१३ प्रतिशत बढ्यो रेमिट्यान्स, १० महिनामा भित्रियो साढे १३ खर्ब

काठमाडौं । १० महिनामै साढे १३ खर्ब रेमिट्यान्स (विप्रेषण आप्रवाह) नेपाल भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।
गत साउनदेखि बैशाख मसान्तसम्म विभिन्न मुलुकबाट नेपालमा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गत आवको सोही अवधिको तुलनामा भने १३.२ प्रतिशत बढी हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशत वृद्धि भएको थियो ।
गत वैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ भित्रिएको छ । गत वर्षको बैशाखमा भने १ खर्ब १५ अर्ब ९९ करोड रेमिट्यान्स नेपाल आएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशत वृद्धि भएको छ । योसँगै यस्तो रेमिट्यान्स ९ अर्ब ९६ करोड अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशत बढेको थियो ।