८५ दिनमा छ अर्ब कमाएपछि थप बिजुली निर्यात गर्दै प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्ला ८५ दिनमा मात्रै झण्डै छ अर्ब बराबरको बिजुली भारत निर्यात भएको छ । हाल दैनिक रुपमा नै कूल तीन सय ६४ मेगावाट बराबरको बिजुली निर्यात भइरहेको छ । थप छ सय मेगावाट बिजुली निर्यातका लागि प्राधिकरणले पहल गरिरहेको छ । माथिल्लो तामाकोसीको चार सय ५६ मेगावाट र अन्य आयोजनाको एक सय १० मेगावाट बिजुलीसमेत भारत निर्यातका लागि तयारी भइरहेको छ ।
भारतीय पक्षसँग निरन्तर संवाद भइरहेको र छिट्टै निष्कर्ष निस्कने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । प्राधिकरणले चालू आवमा मात्रै १६ अर्ब बराबरको बिजुली निर्यात हुने प्रक्षेपण गरेको छ । थप बिजुली निर्यात भएको अवस्थामा आम्दानीमा समेत वृद्धि हुनेछ । आगामी दुई वर्षपछि मुलुक पूर्णरुपमा बिजुली निर्यात गर्ने देशका रुपमा परिणत हुने कार्यकारी निर्देशक घिसिङको भनाइ छ । “आगामी हिउँदमा समेत केही मात्रामा बिजुली आयात गर्नुपर्ने हुनसक्छ, तर त्यसको मात्रा असाध्यै न्यून हुनेछ, आगामी वर्षदेखि भने हामी आयात शून्यमा झारेर निर्यात मात्रै गर्नेछाँै”, कार्यकारी निर्देशक घिसिङले भने ।
गत वर्षको लक्ष्मीपूजाको दिनदेखि प्राधिकरणले नुवाकोटमा आयोजनास्थल रहेका दुई आयोजनाको ३९ मेगावाट बिजुली भारत निर्यात सुरु भएको हो । गत जेठको १५ गतेदेखि पुनः बिजुली निर्यात सुरु भएको र जेठ २७ गतेदेखि भारतको ऊर्जा एक्सचेञ्ज मार्केटमा समेत निर्यात शुरु भएको छ । चालु आवको साउन महिनामा मात्रै झण्डै रु दुई अर्ब बराबरको बिजुली निर्यात भएको छ । वर्षात्को मौसममा भारतमा गर्मी बढी हुने भएकाले बिजुलीको माग बढी हुने र सोहीअनुसार भाउ पनि पाएको उनको भनाइ छ । प्राधिकरणले बढी माग हुने समयमा प्रतियुनिट १९ रुपैयाँ २० पैसासम्म मूल्य पाएको छ । यो आन्तरिक बजारको तुलनामा धेरै बढी हो । आन्तरिक रुपमा खपत भएर बाँकी रहेको बिजुली निर्यात गर्दा त्यसबाट प्राधिकरणको आर्थिक स्वास्थ्यमा मात्रै सकारात्मक प्रभाव परेको छैन, मुलुकको आर्थिक उन्नयनमा समेत योगदान पुगेको छ ।
गत आर्थिक वर्षमा मात्रै प्रणालीमा थप सात सय ४१ मेगावाट बिजुली थप भएको छ । चालु आवमा झण्डै एक हजार मेगावाट क्षमतामा बिजुली थप हुने विद्युत् विकास विभागका महानिर्देशक सञ्जिव देवको भनाइ छ । मुलुकको कूल जडित क्षमता दुई हजार दुई सय ६९ मेगावाट बराबर पुगेको छ । उता न्यू–बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि बोलपत्र भइसकेको जानकारी दिँदै उहाँले आगामी दुई वर्षभित्र सो लाइनसमेत निर्माण भइसक्ने उल्लेख गरे । सो प्रसारण लाइन निर्माणका लागि पावर ग्रिड इण्डियाले जिम्मा लिएको छ । त्यसमा प्राधिकरण र भारतीय पक्षको समान लगानी रहनेछ । कूल एक सय ४० किलोमिटर हुने भनिएको सो लाइनको लम्बाइसमेत घटेको छ । त्यस आधारमा लगानी पनि रु एक अर्ब कम लाग्ने देखिएको छ ।
नेपालतर्फको अमेरिकी सहयोग परियोजनाले निर्माण गर्ने भनिएको स्थानमा समेत १८ किलोमिटर प्रसारण लाइन प्राधिकरण आफँैले निर्माण गर्ने भएको छ । भारततर्फको कूल एक सय २० किलोमिटरमध्ये ९६ किलोमिटर मात्रै निर्माण हुने भएको छ । लम्की–बरेली र इनरुवा–पूर्णिया अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि पनि प्रक्रिया सुरु गरिने भएको छ । ती दुवै प्रसारण लाइन चार सय केभी क्षमताका छन् । आन्तरिकरुपमा आयोजना निर्माण सम्पन्न हुँदै जाँदा प्रसारण लाइन तयार भइसक्ने कार्यकारी निर्देशक घिसिङको भनाइ छ । हाल देशभर ९५ प्रतिशत घरधुरीमा केन्द्रीय प्रणालीको बिजुली पुगेको उनले जानकारी दिए । सरकारको निरन्तरको प्रयास र प्राधिकरणको सकारात्मक योजना र पहलका कारण चार वर्षअघि ६२ प्रतिशत घरधुरीमा मात्रै बिजुली पुगेको भए पनि हाल त्यो बढेर ९५ प्रतिशत पुग्नु आफैँमा महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ ।
प्राधिकरणले बिजुली नपुगेका दुर्गम स्थानका लागि बोलपत्रसमेत गरिसकेकाले आगामी दुई वर्षभित्र शतप्रतिशत घरधुरीमा बिजुली पुग्नेछ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ५० हजार घरधुरीमा उज्यालो पु¥याउनेछ । आन्तरिकरुपमा पनि बिजुली खपतको मात्रामा २५ प्रतिशतले वृद्धि भएको उहाँको भनाइ छ । हरेक वर्ष बिजुलीको खपतमा वृद्धि भएको र त्यो निरन्तररुपमा अगाडि बढ्ने क्रममा नै रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । देशभित्रै बिजुली खपतका लागि विद्युतीय चुल्होको प्रवद्र्धन तथा विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेशन निर्माणलाई पनि प्राथमिकतामा राखेर अगाडि बढाइएको उनको भनाइ छ । प्राधिकरणले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग मिलेर चार्जिङ स्टेशन र विद्युतीय चुल्हो प्रयोगको अभियान नै सञ्चालन गर्ने भएको छ ।