमानको उत्पादन बढाउँदै लगेका छन् । जस कारण बोइङ र एयरबसजस्ता कम्पनीलाई वैकल्पिक बजारमा पनि प्रतिस्पर्धा गर्नुपर्ने अवस्था निम्तिएको छ ।

कसरी फेरिएला विमान बजारको हिस्सेदारी ?

अहिले पनि बोइङको आधाभन्दा बढी र एयरबसको तीन चौथाइ आम्दानी व्यवसायिक विमानको उत्पादनमै निर्भर छ । यसको अर्थ कोम्याकले अन्तरराष्ट्रिय उड्डयन बजारको विस्वास जित्न सके यी चल्तिका ठूला कम्पनीको बजार खुम्चनसक्ने संभावना छ ।

‘फ्याक्ट्स एण्ड फ्याक्टर्स’ नामक संस्थाले गत माघमै प्रकाशन गरेको एउटा प्रतिवेदनले सन् २०२६ सम्म विश्वब्यापी हवाइजहाज उत्पादनको बजार ८ खर्ब ५० अर्ब अमेरिकी डलर पुग्नसक्ने प्रक्षपण गरेको छ । सन् २०१९ मा हवाइ उत्पादन उद्योगको अर्थतन्त्र ५ खर्ब ५० अर्ब अमेरिकी डलर बराबर रहेको उक्त प्रतिवेदनमा भनिएको छ ।

तर यो आँकडा विमानमात्र नभएर सबै किसिमका हवाइ उपकरणहरुको हो । यसमा ग्लिडर, हेलिकप्टर, अल्ट्रालाइट एयरक्राफ्ट, प्यासेञ्जर एयरक्राफ्ट, एयरशीप, ड्रोन र अन्य हवाइउपकरण समावेश छन् ।

उक्त प्रतिवेदनले हवाइ उद्योगमा हालका कम्पनीहरुको बजार हिस्सा बदलिनसक्ने बताएको छ । प्रतिवेदनमा एयरबस र बोइङपछि बोम्बार्डियर, एम्ब्राएर, युनाइटेड एयरक्राफ्ट र कोम्याकमात्र होइन, अमेरिकी कम्पनी हनीवेल, फ्रान्सेली कम्पनी सफ्रानजस्ता साना संस्थाले पनि बजारको आकार बढाउने उल्लेख छ ।

यसबाहेक अमेरिकी कम्पनीहरु सेसना, पियाजियो, हकर बीचक्राफ्ट, गल्फस्ट्रीम एयरोस्पेस तथा स्वीस कम्पनी पिलाटस र फ्रेञ्च कम्पनी ड्यास्सोजस्ता हवाइजहाज उत्पादकहरु बजार प्रतिस्पर्धामा अझ खरो उत्रिन सक्ने उल्लेख छ । हवाइ इञ्जिन र पार्टपूर्जा उत्पादनमा भने युनाइटेड टेक्नोलोजिज कर्पोरेशन र जेनेरल इलेक्ट्रिक्सजस्ता अमेरिकी कम्पनीले नै मुख्य बजार हिस्सा पाइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्