पुँजी बजारमा सेन्ट्रल डिजीटल केवाईसी लागू गर्ने तयारी अन्तिम चरणमा, सेवा शूल्क पनि निर्धारण हुँदै « Arthapath.com
२३ फाल्गुन २०७९, मंगलवार

पुँजी बजारमा सेन्ट्रल डिजीटल केवाईसी लागू गर्ने तयारी अन्तिम चरणमा, सेवा शूल्क पनि निर्धारण हुँदै



काठमाडौं । नेपाली पुँजी बजारमा सेन्ट्रल डिजीटल केवाईसी (केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण) लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

पुँजी बजारमा राफसाफ तथा विद्युतीय सेवा प्रदान गर्दै आएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सेन्ट्रल डिजीटल केवाईसी लागू गर्ने तयारी अन्तिम चरणमा पुर्याएको हो ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन)ले २०७७ मा एक निर्देशिका जारी गर्दै सीडीएस एन्ड क्लियरिङलाई सेन्ट्रल डिजीटल केवाईसी लागू गर्न निर्देशन दिएको थियो ।

सीडीएस एन्ड क्लियरिङले सोही निर्देशिका अन्तर्गत सेन्ट्रल डिजीटल केवाईसी लागू गर्ने प्रक्रिया अघि बढाएको थियो । सीडीएस एन्ड क्लियरिङका प्रवक्ता सुरेश न्यौपानले सेन्ट्रल डिजीटल केवाईसी लागू गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।

हाल ब्रोकर कम्पनी, मर्चेन्ट बैंकर लगायतका पुँजी बजार सम्बन्धी सेवा दिने संस्थाहरुले ग्राहकको विवरण डिजीटल तथा कागजी रुपमा नै संकलन गरेका छन्, तर त्यो केन्द्रीकृत छैन । ग्राहकले एउटा संस्थामा आफ्नो व्यक्तिगत विवरण बुझाएपछि अर्काे संस्थामा समेत बुझाउनुपर्ने बाध्यता छ । ग्राहकले डिम्याट खाता खोलेपछि मेरो शेयर खाता, ब्रोकर आईडी लगायतका खाता खोल्दा पनि केवाईसी भर्नुपर्ने बाध्यता छ । यसरी लगानीकर्तालाई धेरै ठाउँमा केवाईसी भर्नुपर्दा झन्झट भइरहेको छ । साथै, खर्च पनि उत्तिकै मात्रामा भइरहेको छ । सोही अवस्थालाई दृष्टिगत गर्दै पुँजी बजार भित्रको कुनै एक निकाय तथा संस्थामा केवाईसी भरेपछि अर्काे ठाउँमा केवाईसी भर्न नपर्ने गरि नयाँ प्रविधि ल्याउन लागिएको प्रवक्ता न्यौपानेको भनाई छ ।

हाल केही ब्रोकर कम्पनी तथा मर्चेन्ट बैंकरहरुमा सेन्ट्रल डिजीटल केवाईसीको परिक्षण समेत भइरहेको प्रवक्ता न्यौपानेले जानकारी दिए । उनले भने,–‘अहिले केही संस्थाहरुमा सेन्ट्रल डिजीटल केवाईसीको परिक्षण गरिरहेका छौं । त्यसको नतिजा पनि राम्रो आइरहेको छ ।’

उनका अनुसार बाँकी तयारीको पुरा गरेर २/३ महिना भित्रनै लागू गरिने तयारी छ । लागू भएपछि ग्राहकलाई समेत धेरै सजिलो हुने र यसको सिस्टमबाट ग्राहकको विवरण समयअनुसार अपटेड पनि गर्न सकिने उनको भनाई ।

सेन्ट्रल डिजीटल केवाईसीको सिस्टम (सफ्ट्वेयर) लाई सुचना प्रविधि विभागबाट स्वीकृत गर्नुपर्ने हुन्छ । सुरक्षा, साइवर सेक्युरीटी, गोपनीयता नीति लगायतका बिषयमा केन्द्रीत रहेर बिभागबाट यसको सिस्टमलाई स्वीकृत गनुपर्ने हुन्छ, त्यसको प्रक्रिया समेत अघि बढाई सकेको सीडीएससीको भनाइ छ ।

प्रवक्ता न्यौपानेले भने,–‘सेन्ट्रल डिजीटल केवाईसीमा ग्राहकबाट लिइने सेवा शूल्क पनि निर्धारण भइसकेको छैन । त्यसका लागि पनि नेपाल धितोपत्र बोर्ड, ब्रोकर कम्पनी, मर्चेन्ट बैंकर, लगानीकर्ता लगायतका सरोकारवालाहरुसँग छलफल भइरहेको र छलफलमार्फत सेवा शुल्कको टुंगो लाग्नेछ ।’


प्रतिक्रिया दिनुहोस्