४५ दिन भित्र विद्युतका पोलमा तानिएका तार हटाउन प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरणहरू व्यवस्थापन गर्न सेवा प्रदायकहरूलाई ४५ दिनको समयसीमा दिएको छ ।
प्राधिकरणले मंगलबार सार्वजनिक सूचनामार्फत दूरसञ्चार, केवल टिभी तथा इन्टरनेट सेवा प्रवाहका लागि विद्युतीय पोलमा राखिने संरचनाको मापदण्ड तोक्दै सोहीअनुसार व्यवस्थापन गर्न सेवा प्रदायकहरूलाई आग्रह गरेको छ ।
प्राधिकरणले अप्टिकल फाइबर/केबल र र विद्युत लाइन तथा भू-सतहबीचको न्यूनतम दूरी तोकेको छ। ४०० भोल्टको नाङ्गो तथा इन्सुलेटेड तार र केबलबीचको न्यूनतम दूरी क्रमश: ८० र ३० सेन्टिमिटर हुनु पर्ने छ। ११ केभी र ३३ केभी लाइन र केबलबीचको न्यूनतम दूरी २ मिटर हुनु पर्ने छ। अन्य ४०० भोल्टका उपकरणहरूसँगको न्यूनतम दूरी ७५ सेन्टिमिटर हुनुपर्ने छ।
तोकिएका मापदण्ड तार तथा उपकरणहरूलाई सेवा प्रदायहरूले ४५ दिनभित्रमा व्यवस्थित गरी प्राधिकरणको सम्वन्धित वितरण केन्द्रलाई जानकारी गराउनु पर्ने छ।















