दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकार भित्र पर्ने कपर प्रविधिमा आधारित टेलिफोन सेवा बन्द, फाईबर प्रविधिमा स्तरोन्नती « Arthapath.com
२२ चैत्र २०८०, बिहीबार

दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकार भित्र पर्ने कपर प्रविधिमा आधारित टेलिफोन सेवा बन्द, फाईबर प्रविधिमा स्तरोन्नती



काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धारा अन्तर्गतका क्षेत्रहरुमा कपर प्रविधिमा आधारित टेलिफोन सेवा बन्द गरी फाईबर प्रविधिमा स्तरोन्नती गरेको गरेको छ ।

टेलिकमले दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकार भित्र पर्ने सम्पूर्ण स्थानहरुमा सञ्चालित पुरानो कपर प्रविधिमा आधारित आधारभूत टेलिफोन (पिएसटीएन) सेवालाई फाईबर टू दी होम प्रविधिमा स्तरोन्नती गरेको हो ।

बिहीबार सुन्धारामा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कपर प्रविधिको टेलिफोन सेवाको स्वीच अफ गरी यो सेवा बन्द गरेकी हुन् । कार्यक्रममा प्रबन्ध निर्देशक पहाडीले टेलिकम क्षेत्रमा प्रविधि रुपान्तरण आवश्यक रहेको बताइन् । त्यसैको निरन्तरता तथा समयको माग अनुरुप पुरानो कपर प्रविधिलाई आधुनिक फाईबर प्रविधिमा रुपान्तरण गरिएकोमा खुशी व्यक्त गरिन् ।

कपर प्रविधिबाट वितरित टेलिफोन तथा एडिएसएल लाईनहरु पूर्ण रुपमा आधुनिक फाईबर प्रविधिको नेटवर्कमा माइग्रेशन कार्य सम्पन्न गरी कपर नेटवर्क बन्द गरिएको टेलिकमले जनाएको छ ।

एफटिटिएच प्रविधिमा माइग्रेशन भईसकेपछि ग्राहकले अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट तीव्र गतिको इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा समेत प्राप्त गर्न सक्ने भएकोले यो सेवा ग्राहकहरुका लागि फलदायी हुने विश्वास कम्पनीको रहेको छ ।


प्रतिक्रिया दिनुहोस्