वाईफाई सेवामा प्राधिकरणको कडाई, अब बिना अनुमति चलाए कारबाही
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले वाईफाई हटस्पट सेवा सञ्चालनमा कडाई गर्न लागेको छ । प्राधिकरणले सो सेवा संचालन सम्बन्धी नयाँ नियमावली जारी गरेको हो ।
आधारभूत टेलिफोन सेवा वा मोबाइल टेलिफोन सेवा अनुमति प्राप्त सेवा प्रदायकहरूलाई मात्र वाईफाईमार्फत सिमलेस कनेक्टिीभिटी, रोमिङ–मोबिलिटी सेवा प्रदान गर्न सक्ने अधिकार दिएको छ ।
अन्य अनुमति प्राप्त सेवा प्रदायकहरूले केवल विनियम २०७५ को सर्तअनुसार निश्चित क्षेत्रभित्र मात्र वाईफाई हटस्पट सेवा सञ्चालन गर्न पाउनेछन् । साथै, एक पटकको लगइनबाट निश्चित समय वा मात्रामा सेवा प्रयोग गर्नुपर्ने व्यवस्था पनि लागू गरिएको छ ।
वाईफाई हटस्पट सञ्चालन गर्दा रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिद्वारा तोकिएको शक्ति सीमा, ब्याकहोल तथा ब्याकबोन प्रतिबन्ध लगायतका नियमहरू पालना गर्न अनिवार्य हुने उल्लेख गरिएको छ । साथै, प्राधिकरणबाट टाइप अप्रुभल प्राप्त रेडियो उपकरणहरू मात्र प्रयोग गर्न सकिने स्पष्ट गरिएको छ ।
प्राधिकरणले भनेको छ,‘विनियमको उल्लंघन गर्नेहरूलाई प्रचलित कानूनी कारबाही गरिनेछ ।’ यसले वाईफाई सेवा प्रदायकहरूलाई थप जिम्मेवार बनाउने र गुणस्तरीय सेवा सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।
















