फिल्म हल बन्द भएपछि इण्टरनेट चहार्नेको संख्यामा भारी बृद्धि, नेटफ्लिक्सको आम्दानी हालसम्मकै उच्च « Arthapath.com
७ श्रावण २०७८, बिहीबार

फिल्म हल बन्द भएपछि इण्टरनेट चहार्नेको संख्यामा भारी बृद्धि, नेटफ्लिक्सको आम्दानी हालसम्मकै उच्च



काठमाडौं । कोरोना महामारी बढेसँगै संसारभरका फिल्म हलहरू बन्द भएपछि इण्टरनेटमा सिनेमा हेर्नेको संख्या ह्वात्तै बढेको छ । यसको एउटा प्रमाण हो, अमेरिकी स्ट्रिमिङ सेवा नेटफ्लिक्सको कीर्तिमानी ब्यापार । नेटफ्लिक्सले सन् २०२१ को दोस्रो त्रैमासमा अहिलेसम्मकै उच्च आम्दानी गरेको छ ।

गत वर्षदेखि कोरोना भाइरस महामारीका कारण सिनेमा हलहरु बन्द भएसँगै नेपालका शहरी क्षेत्रमा पनि नेटफ्लिक्सप्रति धेरै मानिसहरू आकर्षित भएका थिए । जसका कारण काठमाडौं, पोखरा र अन्य प्रमुख शहरमा यसको प्रयोग फस्टाएको थियो ।

दोस्रो त्रैमासमा मात्रै कम्पनीको आम्दानी ७ अर्ब ३० करोड अमेरिकी डलर नाघेको समाचारहरूमा जनाइएको छ । यो गत वर्षको भन्दा १९ प्रतिशत धेरै हो । यसमध्ये १ अर्ब ३० करोड डलर कम्पनीले खूद मुनाफा कमाएको छ । तीन महिनामै यति धेरै नाफा कमाए पनि कम्पनीको नयाँ ग्राहक थपिने सिलसिला भने पछिल्ला महिनामा कम भएको छ ।

पछिल्लो तीन महिनामा कम्पनीको सब्सक्रिप्शन त्यसअघिको त्रैमासहरूको तुलनामा घटेको छ । हालैका महिनामा १५ लाखले नेटफ्लिक्स सब्सक्राइब गरेका छन् । योसँगै विश्वभर नेटफ्लिक्सको सब्सक्रिप्शन संख्या २० करोड ९० लाख पुगेको कम्पनीले जनाएको छ ।

नयाँ सब्सक्राइबर संख्यामा भएको यो वृद्धि कम्पनीको आफ्नै अनुमानभन्दां धेरै भएपनि अघिल्ला त्रैमासहरूको तुलनामा चाहीं कम हो । अमेरिका र विश्वका अन्य हिस्सामा पनि कोरोना भाइरस विरोधी खोप कार्यक्रम अगाडि बढेसँगै विद्यालय र कार्यालयहरू खुल्ने क्रम बढ्दा सब्सक्राइबर संख्याको बढोत्तरी केही सुस्ताएको छ ।

सिनेमा लगायतका हालका प्रडक्ट एउटा चरममा पुग्न थालेपछि कम्पनीले भिडियो गेम व्यवसायमा प्रवेश गर्ने घोषणा गरेको छ । यसले कम्पनीको व्यवसायिक विस्तारमा मद्दत गर्छ कि गर्दैन भनेर विश्लेषकहरूले हेरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्