नेपाली पर्यटन बजारमा थपिँदैछ रौनक, निरन्तर बढ्दैछ विदेशी पर्यटकको आगमन « Arthapath.com
१७ भाद्र २०८०, आईतवार

नेपाली पर्यटन बजारमा थपिँदैछ रौनक, निरन्तर बढ्दैछ विदेशी पर्यटकको आगमन



काठमाडौं । नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या बढ्दो क्रममै छ । सन् २०२३ को ८ महिनामा ६ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको हो । बोर्डकाअनुसार हवाई मार्गबाट सो संख्यामा विदेशी पर्यटक नेपाल आएका हुन् । सिमा क्षेत्रबाट पर्यटकको तथ्यांक भने बोर्डले राख्ने गरेको छैन । नेपालमा भारतीय पर्यटकहरु सिमा क्षेत्र अर्थात् सडक (सवारी साधान) मार्फत पनि आउने गर्छन् ।

सन् २०२३ को अगष्ट महिनासम्म (जनवरी–अगष्ट) मा कुल ६ लाख १ हजार ३६० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो अघिल्लो वर्ष सन् २०२२ को अगष्टसम्मको तुलनामा भने ८४.०९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही महिनामा भने ३ लाख २६ हजार ६६७ जना मात्रै विदेशी पर्यटकले नेपाल भम्रण गरेका थिए ।

विदेशी पर्यटक आगमन निरन्तर वृद्धि भएको छ, जसले व्यवसायमा फस्टाउँदै गएको छ । नेपापलमा विदेशी पर्यटकको आगमन र पर्यटक व्यवसाय कोरोना अघिकै अवस्थामा पुगेको छ । कोरोना महामारीले सिथिल बनेको पर्यटन व्यवसायले पछिल्लो समय गति लिन थालेको छ। कोरोना कालमा नेपालसहित विश्वव्यापी रुपमा लगाइएको लकडाउन र अन्तरदेशीय आवतजावतमा गरिएको कडाईले पर्यटन व्यवसाय निकै नै प्रभावित भएको थियो । तर, पछिल्लो समय महामारी साम्य भएको छ । योसंगै नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या निरन्तर बढीरहेको छ, जसले व्यवसायमा पनि थप उत्साह थपिदिएको छ ।

गत अगष्ट महिनामा मात्रै ६७ हजार ३६० जना पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ को सोही महिनामा भने कुल ४१ हजार ३०३ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डको तथ्याङ्क अनुसार पछिल्लो समय मासिक औसतमा ७५ हजार बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेको पाइएको छ ।

सन् २०२३ को पहिलो महिन अर्थात जनवरीमा ५५ हजार ७४ जना, फेव्रुअरिमा ७३ हजार २५५ जना पर्यटक नेपाल घुम्न आएका थिए ।, यस्तै, मार्चमा ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल घुम्न आएका थिए । जुन अन्य महिनाको तुलनामा सबैभन्दा धेरै हो । अप्रिलमा पनि ९८ हजार ७७३ जना, मे महिनामा ७७ हजार ७०३, जुनमा ७२ हजार २५० पर्यटक नेपाल आएका थिए । गत जुलाईमा पनि ५७ हजार ७२६ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ ।

नेपाल आउने विदेशी पर्यटकहरुको संख्या विशेषगरि अक्टोबरदेखि अप्रिलसम्म मानिन्छ । यो सिजनमा विदेशी पर्यटकको आगमन उच्च हुने गरेको छ । बोर्डका अनुसार मे महिनापछि तुलनात्मक रुपमा कम संख्यामा विदेशीहरु नेपाल घुम्न आउने गरेका छन् ।

छिमेकी मुलुक भारत र चीनबाट धेरै आउँछन् पर्यटक, अन्य देशबाट कति ?

नेपाल घुम्न आउने पर्यटकमा सबैभन्दा बाक्लो संख्या छिमेकी देश भारत र चीन पर्छन् । अगष्ट महिनामा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन् । सो महिनामा भारतबाट २६ हजार ६ सय ६५ जना पर्यटक नेपाल आएका हुन् ।

दोस्रो स्थानमा रहेको चीनबाट ५ हजार २७ जना पर्यटक नेपाल घुम्न आएको बोर्डको तथ्याङ्कमा उल्लेख छ । नेपाल घुम्न आउने चिनिया पर्यटकको संख्या पनि निकै उत्साजनक रुपमा बढी रहेको छ । कोरोनाका कारण चीनले लामो अवधिसम्म आफ्ना नागरिकलाई विदेश भ्रमणमा रोक लगाएको थियो । तर, फेव्रुअरिबाट भने खुकुलो बनाएको थियो । त्यसपछि नै नेपाल आउने चिनिया पर्यटनको संख्या थप बढी रहेको छ ।

यस्तै, तेस्रो स्थानमा रहेको अमेरिकाबाट अगष्ट महिनामा ४ हजार ६ सय २९ जना पर्यटक नेपाल आएका छन् । त्यसैगरि श्रीलंकाबाट ३ हजार ८ सय ५८ जना, बंगलादेशबाट ३ हजार १ सय ९० जना, बेलायतबाट २ हजार ७ सय ११ जना, स्पेनबाट १ हजार ५ सय ८८ जना पर्यटक नेपाल भ्रमण गर्न आएका छन् ।

यता, जापानबाट १ हजार ५ सय २० जना, इटालीबाट १ हजार ४ सय ९६ जना र अष्ट्रेलियाबाट १ हजार ३ सय ४७ जना विदेशी पर्यटक नेपाल घुम्न आएको बोर्डले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्