हिज्बुल्लाहका सैन्य संरचना ध्वस्त पार्ने अभियानसहित जमिनबाट पनि लेबनानमा घुस्याे इजरायली सेना « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

हिज्बुल्लाहका सैन्य संरचना ध्वस्त पार्ने अभियानसहित जमिनबाट पनि लेबनानमा घुस्याे इजरायली सेना



काठमाडौँ । इजरायल र इरान समर्थित सशस्त्र समूह हिज्बुल्लाहबीचको द्वन्द्वले नयाँ मोड लिएको छ। इजरायली स्थल सेना दक्षिणी लेबनानका पाँचवटा विभिन्न चौकीहरूबाट सीमा पार गरी लेबनानको अझै भित्री भू–भागसम्म प्रवेश गरेको छ।

इजरायली रक्षा बल (आईडीएफ) ले यसलाई हिज्बुल्लाहका सैन्य संरचना ध्वस्त पार्ने ‘सीमित र लक्षित’ अभियान भने पनि स्थलगत अवस्था निकै तनावपूर्ण बनेको छ। लेबनानको राजधानी बेरुत र दक्षिणी क्षेत्रका गढ मानिने स्थानहरूमा इजरायलले भीषण हवाई आक्रमण जारी राखेको छ, जसका कारण जनजीवन पूर्णतः अस्तव्यस्त बनेको छ।

बढ्दो सैन्य मुठभेडका बीच संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (यूएनएचसीआर) ले लेबनानमा गम्भीर मानवीय संकट सुरु भएको चेतावनी दिएको छ। जेनेभामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाबर बलोचले सोमबारसम्म मात्रै ३१ हजारभन्दा बढी मानिसहरूले आश्रयस्थलमा शरण लिइसकेको जानकारी दिएका छन्।

इजरायलले आक्रमणअघि ५३ भन्दा बढी गाउँहरू खाली गर्न चेतावनी दिएका कारण हजारौँ परिवारहरू ज्यान जोगाउन घरबार छाडेर भागिरहेका छन्। दक्षिण बेरुतबाट पलायन हुनेहरूको संख्या यति ठूलो छ कि भीषण ट्राफिक जामका कारण मानिसहरू सडक किनार र आफ्नै कारहरूमा रात बिताउन बाध्य भएका छन्।

यता, हिज्बुल्लाहले पनि इजरायली कदमको कडा प्रतिवाद गर्ने दाबी गरेको छ। उसले इजरायली सेनाका तीनवटा रणनीतिक आधार इलाकाहरू (बेस) लाई निशाना बनाएर जवाफी रकेट आक्रमण गरेको बताएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार लेबनानको दक्षिणी सीमा क्षेत्र र बेरुतका बाहिरी इलाकाहरूमा दुवै पक्षबीच ‘ग्राउन्ड ब्याटल’ (स्थलगत लडाइँ) को जोखिम बढेको छ। लेबनान सरकारले यो आक्रमणलाई आफ्नो सार्वभौमिकतामाथिको प्रहार भन्दै निन्दा गरेको छ भने विश्व समुदायले तत्काल युद्धविरामका लागि दबाब बढाइरहेका छन्।


प्रतिक्रिया दिनुहोस्