मौद्रिक नीतिले वित्तीय स्थायित्व र निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको सिबिफिनको प्रतिक्रिया
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले मूल्य स्थिरता, वित्तीय क्षेत्रको स्थायित्व, नियामकीय सरलीकरण तथा समग्र आर्थिक सन्तुलन कायम गर्ने उद्देश्यलाई प्राथमिकता दिएको भन्दै स्वागत गरेको छ।
शुक्रबार जारी विज्ञप्तिमा परिसंघले परम्परागत ढाँचामा सुधार गर्दै वित्तीय प्रणाली र निजी क्षेत्रलाई सकारात्मक सन्देश दिने विभिन्न नीतिगत व्यवस्थाहरू समेटिएको उल्लेख गरेको छ।
सिबिफिनले रुग्ण उद्योगसँग सम्बन्धित निष्क्रिय कर्जा व्यवस्थापन, समस्याग्रस्त कर्जाको पुनरुत्थान, नीतिगत स्थिरता कायम राख्ने उद्देश्यले नीतिगत दर, स्थायी निक्षेप सुविधा दर, बैंकदर, नगद मौज्दात अनुपात (सीआरआर), वैधानिक तरलता अनुपात (एसएलआर) तथा स्थायी तरलता सुविधालाई यथावत् राख्ने निर्णयलाई सकारात्मक रूपमा लिएको जनाएको छ।
त्यस्तै, बैंक शाखा खोल्ने तथा बन्द गर्ने प्रक्रियालाई थप लचिलो बनाउने, वित्तीय सेवाको डिजिटल रूपान्तरणमार्फत सञ्चालन खर्च घटाउन प्रोत्साहन गर्ने, वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहन गर्ने तथा विदेशी मुद्रा खरिदका बेला स्टेरिलाइज्ड इन्टरभेन्सन गर्ने व्यवस्थालाई परिसंघले दूरदर्शी कदमको रूपमा व्याख्या गरेको छ।
यद्यपि, मौद्रिक नीति निर्माणका क्रममा परिसंघले दिएका केही सुझाव तत्काल सम्बोधन नभएको जनाएको छ। विशेषगरी जोखिममा आधारित कर्जा नोक्सानी व्यवस्था, सुरक्षित कर्जामा कुल जोखिमका आधारमा नोक्सानी व्यवस्था, पुँजी कोषसम्बन्धी केही नियामकीय सहजीकरण तथा अन्तर्राष्ट्रिय अभ्यासअनुरूप विवेकशील नियमन सुधारका विषय आगामी दिनमा सम्बोधन हुने विश्वास परिसंघले व्यक्त गरेको छ।
परिसंघले नेपाल राष्ट्र बैंकले आवश्यक अध्ययनपछि एकीकृत निर्देशनमार्फत आफ्ना व्यावहारिक सुझावहरू छिट्टै कार्यान्वयनमा ल्याउने अपेक्षा समेत गरेको छ।
सिबिफिनले मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनमार्फत वित्तीय स्थायित्व कायम राख्न, बैंकिङ प्रणालीलाई थप सबल, प्रतिस्पर्धी र सक्षम बनाउन, निजी क्षेत्रको पुनरुत्थानलाई गति दिन तथा समग्र अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंक र नेपाल सरकारसँग निरन्तर रचनात्मक संवाद, सहकार्य र आवश्यक सुझाव प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।













