भारतले वायुसेनाका चार पाइलटलाई अन्तरिक्षमा पठाउने, को को छानिए ? « Arthapath.com
१५ फाल्गुन २०८०, मंगलवार

भारतले वायुसेनाका चार पाइलटलाई अन्तरिक्षमा पठाउने, को को छानिए ?



काठमाडौं । भारतले आगामी वर्ष अन्तरिक्षमा आफूले पठाउन लागेको पहिलो मानवचालित यान चढेर अन्तरिक्षयात्रा गर्न योग्य भनी चार जनाको नाम सार्वजनिक गरेको छ। उनीहरू भारतीय वायुसेनाका विमानचालक हुन्।

गगनयान नामक उक्त अन्तरिक्षयानमा तीमध्ये तीन जनालाई अन्तरिक्षयात्रीका रूपमा पठाउने भारतको लक्ष्य छ। उक्त यान ४०० किलोमिटरमाथि पृथ्वीको कक्षमा पुग्ने र तीन दिनपछि फिर्ता हुने छ।

भारतीय अन्तरिक्ष निकाय इसरोले उक्त उडानको तयारीका क्रममा परीक्षणहरू गरिरहेको छ।

इसरोले गत अक्टोबरमा रकेटमा समस्या उत्पन्न भए चालकहरूलाई सुरक्षित रूपमा बाहिर निस्किन सक्ने उपाय सिकाउने एउटा मुख्य परीक्षण गरेको थियो।

त्यसको सफलतापछि इसरोले सन् २०२५ मा मानवसहितको अन्तरिक्षयानलाई पठाउनुअघि एउटा रोबटलाई यसै वर्ष अन्तरिक्षमा पठाउने जनाएको थियो।

अन्तरिक्षयात्रीको प्रशंसा

दक्षिण भारतीय सहर तिरुवनन्तपुरमस्थित इसरो केन्द्रमा मङ्गलवार आयोजित एउटा कार्यक्रममा छानिएका चार अन्तरिक्षयात्रीहरूको प्रशंसा गरिएको थियो।

उनीहरूलाई “स्वप्नद्रष्टा, साहसिक, अन्तरिक्षमा जाने तयारीमा रहेका वीर पुरुष” भनिएको थियो।

ग्रूप क्याप्टेन प्रशान्त बालाकृष्णन नायर, ग्रूप क्याप्टेन अजित कृष्णन, ग्रूप क्याप्टेन अङ्गद प्रताप र विङ कमान्डर शुभांशु शुक्ल चारै जना भारतीय वायुसेनामा कार्यरत छन्।

प्रधानमन्त्री नरेन्द्र मोदी र इसरो प्रमुख एस सोमनाथले उनीहरूको नाम घोषणा गरेका थिए। मोदीले ती चार जनालाई “भारतको गौरव” भनेका छन्।

मोदीले भने, “यी चार नाम वा चार मानिसहरू मात्र होइनन्। एक सय ४० करोड आकाङ्कालाई अन्तरिक्षमा लैजाने शक्ति हुन्। म बधाई दिन्छु र सफलताको कामना गर्छु।”

अधिकारीहरूले वायुसेनाका पाइलटमध्येबाट उनीहरूलाई छानिएको र सूचीमा पर्नुअघि उनीहरूको कडा शारीरिक र मनोवैज्ञानिक परीक्षण गरिएको बताएका छन्।

उनीहरूले रुसमा गएर १३ महिनासम्म कठिन तालिम लिएका थिए र अहिले स्वदेश फर्केर पनि त्यसको निरन्तरता दिएका छन्।

उक्त कार्यक्रममा प्रस्तुत भिडिओमा पनि उनीहरूले व्यायाम गरेको, पौडी खेलेको र योगाभ्यास गरेको देखिएको थियो।

गगनयान के हो?

गगनयान भारतको मानवयात्री सवार हुने पहिलो अन्तरिक्ष अभियान हो। त्यसका लागि इसरोले ठूलो तयारी गरिरहेको छ।

गगनयान परियोजनाको कुल लागत करिब ९० अर्ब भारतीय रुपैयाँ छ।

यदि यो सफल भएमा भारत सोभियत सङ्घ, अमेरिका र चीनपछि अन्तरिक्षमा मानव पठाउने चौथो देश बन्ने छ।

गत वर्ष भारतले अन्तरिक्षमा एउटा प्रमुख यात्रा गरेको थियो। अगस्टमा चन्द्रमाको दक्षिणी ध्रुवनजिकै आफ्नो यानको सफल अवतरण गराएर भारतले नयाँ इतिहास बनाएको थियो।

त्यसको केही सातापछि नै भारतले आदित्य-एलवन नामक सूर्यको अध्ययन गर्ने पहिलो यान अन्तरिक्षमा पठाएको थियो। त्यो यानले अहिले पनि सूर्यको अध्ययन गरिरहेको छ।

भारतले अन्तरिक्षसम्बन्धी महत्वाकाङ्क्षी नयाँ योजनाहरू पनि घोषणा गरेको छ।

उसले सन् २०३५ सम्ममा अन्तरिक्ष स्टेशन स्थापना गर्ने र २०४० सम्ममा चन्द्रमामा अन्तरिक्षयात्री पठाउने लक्ष्य राखेको छ।

-बीबीसी नेपाली सेवाबाट ।


प्रतिक्रिया दिनुहोस्