आपतकालीन सेवाका लागि एकीकृत प्रणाली विकास गरिने, गृह मन्त्रालयद्वार कार्यदल गठन « Arthapath.com
२४ माघ २०८०, बुधबार

आपतकालीन सेवाका लागि एकीकृत प्रणाली विकास गरिने, गृह मन्त्रालयद्वार कार्यदल गठन



काठमाडौं। अफ्ठेरोमा परेका व्यक्तिले आवश्यक आपतकालीन सेवा लिन सक्ने गरी एकीकृत प्रणाली विकास गरिने भएको छ। समस्यामा फसेका व्यक्तिले आफूसँग भएको मोवाईल वा टेलिफोनबाट सूचना पठाएपछि सो सूचना केन्द्रीय प्रणालीमा पुग्छ । त्यसपछि सो व्यक्तिले विशेष सुविधा लिन सक्ने व्यवस्था गर्न लागिएको हो ।

सो प्रणाली अन्तरगत एम्बुलेन्स, दमकल, प्रहरी सेवा, प्रारम्भिक स्वास्थ्य जस्ता सेवा एकीकृत रुपमा उपलब्ध गराइने छ। तर तत्कालका लागि भने एम्बुलेन्स, दमकल र प्रहरी सेवा समावेश गरिने छ।

बुधबार गृह मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले आपतकालीन सहायता सेवा प्रवाहका सम्बन्धमा १५ दिनभित्र अवधारणापत्र र कार्ययोजना पेश गर्न एक कार्यदल गठन गरेको छ।

विपद् व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा गठन गरिएको ११ सदस्ययीय कार्यदलमा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, संचार तथा सूचना प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरीका एक÷एक जना र नेपाल प्रहरीका दुईजना प्रतिनिधी रहेका छन्। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठका सूचना तथा संचार विज्ञ विजय गौतम समेत कार्यदल सदस्य छन्।

अत्यावश्यक सहायता सेवाका लागि हाल नेपाल प्रहरीको १००, दमकलको १०१, एम्बुलेन्सको १०२ र ट्राफिक प्रहरीको १०३ नम्बरहरू प्रयोगमा छन्। तर नयाँ सेवा सुरु भएपछि सबै नागरिकले एउटै नम्बर प्रयोग गरेर आफूलाई परेको समस्या केन्द्रीय प्रणालीमा पठाउन सक्नेछन्। केन्द्रीय सूचना प्रणालीले प्राप्त सूचनालाई तत्कालै सम्बन्धित निकायमा पठाउने छ। आपतकालीन सेवा प्रवाहका लागि विभिन्न उपप्रणालीहरू समेत प्रयोगमा ल्याइने छ ।


प्रतिक्रिया दिनुहोस्