आगामी असोज १ गतेदेखि मनकामना केबुलकार संचालनमा आउने
काठमाडौं । मनकामना केबुलकार आगामी असोज १ गतेदेखि संचालनमा आउने भएको छ । अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएपश्चात पुनः संचालनमा ल्याउन लागिएको हो ।
गत असार ३१ गतेदेखि केबुलकारको सेवा रोकेर डिजिटल स्तरोन्नति र मुख्य लठ्ठा फेर्ने काम सम्पन्न भएको छ ।
२ महिना लगाएर स्तरोन्नति गरिएको कम्पनीले जनाएको छ । अस्ट्रियाको विश्वविख्यात केबुलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकको प्रत्यक्ष सहभागिता र सुपरिवेक्षणमा मनकामना केबुलकारको स्तरोन्नति हो ।
मनकामनाले सेवा सुरु गरेको २६ वर्षपछि केबुलकारको मुख्य लठ्ठा फेर्ने र डिजिटल डी–कनेक्ट प्रणालीमा स्तरोन्नति गर्ने काम सम्पन्न गरेको हो । हालसम्म मनकामना केबुलकार एनालग अपरेटिङ सिस्टमबाट चलिरहेको थियो ।