डिजीटल कारोबारमा फड्को, मोबाइल बैंकिङ्ग र क्यूआर कोड मार्फत हुने भुक्तानी ह्वात्तै बढ्यो « Arthapath.com
२ आश्विन २०८०, मंगलवार

डिजीटल कारोबारमा फड्को, मोबाइल बैंकिङ्ग र क्यूआर कोड मार्फत हुने भुक्तानी ह्वात्तै बढ्यो



काठमाडौं । पछिल्लो समय डिजीटल भुक्तानी र कारोबार ह्वात्तै बढेको छ । विशेषगरि मोबाइल बैंकिङ्ग र क्यूआर कोड मार्फत हुने कारोबार बढेको हो ।

नगदरहित कारोबारका लागि उपयुक्त माध्यम मानिने मोबाइल बैंकिङ्ग र क्यूआर कोड पेमेन्ट व्यापाक रुपमा विस्तार भएको छ । एक महिनामै यी माध्यमबाट साढे २ खर्बको रुपैयाँ बराबरको भुक्तानी तथा कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कारोबारसंगै प्रयोगकर्ताको संख्या पनि उत्तिकै बढेका छन् ।

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना अर्थात् साउनमा मोबाइल बैंकिङ्ग र क्यूआर कोड मार्फत २ खर्ब ७२ अर्ब ९१ करोड १० लाख रुपैयाँ बढीको कारोबार भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ६३.०५ प्रतिशतले बढी हो । गत वर्षको साउनमा भने १ खर्ब ६७ अर्ब ३७ करोड ८० लाख रुपैयाँ बढीको कारोबार मोबाइल बैंकिङ्ग र क्यूआर कोड मार्फत भएको थियो ।

पछिल्लो समय सानातिना किनमेललाई क्यूआर कोडमार्फत डिजिटल भुक्तानीको दायरामा ल्याउने विषयमा उल्लेख्य प्रगति भएको राष्ट्र बैंकले जनाएको छ। नेपालमा पछिल्लो समय विद्युतीय भुक्तानीमा बढ्दो आकर्षण छ । राष्ट्र बैंकका अनुसार डिजीटल कारोबार र भुक्तानी दुवै उल्लेख्य रुपमा अघि बढेको हो ।

डिजीटल कारोबारलाई राष्ट्र बैंकले पनि बढवा दिँदै आएको छ । नेपालमा कोरोना महामारीपछि नै मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र क्यूआर कोड पेमेमेन्ट तर्फ प्रयोगकर्ताहरुको आकर्षण बढेको राष्ट्र बैंकले जनाएको छ । मोबाइल बैंकिङ्ग मार्फत एकबाट अर्को बैङ्क खातामा रकम जम्मा गर्ने, पानी/बिजुली/इन्टरनेटको बिल भुक्तानी गर्ने, रिचार्ज गर्न सजिलै सकिन्छ । यसका साथै हवाई टिकट काट्ने, बीमाशुल्क भुक्तानी, क्युआर कोडमार्फत पनि भुक्तानी गर्ने लगायत थुप्रै सुविधा हुन्छन् ।

विशेषगरि मोबाइल बैंकिङ्ग र क्यूआर कोडमा सर्वसाधारणको बढी आर्कषण देखिन्छ । साउनमा मोबाइल बैंकिङ्ग मार्फत २ खर्ब ४२ अर्ब ९१ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको छ । सो अवधिसम्ममा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुको संख्या २ करोड १६ लाख ९१ हजार ४७४ पुगेको छ । गत वर्षको साउनसम्म भने मोबाइल बैंकिङ्गको प्रयोगकर्ता १ करोड ८६ लाख ४३ हजार ८३४ मात्रै थिए ।

यता, साउनमा मात्रै क्यूआर कोड मार्फत २९ अर्ब ९९ करोड ६० लाख बढीको भुक्तानी भएको छ । सो महिनामा १ करोड १२ लाख ५७ हजार ३८८ पटक क्यूआर कोड मार्फत भुक्तानी भएका हो । गत वर्षको साउनमा भने १४ अर्ब ८१ करोड रुपैयाँ बराबरको मात्रै भएको थियो । साउनमा वालेट मार्फत २१ अर्ब ९१ करोड, इन्टरनेट बैंकिङ्ग मार्फत १४ अर्ब ६४ करोड र कनेक्ट आइपीएस मार्फत ३ खर्ब ७७ अर्ब ४६ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ ।

प्रविधिको विकाससँगै सरकारले कागजी नोटको प्रयोग घटाउँदै डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्ने नीति लिँदै आएको छ । राष्ट्र बैंकले समेत क्युआर पेमेन्टलाई प्राथमिकतामा राखी बैंक तथा वित्तीय संस्थासँग समन्वयमा ‘नगदरहित’ कारोबार अभियान नै चलाईरहेको छ । बैंकहरुले पनि डिजीटल भुक्तानीमा एकदमै जोड दिँदै आएका छन् । फलस्वरुप: यस तर्फ आम मानिसको चासो र आकर्षण वृद्धि भएको छ । यसले गर्दा नै विद्युतीय माध्यमबाट हुने कारोबार र प्रयोगकर्ताको संख्या बढ्दै गएको हो ।

राष्ट्र बैंकका अनुसार पछिल्लो समय नगदसहित आरजिटिएस, एटिएम र डिजिटल कारोबारका लागि कनेट आइपिएस, इ–कर्मश, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट, क्यूआर पेमेन्ट, पोन्ट अफ सेल्स (पिएसओ) का प्रयोगकर्ता बढेका छन् ।

डिजिटल कारोबार मार्फत एक बैंकबाट अर्को बैंकको खातामा रकम पठाउने, आफूलाई आवश्यक वस्तुहरुको किनमेल, टेलिफोन, विद्युत, खानेपानी लगायतको बिल भुक्तानी गर्ने, मोबाइल, टेलिफोन रिचार्ज गर्ने लगायतको काम गर्न सकिन्छ । त्यसैले पनि यसतर्फ मानिसहरुको आकर्षण दिनानुदिन बढ्दै गएको छ ।


प्रतिक्रिया दिनुहोस्