नेपाल टेलिकमका शेयरधनीहरु मालामाल, आजदेखि नै लाभांश वितरण गर्ने « Arthapath.com
२४ चैत्र २०७८, बिहीबार

नेपाल टेलिकमका शेयरधनीहरु मालामाल, आजदेखि नै लाभांश वितरण गर्ने



काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को आफ्नो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको १४ औं वार्षिक साधारण सभा चैत २४ गते बिहिबार त्रिभुवन आर्मि अफिसर्स क्लब काठमांडौमा सम्पन्न भएको हो ।

टेलिकमको उक्त सभाले कम्पनीको आर्थिक वर्ष २०७७–७८ को नाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ २० प्रतिशत नगद लाभांश गरी कूल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७७–७८ को मुनाफा रकम मध्येबाट कम्पनीका शेयरधनीहरुलाई प्रत्येक १०० कित्ता शेयर बराबर २० कित्ताको अनुपातमा बोनस शेयर र प्रतिशेयर २० रुपैयाँका दरले नगद लाभांश वितरण गरी कम्पनीको जारी तथा चुक्ता पुँजी १८ अर्ब पुर्याउने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७७–७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक बर्ष २०७७–७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने र लेखा परीक्षण ऐन, २०७५ को दफा ११ मा भएको व्यवस्था अनुसार महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५ ९घ० को प्रावधान अनुरूप कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७८–७९ का लागि कम्पनीको लेखा परीक्षक नियुक्त गर्ने तथा निजहरूको पारिश्रमिक निर्धारण गर्ने तथा नियुक्तिका अन्य सर्तहरू निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको नियमावलीको नियम १६ सँग सम्बन्धित अनुसूची १ मा संशोधन गर्ने र २० प्रतिशत बोनस शेयर वितरणपश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी १८ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको हो ।

चौधौं साधारण सभाले पारित गरे बमोजिमको लाभांश रकम आजदेखि शेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्