फैलिँदै नेपाली चेन ‘होटेल पौवा’, मुलकोट र हलेसी खोल्यो दुई नयाँ रिसोर्ट « Arthapath.com
९ श्रावण २०८१, बुधबार

फैलिँदै नेपाली चेन ‘होटेल पौवा’, मुलकोट र हलेसी खोल्यो दुई नयाँ रिसोर्ट



काठमाडौँ । स्वदेशी हस्पिटालिटी चेन ‘होटेल पौवा’ले थप दुई स्थानमा होटेल तथा रिसोर्ट विस्तार गरेको छ । खोटाङको हलेसीमा पौवा रिसोर्ट र सिन्धुलीको सुनकोशी किनार स्थित मूलकोटमा पौवा होटल सुरु गरेको हो।

‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै देशैभरी पौवालाई बिस्तार गरिरहेको पौवा ग्रुपले १४ औं भेञ्चर सिन्धुलीको मुलकोटमा स्थापना गरेको हो । सुनकोशी किनारमा ४५ रोपनी क्षेत्रफलमा पौवा बीच रिसोर्ट संचालन गरेको कम्पनीले जनाएको छ । उक्त रिसोर्टमा ५० करोडको लगानी भएको छ ।

यस्तै खोटाङको हलेसीमा पनि ४० करोड भन्दा बढिको लगानीमा पौवा रिसोर्ट सञ्चालनमा ल्याएको हो । ४५ रोपनी क्षेत्रफलमै फौलिएको यो रिसोर्टले नेपालको पर्यटन उद्योगलाई थप उचाईमा पुर्याउने विस्वास कम्पनीको छ ।

‘मिसन १००’ को योजना सहित अगाडि बढेको होटल पौवाले आफ्नो व्यावसायिक यात्रालाई नेपालको पश्चिम क्षेत्रबाट पुर्वतर्फ अगाडि बढाएको छ । होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले भने, ‘८ वर्षदेखि पर्यटक उद्योगलाई विस्तार गर्न होटलमा लगानी गरिरहेका छौँ ।’

काठमाडौँदेखि ९० किलोमिटरको दूरीमा रहेको सिन्धुलीको मूलकोट पर्यटकका लागि उत्तम गन्तव्य भएको उनले बताए। काठमाडौँको भिडभाडबाट निस्किएरसुनकोशी नदी किनारामा शान्त वातावरण रहेकोले आन्तरिक र बाह्य पर्यटकको लागि लक्षित गरेर पौवा रिसोर्ट खोलिएको भण्डारीले जानकारी दिए ।

खोटाङको हलेसी महादेव मन्दिर पनि त्यहाँका किराँत, बौद्ध र सनातन हिन्दु धर्मावलम्बीहरुको संगमस्थल भएको उनी बताउँछन् । सोही कारण आन्तरिक र बाह्य धार्मिक पर्यटकलाई लक्षित गरेको हलेसी तुवाचुङ नगरपालिकामा रिसोर्ट सञ्चालन गरेको उनले जानकारी दिए । ‘रिसोर्टबाट ३६० डिग्रीमा हसेलीको दृष्यावलोकन गर्न पाइन्छ’, उनले भने ।

यस्तै पौवाका प्रवन्ध निर्देशक विष्णु ज्ञवालीले संस्कार र संकृतिलाई देश विकासको संकेत भने । उनले भने, ‘नेपाली आतिथ्यताको संस्कृति विश्वमै अनुपम छ । संसारभरका पर्यटकलाई देखाउनका लागि होटल पौवाले काम गरिरहेको छ ।’ उनले पौवाको विस्तार व्यवसाय मात्र नभएर संकृतिलाई समेत विस्तार गर्ने उद्देश्य राखेको उनले बताए ।

‘एक वर्षमा १६ लाख विदेशी पर्यटक नेपाल भित्राउने लक्ष्य सरकारले लिएको छ’, ज्ञवालीले भने, ‘गत साल कोरानाअघि कै अवस्थामा पर्यटक भित्रिएका छन् । त्यसैले हामीले यहाँ आएका पर्यटकलाई नयाँ गन्तव्यमा भ्रमण गराउन सक्ने हो भने मात्र पर्यटकको बसाई लम्बिन सक्छ ।’ उनले देशभर १५ वटा पौवा चेन बनाएको बताए ।

पूर्वी नेपाल प्रवेश, ‘मिसन १००’ को महायात्रा

विश्व शान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट होटल पौवाको यात्रा सुरु भएको थियो । पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, सुदूरपश्चिमको धनगढी, पर्यटकीय राजधानी पोखरा, काठमाडौको गौशाला हुँदै पुर्वी नेपालमा प्रवेश गरेको हो ।

अब पौवाको १४ औँ भेञ्चर सिन्धुलीको मुलकोटमा खुलेको छ भने १५ औँ गन्तव्य खोटाङको हलेसी बनेको छ । पौवाको ‘ड्रिम प्रोजेक्ट’को रुपमा कैलाश मानसरोवर यात्राको मुख्य प्रवेशद्वार नेपालगन्जमा पाँच तारे होटल ‘पौवा वेस्ट्रन’को निर्माण भइरहेको छ ।

पौवाले अहिलेसम्म ३ वटा मोडलमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । जसअन्तर्गत पहिलो मोडलमा आफ्नै लगानी र स्वामित्वमा सेवा दिने, दोस्रो स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा सेवा दिने र तेस्रो मोडलमा ब्यवस्थापन जिम्मा लिएर पौवाको ब्राण्डमा सेवा दिने गरी संस्थाले सेवा प्रवाह गरिरहेको छ ।

पौवाका व्यवस्थापक धुव्र न्यौपाने भन्छन्, ‘नेपालमा घुम्ने स्थान अथाह छ । हामीले देशलाई चिनाउने क्षेत्र पर्यटन क्षेत्र नै हो । हाम्रो डाँडापाखालाई सदुपयोग गर्ने हो भने रोजगारीको लागि अहिले जसरी विदेश पलायनको मनोरोग छ, त्यसलाई रोक्न सकिन्छ ।’

नेपाल घुम्ने विदेशी वा स्वदेशी पर्यटकको आतिथ्य सेवा दिएर नेपालप्रति सकारात्मक धारणा बनाउने पौवाको प्रयास हो । एक दशकमा १०० वटा चेन होटेल तथा रिसोर्ट सञ्चालन गर्ने लक्ष्यसहित ‘मिशन १००’ योजना बनाएको होटल पौवा देशभर नेपाली आतिथ्यता सहितको चेन होटलको रुपमा फैलिँदै गएको छ ।


प्रतिक्रिया दिनुहोस्