सामाजिक सञ्जाल व्यवस्थापनका सम्बन्धमा काउन्सिललाई विज्ञको सुझाव « Arthapath.com
२४ माघ २०७८, सोमबार

सामाजिक सञ्जाल व्यवस्थापनका सम्बन्धमा काउन्सिललाई विज्ञको सुझाव



काठमाडौ । युट्युब, फेसबुक लगायत सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्री र यस्को नियमन तथा व्यवस्थापन सम्बन्धी विज्ञसँग भएको छलफलमा राज्यको नियामक निकाय काउन्सिललाई थप सशक्त र सक्रिय बनाउनुपर्ने सहभागीले सुझाव दिएका छन् । प्रेस काउन्सिल नेपालको आयोजनामा आज भएको कार्यक्रममा सम्बद्ध विज्ञ र जानकारहरूले नियमन र निर्देशनसँगै मिडियालाई जिम्मेवार बनाउनुपर्ने बताएका हुन् ।

हाम्राकुरा डटकमका पत्रकार माधव चौलागाईँले सोसल मिडियालाई जिम्मेवारी बोध गराउनुपर्ने भन्दै काउन्सिलको पहिलो प्राथमिकता यस विषयमा जनचेतना फैलाउनु भएको बताए ।

विज्ञ उज्वल आचार्यले कसैको घरभित्र पसेर व्यक्तिगत कुरा सार्वजनिक गर्नु पत्रकारिताको नैतिकताभित्र नपर्ने बताए । उनले मिडिया र सोसल मिडियाको समस्या फरक भएकाले नियामक नियकायहरूबिच सहकार्य हुनु आवश्यक भएको बताए ।

अधिवक्ता बाबुराम अर्यालले सोसल मिडिया र मिडियामा भिन्नता रहेको भन्दै अनुमतिबेगर खिचिएको भिडियो, यौनजन्य भिडियोलगायतका सामग्री पत्रकारिताको मान्यताभित्र नपर्ने स्पष्ठ पारे । काउन्सिलले सैद्घान्तिकरूपमा प्रष्ट भएर आ–आफ्नो कर्तव्य अघि बढाउन उनले सुझाव दिएका छन् ।

पत्रकार एवं सूचना प्रविधि विज्ञ विनोद भट्टराईले सञ्चारकर्मी र पत्रकार फरक भएको भन्दै काउन्सिलको भूमिकाबारे प्रष्ट हुनुपर्ने बताए । पत्रकारिताको न्यूनतम मूल्यमान्यता कायम राख्नकै लागि भएपनि सामाजिक सञ्जालबाट दिइने सामग्रीको अध्ययन हुनुपर्ने उनको भनाइ थियो ।

आइटी विज्ञ बिरोध /ईन्जिनियर रिजालले इन्टरनेटको प्रयोगबाट विभिन्न एप्स र सञ्जालमा आउने अडियो÷भिडियो पत्रकारिताभित्र नपर्ने उल्लेख गरेका छन् । सामाजिक सञ्जालको आफ्नै मुल्य/मान्यता हुने भएकाले कुन कन्टेनमा रिपोटिङ्ग गर्ने भन्ने विषयले अर्थ लाग्ने उनले बताए ।

पत्रकार घन्नेद्र ओझाले कसैको घरभित्र पसेर व्यक्तिगत कुरा सार्वजनिक गर्नु पत्रकारिताको नैतिकताभित्र नपर्ने भन्दै काउन्सिलले सामाजिक सञ्जालालई हेर्नु नपर्ने बताए । कसैले सञ्जालबाट गलत गरेमा सोहि सञ्जालबाट बहिस्कृत हुने भन्दै उहाँले काउन्सिलले सञ्चारजगतलाई हेर्नुपर्ने बताए ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सोसल मिडियाबाट आउने अडियो–भिडियो सामग्रीहरूमा पत्रकारिता भए/नभएकोबारे बुझ्न र काउन्सिललाई सुझाव दिन छलफल राखिएको बताए । इन्टरनेटबाट दिइने सामग्रीलाई कसरी व्यवस्थित गराउने भन्ने सम्बन्धमा काउन्सिल गभ्मीर भएको भन्दै उहाँले सल्लाह, सुझावलाई ग्रहण गर्दै राज्यका निकायसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।

बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासेले पत्रकार र मिडिया के हो भन्ने बुझ्न आवश्यक भएको भन्दै सोसल मिडियाबाट पत्रकारिताको नाममा गरिदैँ आएका अभ्यासकोसमीक्षा गर्ने समय आएको बताए । भावनाको व्यापार पत्रकारिताभित्र नपर्ने भन्दै स्वतन्त्रताको उपभोगसँगै कर्तव्य पालना गर्नुपर्ने उनको भनाइ थियो ।

बोर्ड सदस्य शरदप्रसाद अधिकारीले काउन्सिलले आचारसंहिताको परिधिभित्र रहेर स्वस्थ पत्रकारिताको विकासको लागि मिडियालाई नियमन र निर्देशन गर्ने गरेको बताए ।

मुख्य अधिकृत झबिन्द्र भुसालले प्रविधिको विकाससँगै पत्रकारिताको क्षेत्र पनि फराकिलो बन्दै गएकाले समस्याहरू बढेको बताए । उनले सामाजिक सञ्जाललगायत इन्टरनेटका माध्यमबाट प्रकासन हुने सामग्रीलाई पत्रकारिता भनेर अङ्गिकार गर्ने वा नगर्ने भन्ने विषयमा अन्यौलता रहेको बताए ।

वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले सहभागीबाट आएका सल्लाह र सुझावबाट ‘अनलाइन टिभी. (युट्युबलगायत सामाजिक सञ्जाल) र अनलाइन मिडियालाई व्यवस्थित गर्ने’ विषयमा गृहकार्य गर्न सहज हुने बताए ।

उप–प्रशासकीय अधिकृत रामशरण बोहराले सामाजिक सञ्जालका नाममा बढ्दो बेथिति रोक्न काउन्सिलले प्रयास गरेको बताए । समाचार तथा तस्बिरः प्रेस काउन्सिल


प्रतिक्रिया दिनुहोस्