डिजिटल क्रान्ति : के नेपाल साँच्चै ‘क्यासलेस’ अर्थतन्त्रतर्फ अगाडि बढिरहेको छ ?

काठमाडौं । कहिले चिया पसल त, कहिले मन्दिर । नगद बोकेर हिँड्ने बानी अहिले धेरै नेपालीका लागि पुरानो प्रवृत्ति बन्दै गएको छ ।
तरकारी किन्नेदेखि प्लेन चढ्ने टिकटसम्मको प्रयोजनका लागि नगद बोक्नुपर्ने बाध्यता क्रमशः हट्दै गएको छ । चोकछेउको टेम्पोको भाडा तिर्नदेखि मन्दिरमा भेटी चढाउनसम्म, क्यूआर स्क्यान गर्नाले काम सजिलै सकिन्छ ।
मोबाइलमा स्क्यान गर्ने एप्स, वालेट वा क्युआर कोडकै भरमा अहिले साना–साना कारोबारदेखि ठूला भुक्तानीसमेत सजिलै सम्पन्न गर्न सकिने अवस्था बनिसकेको छ । हातमा मोबाइल भए पुग्छ, किनभने अब मोबाइल नै बैंक भएको छ, वालेटमै संसार अटाएको छ ।
डिजिटल कारोबारले नेपाली जनजीवनको व्यवहारिकता मात्रै हैन, अर्थतन्त्रको संरचनात्मक स्वरूप समेत बदल्न थालेको छ ।
पछिल्ला तथ्यांकले पनि नेपालले क्यासलेस अर्थतन्त्रतर्फ फड्को मारेको छ । राष्ट्र बैंकको नीतिगत सक्रियता, प्रविधिमा लगानी र नागरिकको सहकार्यले गर्दा पनि ‘क्यासलेस नेपाल’ अब कल्पना नभई यथार्थ बन्दै गएको छ ।
नेपालमा अहिले मोबाइल बैंकिङ, क्युआर पेमेन्ट, इन्टरनेट बैंकिङ, वालेट जस्ता डिजिटल भुक्तानी माध्यमले बजारमा क्रान्ति ल्याइरहेका छन् । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको बैशाख मसान्तसम्मको तथ्याङ्क हेर्दा पनि नेपाल अब नगदरहित अर्थतन्त्रतर्फ व्यावहारिक ढंगले हिँडिरहेको पुष्टि देखाउँछ ।
एकै महिना झन्डै ८२ खर्ब डिजीटल भुक्तानी
गत बैशाख महिनामा मात्रै ८१ खर्ब ८६ अर्ब १ करोड ६० लाख रुपैयाँ बराबरको डिजीटल भुक्तानी भएको छ । यो गत वर्षको सोही महिनाको तुलनामा भने ५३.९७ प्रतिशत धेरै हो । जबकि, गत वर्षको बैशाखमा कुल ५३ खर्ब १० अर्ब २९ करोड १० लाख बढी रुपैयाँ डिजीटल कारोबार भएको थियो ।
गत चैत महिनाको तुलनामा भने २०.२५ प्रतिशत धेरै हो । राष्ट्र बैंकका अनुसार गत चैत महिनामा ६७ खर्ब ९८ अर्ब ८१ करोड ४० लाख रुपैयाँ डिजीटल माध्यमबाट कारोबार भएको थियो ।
यस्तै, फागुनमा ६३ खर्ब २३ अर्ब १० करोड ७० लाख, माघमा ५७ खर्ब १२ अर्ब ५२ करोड ५० लाख, पुसमा ७१ खर्ब ९९ अर्ब ३२ करोड, मंसिरमा ७० खर्ब ५७ अर्ब १६ करोड, असोजमा ६८ खर्ब १९ अर्ब २ करोड, भदौमा ८२ खर्ब ९७ अर्ब ५७ करोड र साउनमा १२७ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँ बराबरको भुक्तानी डिजीटल माध्यमबाट भएको छ ।
सरकारको खर्च बृद्धि, आन्तरीक तथा विदेशी पर्यटकको आगामन लगायतका कारण डिजिटल भुक्तानी बढ्दै गएको हो । प्रविधिमा सहजता जसले मोबाइल र इन्टरनेट सबैको हातमा पुग्न थालेको छ । अर्को तर्फ नेपाल राष्ट्र बैंकको नीतिगत समर्थन (नगदरहित अभियान र पिएसपीलाई सहुलियत) लगायत पनि डिजीटल भुक्तानीमा चामत्कारिक वृद्धि भएको हो ।
कुन माध्यमबाट कति कारोबार ?
डिजिटल कारोबारका सबै माध्यममध्ये आरटीजीएस प्रणाली ठूलो रकम भुक्तानीको प्रमुख माध्यम बनेको छ । राष्ट्र बैंकको गत वैशाख महिनामा मात्र आरटीजीएस मार्फत ६१ खर्ब ८ अर्ब ८२२ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बैशाखमा यसको कारोबार ७१ हजार ५२६ पटक भएको छ । यो प्रणाली विशेषतः सरकारका ठूला भुक्तानीहरू, बैंकबीचको अन्तरबैंक कारोबार, व्यवसायिक तथा संस्थागत उच्च मूल्यका ट्रान्जेक्सनका लागि प्रयोग गरिन्छ । डिजिटल भुक्तानी प्रणालीमध्ये कारोबारको मूल्यका आधारमा हेर्दा आरटीजीएस सबैभन्दा अगाडि रहेको छ ।
दोस्रो ठुलो कारोबार भने इलोक्ट्रोनिक चेक क्लिरेन्यस (इसीसी) बाट भएको छ । बैशाखमा यस्तो माध्यबाट ५ खर्ब २० अर्ब ३३ करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८७ हजार ४५४ पटक भुक्तानी भएको छ । यो विशेषगरि परम्परागत चेक कारोबारलाई डिजीटल ढंगले प्रोसेस गर्ने, बैंकहरुबीच चेकको इलेक्ट्रोनिक माध्यमबाट क्लियरिङ्ग गर्न प्रयोग हुन्छ ।
यस्तै, फास्टर पेमेन्ट सिष्टम मार्फत ४ खर्ब ७२ अर्ब ६६ करोड ४० लाख रुपैयाँ भुक्तानी भएको छ । यो प्रणाली सरकारी सेवा शुल्क, व्यवसायिक भुक्तानी र ग्राहकबीचको सानो र माध्यम कारोबारमा प्रयोग हुने गर्छ ।
हाल मोबाइल बैंकिङ केवल सुविधा नभएर जीवनशैलीकै हिस्सा बनिसकेको छ । बैंक खाता नियन्त्रणदेखि मोबाइल रिचार्ज, बिल भुक्तानी, टिकट काट्ने कामसम्म सबै एकै एपभित्र हुन सक्ने हुँदा यसको प्रयोगकर्ता उल्लेखनीय रूपमा बढेको छ ।
मोबाइल बैंकिङ्ग मार्फत एक महिनामै ४ खर्ब ५६ अर्ब ९५ करोड ४० लाख रुपैयाँ भुक्तानी गरिएको छ । मोबाइल बैंकिङ्ग मार्फत ५ करोड ७३ लाख ७१ हजार २१५ पटक कारोबार भएको छ ।
यता, आइपिएसबाट २ खर्ब ४४ अर्ब ३८ करोड ९० लाख भुक्तानी भएको देखिन्छ । यो प्रणाली बैंक खाता सिधै अनलाइनसँग जोड्ने, सरकारी सेवा, कर तिर्ने लगायतका प्रयोजनमा यसको प्रयोग हुन्छ । पछिल्लो समय यो प्रणाली निकै प्रभावकारी र आधिकारिक बन्दै गाएको छ ।
नेपालमा डिजिटल भुक्तानी प्रविधिको प्रयोग तीव्र गतिमा बढ्दै छ । पछिल्लो तथ्याङ्कअनुसार क्यूआर कोडमार्फत बैशाख महिनामा ९६ अर्ब २३ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसले देखाउँछ कि अब दैनिक साना–ठूला भुक्तानीहरु पनि सहज र छिटो रूपमा डिजिटल माध्यमबाट हुन थालेका छन् ।
त्यस्तै, वालेट सेवामार्फत ४४ अर्ब ८७ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । वालेटले पनि मोबाइल फोनमै विभिन्न किसिमका सेवा र वस्तुहरूको भुक्तानी गर्न सकिने सुविधा दिँदै उपभोक्तामा निकै लोकप्रियता कमाएको छ। क्यूआर कोड साना पसलदेखि सार्वजनिक यातायातसम्म र मन्दिर भेटीदेखि बजार किनमेलसम्म क्यूआर कोडले भुक्तानीलाई सजिलो बनाएको छ । डिजिटल कारोबार बढ्नमा क्यूआर कोडले ठूलो योगदान पु¥याएको छ ।
यता, वालेट प्रयोगकर्ताहरूले विद्युत महसुल, टेलिफोन रिचार्ज, टिकट बुकिङ लगायतका सेवा सजिलै घरमै बसेर लिन सक्ने भएकाले यसको प्रयोग तीव्र गतिमा बढ्दैछ । बैशाखमा क्यूआर कोड मार्फत ३ करोड ३७ लाख ५६ हजार ६९६ पटक र वालेट मार्फत ३ कोड ७६ लाख ६४ हजार ४२६ पटक कारोबार भएको छ ।
यस्तै, बैशाखमा डेबिट कार्डबाट १ खर्ब १ अर्ब ४१ करोड ५० लाख, एटीएम विथड्रबाट ९५ अर्ब ९८ करोड ७० लाख रुपैयाँ भुक्तानी भएको देखिन्छ ।
यता, इन्टरेट बैंकिङ्ग मार्फत २० अर्ब ६५ करोड ५० लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ । यो सेवा प्रायः ठूला व्यवसाय, वित्तीय संस्था र सरकारी निकायहरूले नियमित रूपमा प्रयोग गर्छन् । कर तिर्ने, ठूलो परिमाणको इनभ्वाइस सेटल गर्न, बैङ्क खाताबीच रकम ट्रान्सफर गर्न जस्ता कार्यमा यसको उपयोग अत्यन्त सहज र सुरक्षित मानिन्छ । डेस्कटप वा ल्यापटपमार्फत बैंकिङ सेवा प्राप्त गर्न मिल्ने भएकाले इन्टरनेट बैंकिङ खासगरी कार्यालय र संगठन केन्द्रित डिजिटल माध्यम बन्दै गएको छ ।
यता, पिओएसबाट ७ अर्ब २५ करोड ५० लाख, क्रेडिट कार्ड मार्फत २ अर्ब ५ करोड, ब्रान्चलेस बैंकिङ्ग मार्फत १ अर्ब ८६ करोड ८० लाख, इकमर्सबाट १ अर्ब २१ करोड ८० लाख, प्रिपेड कार्डबाट ९९ करोड ९० लाख र क्रस बोर्डर क्यूआर मार्फत २९ करोड ९० लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ ।
डिजिटल भुक्तानीको पहुँच बढ्दैः प्रयोगकर्ताको संख्या र लोकप्रियता निरन्तर वृद्धि
नेपालले नगदरहित अर्थात् क्यासलेस अर्थतन्त्रतर्फ सशक्त कदम चाल्दैछ । यसको मुख्य आधार विभिन्न डिजिटल भुक्तानी माध्यम र त्यसका प्रयोगकर्ताहरू बनेका छन् ।
साढे दुई माथि छन् मोबाइल बैंकिङ्ग प्रयोगकर्ता
राष्ट्र बैंकका अनुसार हाल मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या साढे करोड नाघेको छ । हाल नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ७२ लाख ६३ हजार ३९१ पुगेको छ । यो संख्या गत वर्षको बैशाखको तुलनामा करिब १५ प्रतिशत बढेको हो । गत वर्षको सोही महिनामा यस्तो संख्या २ करोड ३७ लाख ९७ हजार ६८० थियो । मोबाइल बैंकिङले खासगरी सहजता र छिटो पहुँचका कारण ग्रामीण क्षेत्रदेखि शहरी क्षेत्रसम्म ठूलो लोकप्रियता पाएको छ ।
वालेट सेवा प्रयोगकर्ता, डिजिटल भुक्तानीमा नयाँ विकल्प
वालेट सेवा प्रयोगकर्ता पनि उल्लेख्य मात्रामा वृद्धि भएको छ । हाल २ करोड ६७ लाख ३४ हजार ११ जना वालेट सेवा प्रयोगकर्ताहरू छन्, जुन गत वर्ष २ करोड २६ लाख १५ हजार १२२ थियो । वालेट सेवा डिजिटल भुक्तानीमा थप सुविधाजनक माध्यम बनेको छ, जसले सामान किनमेलदेखि सेवा भुक्तानीसम्म सहजता पुर्याएको छ ।
अन्य डिजिटल माध्यम र कार्ड प्रयोगकर्ता
राष्ट्र बैंकका अनुसार हाल कनेक्ट आइपिएस प्रयोगकर्ता १४ लाख १३ हजार ९६, इन्टरनेट बैंकिङ प्रयोगकर्ता २४ लाख २३ हजार ३, डेबिट कार्ड १ करोड ३५ लाख ३१ हजार ५५०, क्रेडिट कार्ड ३ लाख ६ हजार ७९३, प्रिपेड कार्ड प्रयोगकर्ता २ लाख ४० हजार ५८७ रहेका छन् ।
यस्तै, आइपिएस सदस्य संख्या १३७, इलोक्ट्रोनिक चेक क्लिएरेन्स (इसीसी) सदस्य ५४ र ब्रान्चलेस बैंकिङ सेन्टर ९५१ वटा रहेको छ । यी सबै माध्यमहरूबाट डिजिटल कारोबारको पहुँच अझै व्यापक हुँदै गएको देखिन्छ ।
सेवा प्रदायक र एजेन्टहरूको विस्तार
नेपालमा अहिले ९ वटा पेमेन्ट सिस्टम अपरेटर्स (पिएओ), २५ वटा पेमेन्ट सर्भिस प्रोभाइडर (पिएसपी) र ४ लाख २४ हजार ९७८ वटा पिएसपी एजेन्टहरू सञ्चालनमा छन् । यसले डिजिटल भुक्तानी प्रणालीलाई जनसमुदायसम्म पुर्याउन सहयोग पुर्याएको छ ।
प्रयोगकर्ताको संख्या र सेवा प्रदायकहरूको वृद्धिले नेपालमा डिजिटल भुक्तानी सेवाको दिगो विकासको संकेत देखाएको छ । डिजिटल कारोबारमा आम नागरिकको बढ्दो विश्वास र सहज पहुँचले आर्थिक गतिविधिलाई पारदर्शी, छरितो र द्रुत बनाउने अपेक्षा गरिएको छ । यसले मात्र होइन, नेपालको क्यासलेस अर्थतन्त्रमा विश्वस्तरीय प्रविधिको प्रभाव बढाउँदै लगेको छ ।