स्प्रिङबेस एआईमा बहुभाषिक ‘भ्वाइस–टु–एजेन्ट’ सुविधा सार्वजनिक
काठमाडौं । संयुक्त राज्य अमेरिकाको डेलावेयरस्थित एआई कम्पनी इनोभेन्चर्स एआई इन्कले आफ्नो एआई प्लेटफर्म स्प्रिङबेस एआईमा नयाँ ‘भ्वाइस टु एजेन्ट’ सुविधा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो प्रविधिले प्रयोगकर्ताले बोलेका विचारलाई प्राकृतिक संवादमार्फत अनुसन्धान, योजना, वेबसाइट, मोबाइल एप, प्रतिवेदन तथा अन्य डिजिटल समाधानमा रूपान्तरण गर्न सक्षम बनाउँछ।
कम्पनीले यो सुविधा परम्परागत भ्वाइस असिस्टेन्टभन्दा फरक रहेको जनाएको छ। सामान्य प्रश्न–उत्तरमा सीमित नरही यसले प्रयोगकर्ताको उद्देश्य बुझेर चरणबद्ध रूपमा कार्य सम्पन्न गर्ने क्षमता राख्छ।
स्प्रिङबेस एआईले १५० भन्दा बढी भाषाको समर्थन गर्ने भएकाले विश्वभरका प्रयोगकर्ताले आफ्नै मातृभाषामा संवाद गर्दै अनुसन्धान, योजना निर्माण, सामग्री विकास तथा डिजिटल उत्पादन तयार गर्न सक्ने कम्पनीको दाबी छ।
कम्पनीका अनुसार प्रयोगकर्ताले आफूले बनाउन चाहेको विषय बोलेपछि एआईले त्यसको विश्लेषण गरी प्रयोगयोग्य नतिजा तयार गर्छ। जटिल मौखिक निर्देशनलाई अन्तरक्रियात्मक प्रस्तुतीकरण, तस्बिर, अनुसन्धान प्रतिवेदन, कार्यशील वेबसाइट, मोबाइल एप, स्वचालित कार्यप्रवाह तथा अन्य डिजिटल सामग्रीमा रूपान्तरण गर्न सकिने बताइएको छ।
स्प्रिङबेस एआईका सह–संस्थापक भरत गोल्छाले संवाद गर्ने एआईभन्दा अगाडि बढेर प्रयोगकर्ताको विचारलाई प्रत्यक्ष कार्यान्वयनमा रूपान्तरण गर्ने अनुभव विकास गरिएको बताए।
उनका अनुसार प्लेटफर्मले एआईले कसरी काम गरिरहेको छ भन्ने प्रक्रिया र निर्णयको आधारसमेत स्पष्ट रूपमा देखाउने भएकाले प्रयोगकर्ताले सम्पूर्ण कार्यप्रवाह बुझ्न सक्नेछन्।
उनले अब जुनसुकै व्यक्तिले आफ्नै मातृभाषामा आफ्नो आवश्यकता व्यक्त गरेर उन्नत डिजिटल समाधान सिर्जना गर्न सक्ने बताए। यस सुविधाले योजना निर्माण, अनुसन्धान, नयाँ अवधारणाको विकास तथा परियोजनालाई निरन्तर परिमार्जन गर्दै अघि बढ्न सहयोग गर्ने उनको भनाइ छ।
कम्पनीले नयाँ सुविधाको प्रदर्शन गरिएको भिडियो आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेको जनाएको छ। साथै सञ्चारमाध्यमका लागि आवश्यक स्क्रिनसट तथा अन्य सामग्री प्रेस किटमार्फत उपलब्ध गराइएको छ।
स्प्रिङबेस एआईको यो बहुभाषिक भ्वाइस सुविधा आजदेखि विश्वभर उपलब्ध भएको कम्पनीले जनाएको छ। प्लेटफर्ममा यसअघि उपलब्ध एआई कार्यप्रवाह, प्रतिवेदन निर्माण, बैठक रेकर्डिङ, ट्रान्सक्रिप्सनलगायतका उत्पादकत्वसम्बन्धी सेवाहरू पनि यथावत् रहनेछन्।
कम्पनीका अनुसार यी सेवाहरू व्यावसायिक तथा संस्थागत प्रयोगकर्ताका लागि करसहित मासिक १ हजार ४९९ रुपैयाँमा उपलब्ध छन्। प्रयोगकर्ताले आफ्नो डाटामाथि पूर्ण स्वामित्व र नियन्त्रण कायम राख्दै प्लेटफर्ममार्फत प्रत्यक्ष दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।













