‘हिमालको संरक्षण हामी सबैको साझा कर्तव्य’ « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

‘हिमालको संरक्षण हामी सबैको साझा कर्तव्य’



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले हिमालको संरक्षण हामी सबैको साझा कर्तव्य रहेको उद्घोष गरेका छन् ।

एभरेष्ट समिटियर सम्मेलनको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो उद्घोष गरेका हुन् ।

हिमाल आरोहणमा सफलता हासिल गर्ने सम्पूर्ण समिटियरहरूप्रति बधाई दिँदै हिमाली संस्कृतिको संरक्षण र भविष्यका पुस्ताका लागि हिमाल सुरक्षित राख्नुपर्ने आवश्यकता औंल्याए ।

मन्त्री पाण्डेले भने,‘हामी केवल संसारको शिखर चुम्नेहरूलाई बधाई दिन यहाँ आएका होइनौँ, उहाँहरूको साहस, समर्पण र दृढताप्रति सम्मान प्रकट गर्न पनि यहाँ छौँ ।’

उनले शेर्पा समुदाय, गाइड, उद्धार टोली र हिमाली क्षेत्रमा निरन्तर खटिएर सेवा पु¥याउने सबैप्रति विशेष सम्मान समेत व्यक्त गरे ।

“उनको समर्पणले पर्वतीय यात्राहरूलाई सुरक्षित, प्रकृतिप्रति संवेदनशील र अझ अर्थपूर्ण बनाएको छ’ मन्त्री पाण्डेले थपे ।

सरकार पर्वतारोहणको प्रवद्र्धनका लागि पूर्वाधार, तालिम र वातावरणीय सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री पाण्डेले बताए ।

साथै, पर्वतीय पर्यटनसँगै स्थानीय समुदायको समृद्धि र जीवनस्तरमा सुधार ल्याउन प्रतिबद्ध रहेको पनि जनाए ।

मन्त्री पाण्डेले हिमालयलाई केवल भौगोलिक पर्वत नभई सभ्यता, संस्कृति र सहजीवनको सेतुका रूपमा चित्रित गर्दै भने,‘यी हिमालहरू पवित्र छन्, र तिनीहरूलाई सुरक्षित राख्नु हाम्रो साझा जिम्मेवारी हो ।’

जलवायु परिवर्तन र ग्लोबल वार्मिङका कारण हिमाली भविष्य संकटमा परेको उल्लेख गरे ।

‘अब समय आएको छ, हामीले सावधानी, बुद्धिमत्ता र सम्मानपूर्वक यी हिमालहरूको संरक्षण गर्न आवश्यक छ’, उनले भने ।

सम्पूर्ण मानव समाजलाई हिमालप्रतिको प्रतिबद्धता नवीकरण गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे । सम्मेलनका क्रममा स्वदेशी देखि विदेशी पर्वतारोहीलाई सम्मान समेत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्