म्यासेजिङ एप ‘ह्वाट्सएप’ जासुसीमा प्रयोग भएको इरानको आरोपमा कति सत्यता छ ? « Arthapath.com
४ असार २०८२, बुधबार

म्यासेजिङ एप ‘ह्वाट्सएप’ जासुसीमा प्रयोग भएको इरानको आरोपमा कति सत्यता छ ?



काठमाडौँ । अमेरिकी प्रविधि कम्पनी मेटाले आफ्नो एपमाथि इरानले प्रतिबन्ध लगाउन सक्ने भनेर चिन्ता जाहेर गरेको छ ।

इरानी सरकारी सञ्चार संस्थाले ‘ह्वाट्सएप’बाट हुने म्यासेजिङ सेवालाई इजरायलले जासुसीका निम्ति उपयोग गरिरहेको दाबी गरेलगत्तै मेटाको यस्तो चिन्ता बाहिर आएको हो ।

फेसबूक, ह्वाट्सएप र इन्स्टाग्रामजस्ता लोकप्रिय सामाजिक सञ्जालहरुको स्वामित्व मेटा कम्पनीसँग छ ।

उसले मंगलबार एक वक्तव्य जारी गर्दै भनेको छ, ‘हामी यसकारण चिन्तित छौँ की, यी झुठा खबरहरु हाम्रा सेवामाथि त्यस्तो बेलामा रोक लगाउनका निम्ति बहाना बन्न सक्छन्, जब मानिसहरुलाई यसको सर्वाधिक आवस्यकता छ ।’

मेटाले ह्वाट्सएपमा एक व्यक्तिले दोस्रो व्यक्तिलाई सन्देश पठाउँदा उक्त सन्देशमाथि तेस्रो पक्ष त टाढाको कुरा, स्वयम् ‘ह्वाट्सएपले पनि पहूँच पाउन नसक्ने’ दाबी उक्त वक्तव्यमा गरेको छ ।

साथै, मेटाले कुनै पनि प्रयोगकर्ताको वास्तविक अवस्थिति (लोकेशन) ट्र्याक गर्ने र कसले कसलाई सन्देश पठायो भनेर विवरण पनि नराख्ने दाबी गरेको छ । उसले भनेको छ, ‘हामी कुनै पनि सरकारलाई समष्टिगत जानकारी उपलब्ध गराउँदैनौँ ।’

यसअघि इरानको सरकारी समाचार संस्था ‘स्लामिक रिपब्लिक न्यूज एजेन्सी (इर्ना)’ले सम्पूर्ण इरानी नागरिकलाई आफ्नो फोन तथा अन्य डिभाइसबाट ह्वाट्सएपलाई निष्कृय गर्न वा हटाउन आह्वान गरेको थियो ।

उक्त सञ्चार संस्थाले नागरिकको फोन, लोकेशन र प्रेषित हुने सन्देश तथा अन्य सामग्रीको जानकारी जुटाउनमा ह्वाट्सएपले सहयोग गरेको हुनसक्ने बताएको छ । उसले भनेको थियो, ‘हामीमध्ये धेरैका साथीभाइ र आफन्तहरु नजिकै बस्छन् । तिनीहरुमध्ये कोही आणविक वैज्ञानिक वा प्रिय व्यक्ति हुनसक्छन् भन्ने नभुलौँ ।’

इजरायलले इरानका विभिन्न स्थानमा ‘टार्गेटेड मिसाइल’ प्रहार गरेर इरानी सेनाका शीर्षस्थ अधिकारी र त्यहाँका थुप्रै विशिष्ट आणविक वैज्ञानिकहरुलाई मारिदिएको छ । यी घटनामा उनीहरुको वास्तविक लोकेशन पत्ता लगाउन ह्वाट्सएप वा यस्तै कुनै प्राविधिक औजारको उपयोग गरिएको हुनसक्ने इरानी मिडियाको अनुमान छ ।

‘इण्ड टु इण्ड एनक्रिप्सन’ भएका कारण ह्वाट्सएपजस्ता सञ्जालमा एकजनाले अर्को व्यक्तिलाई पठाएको सन्देश वा सूचना बीचबाटै तेस्रो पक्षले हासिल गर्ने संभावना ‘प्राविधिक रुपमा असम्भव’ मानिन्छ । तर डिभाइस ह्याक गरेर यी सूचना हासिल गर्न सक्ने संभावना रहिरन्छ ।

स्वयम् मेटा र अन्य प्रविधि कम्पनीहरुले पनि तथाकथित ‘मेटाडेटा’ भनेर प्रयोगकर्ताको सम्पर्क, विवरण र डिभाइसका सूचनाहरु भण्डारण गर्ने गरेका छन् । उनीहरुले यस्ता सूचना आधिकारिक निकायबाट माग भएको खण्डमा वितरण पनि गर्ने गरेका छन् ।

यसअघि एक जना २२ वर्षीय इरानी कुर्द मुसलमान महसा अमिनीको हिरासतमै मृत्यु भएको घटनालाई लिएर सन् २०२२ को सेप्टेम्बरमा भएको विरोध प्रदर्शनका बीच पनि इरान सरकारले ह्वाट्सएप र इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको थियो ।

भलै आफ्ना राष्ट्रपति (तत्कालिन) मसूद पेजेशकियनले ‘इन्टरनेट स्वतन्त्रता’ दिने वाचा गरेअनुरुप त्यहाँका अधिकारीहरुले दुई महिनापछि नै उक्त प्रतिबन्धान्तमक एपको सूचीबाट मेटाका दुई एपलाई हटाइदिएका थिए ।

इन्टाग्राम र टेलिग्रामजस्तै ह्वाट्सएप पनि इरानको सबैभन्दा लोकप्रिय म्यासेजिङ एपमध्येमै पर्छ ।


प्रतिक्रिया दिनुहोस्