पर्यटन बोर्ड नवनियुक्त सदस्यहरुले भने,’नीतिगत सुधार र पर्यटन प्रर्वद्धनमा जोड दिन्छौं’ « Arthapath.com
२ बैशाख २०८१, आईतवार

पर्यटन बोर्ड नवनियुक्त सदस्यहरुले भने,’नीतिगत सुधार र पर्यटन प्रर्वद्धनमा जोड दिन्छौं’



काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटन बोर्ड कार्यकारी समितिका नवनियुक्त सदस्यहरुलाई आइतवार औपचारिक रुपमा स्वागत गरेको छ ।

गत चैत्र १५ गतेको मन्त्रिपरिषद बैठकले नेपाल पर्यटन बोर्डको रिक्त तीन सदस्य पदमा पर्यटन व्यवसायीहरु ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई नियुक्त गरेको थियो । बोर्ड सदस्यको नियुक्तिसंगै माघ २२ देखि रिक्त रहेको बोर्डले पूर्णता पाएको छ । नवनियुक्त तीनै जना बोर्ड सदस्य लामो समयदेखि पर्यटन व्यवसायमा सक्रिय व्यवसायी हुन् । निजी क्षेत्रबाट मदन आचार्य र मिलन देवकोटा सदस्यका रुपमा छन् ।

स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त बोर्ड सदस्यहरुले पर्यटन बोर्डलाई चलायमान बनाउन आफुहरु नीतिगत सुधार, पर्यटन प्रर्वद्धनमा जोड दिने बताए । उनीहरुले निजी क्षेत्र ,बोर्ड सदस्य तथा बोर्डका कर्मचारीहरुमा हुने सकारात्मक चिन्तन र कार्यलेमात्र पर्यटन बोर्डको गरिमालाई माथि उठाउन सकिने धारणा समेत राखे ।

बोर्ड सदस्य ऋषिराम भण्डारीले पर्यटन प्रर्वद्धनका लागि नीतिगत तथा अन्य समस्याहरु समाधान गर्दै सबैलाई समेटेर अगाडी जान आफहरुले प्रयास गर्ने बताए । यस्तै अर्का सदस्य राजेन्द्र बहादुर लामाले नेपालको पर्यटन विस्तारै लयमा फर्किदै गएको अवस्थामा यसलाई थप प्रभावकारी बनाउन अब बैंक थ्रु हुनेगरि काम गर्नु पर्नेमा जोड दिए ।

रामप्रसाद सापकोटाले आफहरुको एकमात्र उद्देश्य नेपालको पर्यटन प्रर्वद्धन गर्नु रहेको उल्लेख गर्दै त्यसको लागि निजी क्षेत्र र बोर्डका कर्मचारीहरुको सुझाका आधारमा आफहरु अघि बढ्ने बताए । कार्यक्रममा नवनियुक्त बोर्ड सदस्हरुलाई स्वागत गर्दै बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले नयाँ सदस्यहरुको नियुक्तिसंगै बोर्डले पूर्णता पाएको उल्लेख गरे । उनले नयाँ सदस्यहरुका अनुभवहरुले नेपालको पर्यटन प्रर्वद्धन गर्न तथा बोर्डलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।

सो अवसरमा निर्देशक मणीराज लामिछानेले पर्यटन बोर्डको समग्र अवस्था र भावी कार्ययोजना र चुनौतीका बारेमा प्रस्त्तिकरण दिएका थिए । यता निमित्त बजार निर्देशक लक्ष्मण गौतमले बोर्डले झेलिरहेका नीतिगत समस्या र समाधानका लागि भइरहेको प्रयास र बोर्डले गर्नु पर्ने थप पहलका बारेमा जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस्