स्वर्गलाई आइफोन
लघुकथा
‘आम्मै, यो पल्लोघरकी सुमित्रे होइन भन्या ! कस्तो नखरा पारेर बोलेकी ?’ टिकटकको एउटा भिडियो हेर्दै हजुरआमाले भन्नुभयो । टिकटक, रिलका भिडियो हेर्नकै लागि हजुरआमा बहिनीसँग टाँसिएर बस्नुहुन्छ । घाँसको भारी बोकेर माथ्लोटोलकी आरतीले बनाएको भिडियो त हजुरआमा नछुटाई हेर्नुहुन्छ ।
‘ओइ नानी, आरतीले नयाँ भिडियो हालिहोला । देखादेखा मलाई’ साँझपख हरेक दिन हजुरआमाले बहिनीलाई भन्नुहुन्थ्यो । बेलाबेलामा फेसबुकमा अष्ट्रेलिया बस्ने माईलोदाईको परिवारको फोटो देखाईदे भनेर बहिनीलाई कचकच गर्नुहुन्छ। माईलोदाईको ६ महिना अघिमात्र छोरी जन्मिएकी छिन् । पनातिनीको फोटो हेर्दै आँखा आफ्नो बालकबेलाकै जस्तो भनेर दाँज्नुहुन्छ ।
बहिनीलाई अचाक्ली भएछ क्यार । एक महिना अघि ‘हाम्री हजुरआमा’ नाम राखेर बहिनीले फेसबुक खोलिदिएकी छ । पुरानो मोबाईलमा हजुरआमाको फेसबुक एकाउन्ट छ । माल्दाईले सामसुंगको एस-२१ अष्ट्रेलियाबाट पठाइदिएपछि बहिनीले आफ्नो पुरानो मोटोरोलामा हजुरआमाको फेसबुक खोलेर लगइन गरिदिएकी छ ।
‘ह्या, तेरो मोबिलमा जस्तो राम्रो फोटो यसमा नआउँदो रहेछ । मलाई तेरो मोबिलमै भिडियो देखाईदे’ हजुरआमा यसो भन्दै बहिनीसँग टाँसिन पुगिहाल्नुहुन्छ ।
हजुरआमा सामान्य साक्षर हुनहुन्छ । नेपाली सावाँ अक्षर फुटाउन सक्नुहुन्छ । त्यसोहुँदा फेसबुकमा अरुले नेपालीमा लेखेका कुरा राम्रैसँग बुझ्नुहुन्छ । हजुरआमाको लागि दिन कटाउने, बुढेशकालमा मनोरन्जनको गज्जवकै साधन भएको छ मोबाईलफोन । फोनमै भिडियो हेर्ने, फोनमै अष्ट्रेलिया, अमेरिका, दुबईमा बसेका नाति-नातिनासँग गफिनुहुन्छ । फोनमै हाँस्य सिरियल हेरेर पेट मिचिमिची हाँस्नुहुन्छ ।
वाईफाई छैन भनेर हजुरआमा फुपुको घरमा समेत अडिनुहुन्न । बिहान जानुभयो भने बेलुकी फर्किहाल्नुहुन्छ ।
‘स्वर्गमा यो मोबिल चल्छ कि चल्दैन कान्छा ?’
हजुरआमाको प्रश्न सुनेर मलाई हाँसो उठ्यो । हाँसोकै बीचमा जवाफ दिएँ-‘स्वर्गमा भगवानले झन् राम्रो र महंगो मोबाईल चलाउनुहुन्छ नि हजुरआमा ।’ मेरो जवाफले उहाँको अनुहारका बुढ्यौलीछाला तन्किए र खुशी स्पष्ट देखियो । मैले बोलेको झुठ कुराले उहाँको अनुहारमा खुशी थपिएको मैले देखिहालेँ ।
‘ए कान्छा, म मरेपछि बरु मलाई सिरक डसना पातलो भएपनि हुन्छ । भाँडाकुँडा सस्तै भएपनि हुन्छ । वैतरणी तर्न गाईको सानै बाच्छी भएपनि हुन्छ । तर मोबिलफोन चाहि राम्रोसँग भिडियो चल्ने पठादेओ है । माईलालाई भनेर तेरो जस्तै आइफुन अष्टेलियाबाट ल्याएर पुरेतलाई दान गर्नु है’ हजुरआमाले भन्दै हुनुहुन्थ्यो-‘तिमेरु सबै यहि छुटिहाल्छौ । मैले उहाँ फुन नभै कसरी समय बिताउनु ?’
भट्टकाे फेसबुकबाट साभार